Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकै साता काठमाडौँमा  चार चिनियाँ टोली

काठमाडौँ, पुस ७ । काठमाडौँमा चिनियाँ प्रतिनिधिमण्डलको भ्रमण एकाएक बढेको छ। यो एक साता नै कम्तिमा चार वटा चिनियाँ टोलीले नेपाल भ्रमण गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओले नेतृत्व गरेको उच्चस्तरीय टोली दुई दिने नेपाल भ्रमण गरी मंगलबार बेइजिङ फर्के लगत्तै चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेसका अध्यक्ष बाइ मा चिलिन नेतृत्वको टोली बुधबार काठमाडौँ आएको छ।

चिनियाँ जनमुक्ति सेनाका कर्णेल लिओ ज्याम्लिन पाङले नेतृत्वको गरेको सैन्य टोली पनि अहिले काठमाडौँमै छ। चिनियाँ सैन्य टोलीले नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेको तर अहिले प्रारम्भिक छलफल मात्र भएको सेनाका प्रवक्ता तराबहादुर कार्कीले बताए। अमेरिका र भारतीय सेनाले नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गरिरहेको सन्दर्भमा चीनले पनि त्यस्तै प्रस्ताव राखेको हो।

सिचुवानको छेङदु नगरका पूर्व मेयर तथा पार्टी सचिवले नेतृत्व गरेको अर्को प्रतिनिधिमण्डल पनि काठमाडौँ आइपुगेको छ। यो चिनियाँ टोलीले शुक्रबार साँझ काठमाडौँ–छेङ्दु भगिनि सम्बन्ध स्थापना सम्बन्धी औपचारिक सम्झौता गर्ने कार्यक्रम छ। छिपाओको ३२ सदस्यीय टोली बेइजिङ फर्केपछि ल्हासाबाट आएको १८ सदस्यीय टोलीको नेतृत्व तिब्बत पिपुल्स कंग्रेसका अध्यक्ष (सभामुख) चिलिनले गरेका छन्।

सभामुख ओनसरी घर्तीको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणमा आएको यो टोलीले बिहिबार बिहान ९ः४५ बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीसँग भेटवार्ता गरेको छ। व्यवस्थापिका संसदका प्रवक्ता डा. भरत गौतमले नेपाल र तिब्बतका सभामुखबीचको भेटवार्तामा चीनसँग जोडिएका थप नाकाहरु व्यवस्थित गरी संचालन गर्ने विषयमा छलफल भएको बताए।

‘भूकम्पपछि संचालनमा नआएको तातोपानी नाका संचालन गर्न चिनियाँ इन्जिनियरको टोलीले सर्वेक्षण गरिसकेकाले त्यसको रिपोर्ट आएपछि चाँडै नाका खुलाउन चिनियाँ पक्ष तयार भएको छ’, गौतमले भने। चिलिनको टोलीले गृहमन्त्री विमलेन्द्र निधिसँग बिहिबार बिहान ११ बजे एक घण्टा छलफल गरेको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए। ‘चिनियाँ टोलीसँगको भेटमा दुई पक्षीय हित र सीमा व्यवस्थापनका विषयमा कुराकानी भयो, यो भन्दा अरु म बताउन सक्दिनँ’, पन्थीले भने।

भेटमा निधिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाउँदै बन्द रहेको तातोपानी नाका सहित व्यापारिक प्रयोजनका लागि अन्य नाकाहरू पनि खोल्न चिलिनसँग आग्रह गरे। जवाफमा नेपालले चीन विरोधी गतिविधि नियन्त्रण गरिने प्रत्याभूती दिए केरुङ र तातोपानी बाहेक अरु नाकाहरू पनि संचालनमा ल्याउन सकिने चिलिनले बताए।

चिलिनको टोलीले बुधबार स्थानीय विकासमन्त्री हितराज पाण्डेसँग भेटवार्ता गरेको थियो। चिलिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने तथा पोखरा उपमहानगरपालिकालाई सडक बत्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। नेपाल खबरमा समाचार छ ।

प्रकाशित मिति: Dec 23, 2016

प्रतिक्रिया दिनुहोस्