Logo
७ बैशाख २०८१, शुक्रबार
(December 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्ष 2017 को उपलक्ष्यमा स्टेज कार्यक्रम गर्न निषेद !

काठमाडौं, १३ पुस । प्रहरीले अंग्रेजी नयाँ वर्ष सन् २०१७ को पूर्व सन्ध्यामा सडकमा स्टेज कार्यक्रम गर्न नदिने भएको छ । सुरक्षा संवेदनशील मानेको क्षेत्रमा कुनै पनि स्टेज कार्यक्रम पनि गर्न नदिने उपत्यका ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार आउँदो शनिबार र आइतबार सडकमा कुनै पनि कार्यक्रम गर्न दिइने छैन ।

आपराधिक घटना एवं सडक दुर्घटना हुन सक्ने भन्दै उसले उपत्यकामा एकीकृत सुरक्षा योजना लागु गरेर सडकमा स्टेज कार्यक्रममार्फत गरिने शुभकामना आदानप्रदानमा प्रतिबन्ध लगाएको हो । उपत्यकाका तीनवटै प्रहरी कार्यालयले संयुक्तरुपमा प्रहरी परिचालन गरेर कुनै पनि आपराधिक क्रियाकलाप घट्न नदिने उनले बताए ।

तीन जिल्ला प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर स्टेज कार्यक्रम गर्न नदिने महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी प्रद्धुम्नम्न कार्कीले बताए । ‘सुरक्षाकर्मी विशेषगरी ठमेल, दरबारमार्गमा परिचालन गर्छौं,’ उनले भने, ‘कार्यक्रमहरुलाई शान्त, मर्यादित एवं सुरक्षित बनाइन्छ ।’

शनिबार र आइतबार उपत्यकामा २ हजार प्रहरी खटिने एसपी कार्कीले दिए । १ सय १५ स्थानमा सवारी साधनहरुको जाँच गरिने डिआइजी अर्यालले जानकारी दिए । सुरक्षा सम्बन्धी कुनै सुझाव एवं गुनासो भए प्रहरीको आकस्मिक नम्बर १००, १०३ मा फोन र ९८५१२९५१०० मा एसएमएसद्वारा सम्पर्क राख्न समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: Dec 28, 2016

प्रतिक्रिया दिनुहोस्