Logo
१५ चैत्र २०८०, बिहीबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहपाइराख्नुस् गर्भनिरोधक कति खतरनाक?

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरि १० करोडभन्दा बढी महिलाहरु गर्भनिरोधक औषधि प्रयोग गर्ने गर्छन्। त्यसो त सन् १९६० को दशकमा यस्ता गर्भनिरोधक औषधिको सुरुवात हुँदादेखि नै यसको उपयोग हुँदाका कुप्रभावका बारेमा निकै चर्चा नभएको होइन।

हालैको एक अध्ययनअनुसार गर्भनिरोधक औषधि प्रयोग गर्दा निराशा, अवसादजस्ता खतरा देखिएको छ। यो अध्ययन हालै डेनमार्कमा गरिएको थियो। डेनमार्कका अनुसन्धानकर्ताहरुले करिब १० लाख महिलाहरुको मेडिकल रेकर्ड अध्ययन गरेको थियो। १५ देखि ३४ वर्ष समूहका ती महिलाहरुमा पहिला अवसादको लक्षण देखिएको थिएन।

अध्ययनमा अनुसन्धानकर्ताहरुले के पाए भने जो महिला गर्भनिरोधक औषधि प्रयोग गर्थे, उनीहरुले पछि अवसादले सताउन थालेपछि त्यसको पनि औषधि खान थालेका थिए। हुँदाहुँदा पछि त कतिपय महिला अस्पतालमै भर्ना हुनु पर्‍यो।

यस अध्ययनलाई मिडियाले निकै सनसनीखेज बनाई छापेको थियो। मिडियामा यस रिपोर्टलाई डरलाग्दा शीर्षकमा प्रस्तुत गरिएको थियो– ‘तपाईं गर्भनिरोधक औषधि खाँदै हुनुहुन्छ भने अवसादलाई निम्त्याउँदै हुनुहुन्छ’ वा ‘गर्भनिरोधक औषधि खाने ७० प्रतिशत महिला अवसादको चपेटामा।’ एउटा अखबारले त ‘गर्भनिरोधक औषधिको नाता अवसादसँग’ भन्ने शीर्षक राखेको थियो। कतिपय संस्थाले यसलाई कुनै स्क्यान्डलभन्दा बढी ठाउँ दिइएको भनी आलोचनासमेत गरेका थिए।

एबरडिन विश्वविद्यालयमा प्राइमरी केयरका प्राध्यापक फिल हेनाफोर्डका अनुसार गर्भनिरोधक औषधिको अवसादसँगको नाता त्यति गम्भीर छैन जति मिडियाले उछालिरहेका छन् भनी टिप्पणी गरेका छन्। उनको भनाइ छ, ‘यसले निकै कम असर गर्छ।’ प्रत्येक एक सय महिला, जसले गर्भनिरोधक औषधि प्रयोग गर्दैनन्, उनीहरुमध्ये १.७ प्रतिशत महिलाहरु अवसादबाट पीडित हुन पुग्छन्। त्यस्तै गर्भनिरोधक औषधि प्रयोग गर्नेमध्येका सय महिलामध्ये २.२ प्रतिशत महिलाहरु अवसादको चपेटामा पर्ने गर्छन्।

‘यो कुनै ठूलो अन्तर होइन,’ उनी भन्छन्, ‘यो अन्तर ०.५ प्रतिशत हो। अर्थात् प्रत्येक वर्ष दुई सय महिलाहरुमध्ये एक महिला बढी अवसादको सिकार हुने गरेका छन्।’ हेनफोर्ड के पनि मान्छन् भने गर्भनिरोधक औषधिको प्रयोग गर्ने महिला अवसादपीडित हुनुमा अन्य विविध कारण पनि हुन सक्छन्। उनको तर्क छ, ‘उदाहरणका लागि, जो महिला गर्भनिरोधक औषधि खाइरहेकी छन्, उनी र उनको पार्टनरसँगको सम्बन्ध बिग्रिएको पनि हुन सक्छ। सोही कारण उनी अवसादग्रस्त भएकी हुन सक्छिन्।’ यस्ता अध्ययनका परिणामलाई हलुका र सनसनीखेजयुक्त बनाउनु हुँदैन भन्ने हेनफोर्डको आग्रह छ।

गर्भनिरोधक औषधिको प्रयोगले अवसाद हुने खतरा मात्र होइन, बढी प्रयोगले रगत जम्ने खतरा पनि देखिएको छ। यो चाहिँ बढी घातक हुने उनको धारणा छ। यस किसिमका कुप्रभावलाई हलुका ढंगले लिइनु हुँदैन। त्यसो गरे महिलाण्कै जीवनलाई असर पुर्‍याउन सक्छ।बर्लिनस्थित हार्डिङ सेन्टर फर रिस्क लिटरेसीका निर्देशक प्राध्यापक जर्ड गिगेरेन्जर भन्छन्, ‘बेलायतमा यस्ता औषधिका बारेमा कैयौँ किसिमका डर छँदैछ। १९६० को दशकमा नै गर्भनिरोधक औषधि प्रयोग गर्ने महिलाले थ्रोम्बोसिस (रगत जम्ने) होला कि भन्ने डर थियो।’

एउटा अध्ययनअनुसार तेस्रो पुस्ताको गर्भनिरोधक औषधि त पहिलेका भन्दा अझ बढी खतरनाक छन्। तिनले थ्रोम्बोसिस हुने खतरा दुई गुणा बढी रहेको देखिएको छ। तर सबैभन्दा ठूलो प्रश्न त के हो भने गर्भनिरोधक औषधिको खतरा कति बढी छ र महिलाहरुले यसबारे कति आशंकित हुनु पर्छ ? हालैमा गार्डियन वेबसाइटले एउटा छोटो फिल्म आफ्नो वेबसाइटमा राखेको थियो। फिल्म एउटी युवतीमाथि बनाइएको छ र थ्रोम्बोसिसका कारण उनको मृत्यु भएको थियो। भिडियोमा के दाबी गरिएको छ भने महिलाले गर्भनिरोधक औषधिबाट हुने मृत्युको दर बढेका बारे बु‰न सके भने उनीहरुले ती निरोधक खान छाड्नेछन्।

फ्याकल्टी अफ सेक्सअुल एन्ड रिप्रोडक्टिभ हेल्थकेयरका उपनिर्देशक डा. सारा हार्डमेन भन्छिन्, ‘गर्भनिरोधक औषधिको प्रयोग गर्दा प्रति दस हजारमा केही महिलाको मृत्यु हुन सक्छ। यो तर्कमा उति दम छैन। १० हजार महिलाहरुमा पाँचदेखि १२ जनामा रगत जम्ने समस्या हुनुको अर्थ ती सबैको मृत्यु हुन्छ भन्ने होइन। वास्तवमा त्यस्तो अवस्था देखिने महिलाहरुमध्ये पनि एक प्रतिशत महिलाको मात्र मृत्यु हुने सम्भावना हुन्छ।’ साराका अनुसार प्रति दस लाख महिलाहरुमा गर्भनिरोधक औषधि खाँदा रगत जम्नेदेखि मृत्यु हुनेसम्मका घटनामा तीनदेखि १० जना मात्र हुने गरेका छन्।

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्