Logo
१५ बैशाख २०८१, शनिबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाउबाजेकै अतोपत्तो नभएकाहरूले मधेसीलाई दुःख दिए

काठमाडौं, पुस २१ । एमालेका नेता माधवकुमार नेपालले नेपालमा नजन्मिएका र बाउबाजेकै अतोपत्तो नभएकाहरूले अनावश्यक कुरा उठाएर मधेसी जनतालाई दुःख दिएको बताएका छन् । प्रेस चौतारीले बुधबार राजधानीमा गरेको पत्रकारसम्मेलनमा नेपालले भने, ‘मेरा पुस्ता मधेसमै जन्मे, मधेसमै हुर्के । मैले बोलेको मधेसको मुद्दा हुन्छ । बाउबाजेकै ठेगान नभएकाले मधेसको मुद्दा यो हो भन्न मिल्दैन ।’

‘मधेसका जनताले अहिले सीमांकन हेरफेर चाहेका छैनन्’, उनले भने, ‘म त्यहाँको धर्तीपुत्र हुँ । मलाई मधेसका जनताको चाहना के हो थाहा छ । उनीहरू समृद्धि चाहन्छन् । निर्वाचन चाहन्छन् । रोजगारी चाहन्छन् ।’

उनले नेपालमै नजन्मिएका र बाउबाजेको ठेगान नभएकाले मधेसको कुरा गरेको भन्दै त्यो गलत भएको टिप्पणी गरे । देश विखण्डन गर्ने धम्की दिनेलाई निगरानी गर्नुपर्ने उनको भनाइ थियो । ‘देश विखण्डन गर्ने धम्की दिँदा पनि हाम्रो देशमा नियन्त्रण गर्ने प्रयास हुँदैन’, उनले भने, ‘हामी यस्तो विडम्बना भोग्न बाध्य छौं ।’

नेपालले देश टुक्रयाउने र विखण्डन गर्ने धम्की दिनेलाई कांग्रेस र माओवादी केन्द्रले संरक्षण दिएको आरोपसमेत लगाए । अर्को सन्दर्भमा नेपालले सर्वोच्चको निर्णयले देशलाई ठूलो दुर्घटनाबाट बचाएको दाबी गरे । ‘सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको छ । हामी सर्वोच्चको निर्णयको स्वागत गर्छौं’, उनले भने, ‘संविधान संशोधन प्रस्तावमा प्रदेश नम्बर ५ लाई टुक्रयाउने र देशलाई द्वन्द्वको चक्रव्यूहमा फसाउने षड्यन्त्र थियो । त्यसलाई सर्वोच्चले रोकेको छ ।’

उनले सर्वोच्चको फैसला एमालेका पक्षमा भएको दाबी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल आलोकाँचो प्रवृत्तिको भएको भन्दै नेपालले उनले गरेका गल्ती रोक्न कांग्रेस सभापति शेरबहादुर देउवाले भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘प्रचण्डजीको कदम गलत छ । राष्ट्रहित विपरीत छ’, उहाँले कसैको इसारामा गरेको गल्तीलाई पटकपटक प्रधानमन्त्री भएका र निकै अनुभव हासिल गरेका देउवाले रोक्नुपर्छ ।’

नेपालले अहिले संविधान संशोधन गर्ने बेला नभएको भन्दै कार्यान्वयनतिर जानुपर्नेमा जोड दिए । ‘यो समय संशोधनको होइन, कार्यान्वयनको हो’, नेपालले भने, ‘तर प्रचण्डजीहरू किन त्यतातिर लाग्नुभएको छ, मैले बुझेको छैन ।’ उनले संविधान कार्यान्वयनका लागि कानुन बनाउने, निर्वाचनसँग सम्बन्धित निकायलाई पूर्णता दिनेतिर लाग्न सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्