Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी मोर्चा सहमतिमा नआए पनि जेठमा चुनाव

काठमाडौं, फागुन ०४ । प्रमुख दलका शीर्ष नेता जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका छन् । सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक/दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा उनीहरु पुगेका हुन् ।

प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ भित्रै स्थानीय चुनाव मिति घोषणा गर्ने निष्कर्षमा पुगेको स्रोतको भनाइ छ । मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

मंगलबार बिहान राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीलाई बोलाई निर्वाचनबारे छलफल गरेकी थिइन्। निर्वाचन मिति घोषणा गर्न ढिलो भएको बारे राष्ट्रपतिले प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीलाई गम्भीर सचेत गराएको स्रोतको भनाइ छ ।   राष्ट्रपतिले प्रधानमन्त्रीसँग निर्वाचन मिति घोषणा गर्न किन ढिलो भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेकी थिइन् । प्रधानमन्त्रीले भने मधेसी मोर्चाले नमानेका कारण चुनाव मिति घोषणा गर्न ढिलो भएको भन्दै एकपटक मधेसी मोर्चासँग अन्तिम कुराकानी गर्ने बताएका थिए।

भेटमा एमाले अध्यक्ष ओलीले भने चुनाव मिति घोषण गर्न सरकारले आलटाल गरिरहेको भन्दै एमाले अविलम्ब चुनावको पक्षमा रहेको बताएका थिए । राष्ट्रपतिले सोमबार मात्र प्रमुख सात दलका शीर्ष नेतालाई बोलाएर चुनावबारे छलफल गरेकी थिइन्। जेठभित्र स्थानीय निर्वाचन गर्न उनले सात दलका नेतालाई आग्रह गरेकी थिइन् ।

सोमबार बैठकमा राष्ट्रपतिसँग दोहारो संवाद भएकेा थिएन तर मंगलबार बिहान भएको छलफलमा राष्ट्रपतिसँग दोहारो छलफल भएको स्रोतको भनाइ छ ।  प्रधानमन्त्री निकटस्रोतका अनुसार आगामी जेठमा स्थानीय चुनाव नभए संविधान कार्यान्वयन संकटमा पर्ने भन्दै चुनाव गर्न प्रमुख दललाई राष्ट्रपतिले गम्भीर हुन सचेत गराएकी थिइन् ।

एमाले नेता प्रदीप ज्ञवालीले मंगलबार बिहान संयोगले राष्ट्रपति र एमाले अध्यक्षबीच भेट भएको बताए। ‘प्रधानमन्त्रीज्यू राष्ट्रपतिलाई भेट्न राष्ट्रपति निवास पुग्नुभएको रहेछ। त्यहीँबाट प्रधानमन्त्रीज्यूले एमाले अध्यक्षलाई टेलिफोन गरी बोलाउनुभयो’, ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले बोलाएपछि अध्यक्षज्यू राष्ट्रपति निवास पुग्नुभयो।’

राष्ट्रपतिसँगको भेटमा समसामयिक विषयबारे छलफल भएको पनि ज्ञवालीले बताए । राष्ट्रपतिसँग भेट गरेपछि मंगलबार साँझ प्रधानमन्त्री निवास, बालुवाटारमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छुट्टै कुराकानी भएको थियो। त्यसपछि बालुवाटारमै प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र एमाले अध्यक्षबीच कुराकानी भएको थियो ।

छलफलपछि सकेसम्म मधेसी मोर्चालाई मनाएर मिति घोषणा गर्ने, मोर्चा नमाने पनि चुनावमा जाने निष्कर्षमा पुगेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।  प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले चुनावमा मनाउन मधेसी मोर्चासँग सरकारले अन्तिम प्रयास गर्ने भन्दै त्यसपछि पनि मोर्चाले नमाने चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए ।

‘सरकारले एकपटक मधेसी मोर्चासँग अन्तिम प्रयास गर्छ। तैपनि नमाने चुनावको मिति घोषणा गर्छ’, खनालले भने ।

मिति घोषणाकै दिन आन्दोलन थाल्छौं : मोर्चा

संविधान संशोधनबिना कुनै पनि चुनाव हुन नसक्ने अडान राख्दै आएको मधेसी मोर्चाले भने सरकारले चुनाव मिति घोषणा गरेकै दिन आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको छ । सरकारले संविधान संशोधन विधेयक पास नगरी चुनाव मिति घोषणा गरे चुनाव गर्न नदिने मोर्चाले रणनीति बनाएको हो।

राजधानीमा उपलब्ध नेताहरूले बुधबार अनौपचारिक छलफल गरी मोर्चाको थप रणनीति तय गर्ने भएका छन्। संसद्मा टेबुल भएको संविधान संशोधन विधेयक अघि नबढाई नेपाली कांग्रेस र माओवादी केन्द्रले मोर्चालाई धोका दिन खोजेको मोर्चाका नेताले ठहर गरेका छन्। बुधबार हुने अनौपचारिक छलफलमा यसबारे निर्णय गर्ने मोर्चाका नेताहरूले बताएका छन्। संशोधन विधेयक चाँडै अघि बढाउने प्रतिबद्धता सरकारले पटकपटक गरे पनि विधेयक अघि नबढाएकोमा मोर्चाका नेता सरकारसँग रुष्ट छन् ।

उनीहरूले संविधान संशोधन विधेयक अघि बढाउन समयसीमा राखेर सरकारलाई चेतावनी दिने तयारी गरेका छन्। ‘संविधान संशोधन अघि बढाउन अब समयसीमा नै राखेर सरकारलाई चेतावनी दिन्छौं’, मोर्चाका नेता केशव झाले भने, ‘भोलि (बुधबार) हाम्रो अनौपचारिक बैठक बस्छ । यसबारे छलफल हुन्छ ।’

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले समस्या समाधान गर्ने बाटोमा सरकार नलागेको भन्दै अब आन्दोलनका विकल्प नभएको बताए। आफूले आन्दोलन तयारी सुरु गरेको पनि उनले बताए। ‘अब आन्दोलनको विकल्प छैन। हामीले आन्दोलनको तयारी सुरु गरेका छौं’, यादवले भने। यस्तै आक्रोश राष्ट्रिय मधेस समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिहंले पनि पोखे। ‘नेपाली कांग्रेस र माओवादी केन्द्रले हामीलाई धोका दिन खोजका छन्,’ सिहंले आरोप लगाए, ‘संशोधन विधेयक अघि नबढाएर आलटाल गर्न लागिरहेका छन् ।’ नागरिकमा समाचार छ ।

प्रकाशित मिति: Feb 15, 2017

प्रतिक्रिया दिनुहोस्