Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको दक्षिणी राज्य तमिलनाडुमा नयाँ मुख्यमन्त्री

भारतको दक्षिणी राज्य तमिलनाडुमा नयाँ मुख्यमन्त्रीले शपथ लिएका छन् । गभर्नर सी विद्यासागर रायले एआइएडिएमकेका नेता ई पलानिसामीलाई बिहीबार मुख्यमन्त्रीको शपथ खुवाएका हुन् ।

राजनीतिक अस्थिरता अन्त्य
नयाँ मुख्यमन्त्रीको शपथसँगै तमिलनाडुको दुई साता लामो राजनीतिक अस्थिरता अन्त्य भएको छ । मंगलबार भारतको सर्वोच्च अदालतले शशिकलालाई भ्रष्टाचारी ठहर गरेपछि एआइएडिएमकेको नयाँ नेतामा पलानिसामी चयन भएका थिए । ६३ वर्षीय पलानिसामी पूर्वमुख्यमन्त्री जयललिता र पार्टी महासचिव शशिकलाका विश्वासपात्र हुन् । दुई साताअघि एआइएडिएमकेले शशिकलालाई सो पार्टीको नेतामा चयन गरेको थियो । तर, सर्वोच्च अदालतले शशिकलालाई भ्रष्टाचारी ठहर गर्दै चार वर्ष कैदको फैसला गरेपछि उनको मुख्यमन्त्री बन्ने यात्रामा पूर्णविराम लागेको थियो ।

बहुमतको समर्थन देखाउन समयसीमा
गभर्नरले मुख्यमन्त्रीसँगै अन्य ३१ मन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ खुवाएका छन् । विधानसभामा एक सय १७ सांसदको समर्थन रहेको प्रमाणित गर्न मुख्यमन्त्रीलाई १५ दिनको सीमा दिइएको छ । यसअघि बिहीबार दिउँसो पलानिसामीले गभर्नरलाई भेट गरी आफूलाई विधानसभामा बहुमत सांसदको समर्थन रहेको अवगत गराएका थिए । पलानिसामी पछिल्लो तीन महिनामा तमिलनाडुमा मुख्यमन्त्री बन्ने तेस्रो व्यक्ति हुन् । एआइडिएमकेका तर्फबाट विधानसभामा निर्वाचित एक सय ३४ सदस्यमध्ये आफूलाई एक सय २४ जनाको समर्थन रहेको उनले बताएका छन् ।

‘संघर्ष गर्नेछाैँ’
शशिकलासँग विद्रोह गरेका निवर्तमान मुख्यमन्त्री ओ पनिरसेल्भमले ‘संघर्ष जारी रहने’ बताए । जयललिताको मृत्युपछि शक्ति हस्तान्तरणमा देखिएको विकृतिले सर्वसाधारण चिन्तित बनेको उनले बताए । विद्रोहका बाबजुद पनि पनिरसेल्भमले पार्टीभित्र बहुमत सांसदको समर्थन जुटाउन सकेका थिएनन् ।

जेलबाटै शशिकलाको प्रभाव बढ्ने सम्भावना
अदालतको आदेशले शशिकलाको मुख्यमन्त्री बन्ने सपना तुहे पनि जेलभित्रै बसेर उनले सत्तासीन एआइएडिएमके पार्टी र सरकारलाई प्रभाव पार्न सक्ने सम्भावना छ । अदालतले भ्रष्टाचारी ठहर गरे पनि आफ्ना विश्वासपात्रलाई भने शक्तिमा ल्याउन शशिकला सफल भएकी छिन् । गभर्नरले पलानिसामीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि शशिकलाले बेंग्लुरुको कैदगृहबाट मुस्कान छोडेकी थिइन् । पलानिसामी शशिकलाका निकै नजिकका मान्छे हुन् । चारवर्षे जेल जीवन सुरु गरेकी शशिकलाले पलानिसामीमार्फत पार्टीलाई नाजायज प्रभाव पार्ने प्रबल सम्भावना छ । नवनियुक्त मुख्यमन्त्री पलानिसामीले आफू तटस्थ भएर काम गर्ने बताए पनि तत्कालका लागि भने उनी शशिकलाको छाया मुख्यमन्त्री बन्न सक्ने विश्लेषकले अनुमान गरेका छन् ।

गत डिसेम्बरमा तत्कालीन मुख्यमन्त्री जयललिताको निधनपछि कामचलाउ मुख्यमन्त्रीको शपथ लिएका ओ पनिरसेल्भम विद्रोह गर्ने कि शशिकलाको भक्त हुने भन्ने विषयमा लामो समय दोधारमा रहे । लामो द्विविधापछि उनले शशिकलाविरुद्ध विद्रोह गरे । गत मंगलबार जयकलाको समाधिस्थलमा ४० मिनेट ध्यान गरेपछि आफूलाई राजीनामा गर्ने धम्की पाएको खुलासा गर्दै शशिकलाविरुद्ध विद्रोह गरेका थिए । तर, उनको विद्रोह ढिलो भइसकेको थियो ।

प्रकाशित मिति: Feb 17, 2017

प्रतिक्रिया दिनुहोस्