Logo
८ बैशाख २०८१, शनिबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो हुनसक्छ, मधेस समस्या समाधानको उपाय !

श्रीलाल साह
श्रीलाल साह

नेपालमा धेरै आन्दोलनहरु भए । त्यसले परिवर्तनहरु पनि ल्यायो तर व्यक्ति मात्र फेरिए, शासन सञ्चालन गर्ने वर्ग र प्रवृत्ति भने फेरिएन । २००७, २०४६ साल र २०६३ मा पनि यही प्रवृत्ति दोहोरियो ।

मुलुकका हरेक तह र तप्कामा खस जातिकै बाहुल्यता रहीआएको छ । राजावादी, निरङ्कुशवादी, वामपन्थी वा अरु जुनसुकै हुन् अहिलेसम्म खसले नै राज्य सञ्चालन गरेका छन् । तर यही मुलुकमा रहेका यति ठूलो सङ्ख्याका मधेसी, आदिवासी जनजाति, दलितहरूको राज्य सञ्चालनमा उपस्थिति अति न्यून छ । अहिलेको मूल समस्या पनि यिनीहरुको समान सहभागिता नहुनु नै हो ।

अहिले मधेसी, दलित, जनजाति आदि सबै लोकतान्त्रिक शक्ति भए पनि निर्धारित कोटा पूरा गर्न मात्रै उपस्थिति खोज्दैछौं । स्थानीय स्तरसम्म मधेसी, दलित, जनजाति जो भएपनि समान सहभागिता हुन सक्यो भने देश विकासमा अगाडि बढ्न सक्छ । अनि मात्र देश सम्पन्नतातर्फ लम्किन छ ।

पहाड फोडेर कर्णाली सडक निर्माण गरिएको छ । हिमाल पारिको भूभागलाई जोड्न मुस्ताङ जाने सडक बनाइएको छ । नेपालको पूर्व पश्चिम जोड्न मध्य पहाडी राजमार्गको निर्माण भइरहेको छ । तर त्यति विकट सडकहरु निर्माण गर्न सक्ने मुलुकमा तराईको समतल भूभागको हुलाकी राजमार्ग निर्माण गर्न भारतको मुख ताक्नुपर्ने बाध्यता कहाँबाट आउँछ ?

एक दशक आगाडिसम्म पाहाडी जीवन सङ्कटग्रस्त थियो । एक गाग्री पानीको लागि पूरै बिहान खर्चनु पथ्र्यो । आकासको भरमा मकै र कोदो फलाउने चलन थियो । किसानहरु कहिल्यै एक मुठी साग देख्न पाउ“दैनथे । तर अहिले त्यही किसानहरुको घरघर र खेतखेतमा कुलो र पानी प“धेरो पुगेको छ । तिनीहरु अहिले साग, सब्जी, फलफूल निर्यातमा लागेका छन् । तर त्यसका तुलनामा मधेस र मधेसी जनताको स्तर वृद्धि भएको खोई ?

मधेस उर्वर भूमि हो, तर खाद्यान्न उत्पादन घट्दो छ । जनसङ्ख्या वृद्धि भएर घटेको होइन । उत्पादनशीलता घटेको हो । यति धेरै नदीनाला हुँदा पनि मधेसमा सिंचाइको अभाव छ । बीउबिजन, मल, खाद्य तथा उन्नत कृषि प्रणाली आदि केही पनि छैन । उत्पादन भएको खाद्यान्न पनि सडक अभावका कारण ढुवानी हुन नसकेर न्यून मूल्यमा बेच्नु परेको छ ।

कृषि उत्पादन बढेको भए खाद्य सङ्कट हुने थिएन । कृषि र विकासका लागि राष्ट्र मधेस केन्द्रित हुनुपथ्र्यो, हुन सकेन । अहिले केन्द्र र मधेसबीच दूरी बढ्ने मुख्य समस्या यही हो । मधेसमा थोरै लगानीमा धेरै विकास सम्भव छ । तर अहिलेको विकास निर्माणको गतिले त्यो सम्भव छैन । सबै राजनीतिक दलहरुको भोट यही मधेसमा छ ।

तर अहिलेसम्म उनीहरुको सत्ता प्राप्त गर्ने भ¥याङ मात्रै भएको छ । मधेसको आन्दोलनले देशको सत्ता परिवर्तन, व्यवस्था परिवर्तन हुन्छ । मधेसको भोटले राजावादी, पञ्च, प्रजातन्त्रवादी, लोकतन्त्रवादी, काङ्ग्रेस, कम्युनिस्ट भएर सत्ता हात पार्छन् । हुँदाहुँदा अहिले अङ्गीकृतले समेत सत्ता प्राप्त गर्न खोजेका छन् ।

तर मधेसको थाप्लोमा रहेको गरिबी, बेरोजगारी, अशिक्षा, पछौटेपन, विकृती, विस¨तीमा केही परिवर्तन गर्न सकेका छैनन् । मधेसको प्रायः सबै प्राकृतिक स्रोत, वन ज¨ल मासियो । गिट्टी बालुवाको अवैध ढुवानी हुँदैछन् । मधेसीको जीवनमा कहिल्यै परिवर्तन आएको छैन । अहिले मधेसको पीडा पनि यही हो ।

तसर्थ मधेसमा सडक यातायात, सिंचाइ, कृषि अनुदान, बिक्रीवितरणको व्यवस्था हुनुपर्छ । मधेसका खेतमा नहर र पैनी पुर्याउनु पर्छ । उद्योग कारखानहरु परिचालन हुनुपर्छ । आयात र निर्यातहरु सहज र सुलभ बनाउनुपर्छ । स्कुल र कलेजहरुमा रोजगारमूलक शिक्षाको व्यवस्था गरिनु पर्छ । अनि मात्र मधेसका जनताले विकासका बारेमा बुझ्छन् र मधेसको समस्या समाधान हुन सक्छ ।

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्