Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्द्र थेगिमको कथा: सुत्केरी व्यथा र पहिलो भेटी

sahitya-newsसरसर्ती लेखेर पन्ना च्यात्दै उनको श्रीमानको हातमा, खुब पपुलर क्लिनिकको डाक्टरले जस्तो थम्याइदिए दबाइको पुर्जी, यो किनेर जहानलाई खानदिनुहोला। म आफ्नो किट्बक्स बोकेर बाहिर निस्कँदै सबैबाट बिदा लिन खोजें।
अघिदेखि मलाई नै हेरेर बसेकी घरकी आमाले भनिन्, ‘हैन सिस्टर! एकैछिन हाम्रो घराँ बसेर जानुस् धन्य हुनेछौं।’
आँखा अघि घुमाएँ। सबैले क्वारक्वार्ती मलाई नै हेरिरहेका थिए। नर्स भएपछिको पहिलोपटक आफूलाई नर्भस महसुस गरें। आफूलाई सम्हाल्दै खाट्माथि ओछ्याइएको सुकिलो राडीमा बसें।
सानो चिटिक्क टिनको छानामा गित्राले बारेर रातोमाटोले लिपेको घर, सफाचट सुन्दर थियो। बाहिर बरण्डाजस्तो खाली ठाउँलाई बेरबार गरेर भान्साघरमा तीन ढुंङ्गाको मुख एकैतिर फर्काएर गज्जबको चुल्हो बनाएको। कित्लीमा तातो पानी उम्लिरहेको।
एक गिलास गाईको दुध सारेर दिइन् ती बुढी आमैले, ‘खाँटी दुध हो नानी स्वाट्टै पार्नुनी, उता सहराँजस्तो हैन।’
ती बाहुनी बज्यै ५०-५५ वर्षको लाग्ने। नाकाँ सानो मुन्द्री झुण्ड्याएकी, सेताम्मे कपाल, दुब्ली, हाँस्दा चाउरी परे पनी खुब फर्साइली मेरै आमाजस्तो लाग्यो। आमै थप्छिन्,‘नानी! तिमी लिम्बूनी जस्ती त कतै लाग्दिनौ। के थरी हौ? कति बर्खकी पुग्यौ ?’
एकैचोटी सारा प्रश्न तेर्स्याइन्।
‘हामेरु ता बाहुन हो तर अब जातमात्रै रह्यो, भाषा त लिम्बू पो बोल्छौं नि।’
म तीन छक्क परें आमैको लिम्बू लवज सुनेर।
सुस्तरी हाँस्दै भनें, ‘लिम्बू भाषा सिक्न सकुँ भनेर नै यहाँ आएँ आमा।’
‘मेरो घरको बोजु बोल्नु हुन्थ्यो, अलिअलि बुझ्छु नि। अब मलाई पनि सिकाउनुहोस् है।’
म भर्खरै लोकसेवा पास गरी सहायक पाचौं तहको जागिर खान भनी म्याङ्लुङ, जिल्ला अस्पताल, तेह्रथुममा आएकी थिएँ।
आएको २, ४ महिना त होमसिकले थलो परें, खाना भन्दा पनि पानी पचेन।
अस्पतालका कर्मचारीहरू पनि लोग्ने मान्छे प्राय: दौरा, सुरुवाल, टोपी अनि महिलाहरू सारी-चोला र बर्को ओढी ड्युटी आएको देखें।
लिम्बूहरूको घनाबस्ती भएकोले होला, अन्य जातजातिका मान्छेहरू नि ठ्याक्कै लिम्बू लवजमा बोलेको सुनेर अक्क न बक्क परें।
म्याङ्लुङ बजारमा सानो चिया पसल खोलेर पेटपालो गरिरहेका सुवेदी परिवारमा आमा, छोरी, छोरा र बुहारी गरी जम्मा चार जना। सुवेदी बाजे ४५ सालको भुइँचालोले बितेका रहेछन्। दु:खगरी पालिँदै आएका परिवारमा, आर्थिक अवस्था कमजोर भएकै कारण अस्पताल नल्याएको कुरा प्रस्ट झल्कन्थ्यो। पहिलो पटक बुहारीलाई घरैमा सुत्केरी गराउँदा बच्चाको साथी यानी सालनाल अड्किएर समस्या परेपछि भने दाजु, बहिनी भएर नर्स खोज्दै आएका रहेछन् जिल्ला आस्पतालमा।
गाउँ-गाउँमा सुडेनी (मासिका)हरूले सुत्केरी अवस्थामा सघाउँछन् भन्ने कुराको हेक्का थियो मलाई।
म आफू इन्चार्ज भएको नाताले उनीहरूको समस्या जसरी पनि सुल्झ्याउन पर्ने बाध्यतामा फसें।
म आनाकानी गर्दै हल्का रिसाएझैं गरी, ‘नजिकै अस्पताल हुँदा सरासर यतै आ भए हुने। कति टाढा हो जान पर्ने?’
उनीहरू हत्तपत्त भन्नथाले, ‘यहीँ नजिकै दस मिलेटजति लाग्छ सिस्टर। हजुरको ठूलो आश बोकेर आयौं। सुत्केरी लाई हेरेसी हजुरले जे भन्नुहुन्छ मन्जुर छौं।’
धन्न आउनेबित्तिकै जनस्वास्थ्य हाकिमलाई भनी ‘अटोक्लेभ मेसिन’को बन्दोबस्त गरेँछु।
त्यै औजार पकाउने भाँडाबाट स्टेरिलाइज गरेको डेलिभरी सेट र दुई जोर पन्जा बोकेर उनीहरुको पछि लुरुलुरु लागें। नभन्दै घर नजिकै रहेछ पुगेर ढुक्क भएँ।
सिधै घरको सिख्वा हुँदै सुत्केरी भए ठाउँतिर जाने आदेश भयोऽ
बाहिर मेरै बोजुहरूजस्तै देखिने छोरी मान्छेहरू मखमली चौबन्दी, फरिया र तीन खोले मजेत्रोमा बेरिएर सुर्तीको ठुटाको धुँवामा सोचमग्न देखिन्थे। सबैले मलाई ठिटलाग्दो गरी हेरे। म असजिलो मान्दै सिधै हान्निएँ सुत्केरी कोठातिर।
भर्खरै २०-२१ पुगेजस्तो लाग्ने नयाँ आमा पीडाले छट्पटाइरहेको देखें।
हत्तपत्त सुँडेनी बजैलाई सोधें, ‘रगत कति गयो नाप्नु भयो त?’
ती बुढीले मलाई सानो बच्चालाई जस्तो हेरिन्।
‘बच्चा त जन्मिँदा आसानले जन्मियो। पौने एक घण्टा जति भो क्यार। रगत पनि उति साह्रो बगेन नानी।’
‘अनि बजै, बच्चाको नाभी के ले काट्नुभो? संक्रमण त हुँदैन होला नि?’
बजैले मतिर वितृष्णा फ्याँकिन्, ‘मैले यो काम गरिगरिकन कपाल सेताम्मे भाको हो।’
डेलिभरी गराउने युनिसेफको किट्बक्स देखें।
मनमनै स्टेरिलाइजेसन तौरतरिका गरेको बुझेर म चुप लागें।
साल अड्किने पहिलो कारण मुत्रथैली हुनसक्छ। सुत्केरी पीडाको कारणले अक्सर पिसाब फेर्नमा कठिनाइ हुन्छ।
अब म पहिला नली छिराएर पिसाब निकाल्छु अनि विस्तारै पाठेघरमा हात छिराएर सालसँगै बाँकी रहेको रगतको फाल्सा पनि निकाल्ने कोसिस गर्छु। तिमी मलाई सहयोग गर, शान्त भएर लामो लामो स्वास लेऊ हुन्छ? भनेर सबैले सुन्ने गरी भनें। छेउमा सुडेनी बजै, सासु आमा र नन्द थिए।
पहिलोपटक यसरी बिरामीलाई ढाडस दिँदा, एकातिर मनभित्र भित्रै काँपिरहेको थियो भने अर्कातिर कसैको ज्यान जोखिमबाट बचाउन पाउनुमा खुसी पनि।
पन्जा लगाएर डेलिभरी सेट खोलें, अनि सुस्तरी क्याथेटर युरेथ्रामामा छिराउनेवित्तिकै, लगभग दुई लिटरजति पिसाब निकालें। बाफ्रे मेरो ९०% टेन्सन खत्तम भयो अब रह्यो काम पाठेघरभित्र हात हाल्ने। बच्चा जन्मिएको लगभग डेढ घण्टा भइसक्दा पाठेघरको मुख यानि सर्भिक्स् अगाडि नै बन्द भइसकेको हुन्छ र यो ज्यादै जोखिमपूर्ण काम पनि हो।
सालसँगै जोडिएको नाभी धन्न ती सुँडेनी बजैले लामो छोडी काटेको रहेछ। त्यो नाभीलाई एउटा हातले विस्तारै औंलामा घुमाउँदै अनि अर्को हातले तल्लो पेटमा मसाज गर्दै म्यानुवल रेमुभल मेथडबाट करिब १० मिनेटभित्र पूरै सर्लक्कै बच्चाको साल निस्कियो। त्यो साल( प्लासेन्टा)को सबै लोबहरु ओल्ट्याई पल्ट्याई हेरें। प्लासेन्टा कम्प्लिट निस्किएको थियो।
अनि तुरुन्तै पाठेघरमा हात छिराएर बाँकी रहेको रगतको फाल्साहरू निकालें।
अघिसम्म भिजेको मुसाजस्तो भएर काम गरिरहेको थिएँ, अब मन ढुक्क भएर बाघजस्तो भएर निस्कियो। मैले यतिबेला पूरै संसार जितेको महसुस गरें।
म प्रफुल्ल भएर नर्सिङ एड्वाईस दिनतिर लागें।
‘ल अब ढुक्क हुनुहोस् सबै काम सोचेजस्तो भयो। आमालाई इन्फेक्सन हुने चान्स धेरै भएकोले एन्टिबायोटिक र बाँकी दबाइहरु म लेखी दिन्छु। बधाई छ सबैजना लाई, लक्ष्मी भित्रीएको शुभ संकेत हो। मलाई न्वारानमा कस्तैगरी बोलाउनु होला है आमा!’
फर्किँदा तिनै दाजु, बैनीसँगै बाटासम्म आउने जिद्दी कस्न थाले। मैले हार मानें। क्वाटरछेऊ आएपछि, दाजु चैंले सेतो खाम झिकेर मतिर अघि बढाए। म एकदम तर्सिएँ, ‘ए! के गर्नु भएको?’
‘हैन सिस्टर ! हजुर आज हाम्रा लागि देवता साबित हुनु भयो।
पहिलो भेटी स्वीकार्नै पर्छ नत्र हामीलाई घिट्घिटो हुनेछ।’
मेरो हातमा सेतो खाम थम्याई दिएर दाजु-बैनी टाप कसे।

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्