Logo
१२ श्रावण २०८१, शनिबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मीरा प्रसाईंको लघु कथा: कथित समाजसेवी

मीरा प्रसाईं
मीरा प्रसाईं

‘बहिनी! मैले धेरै दिनदेखि यहाँ देखेको छु तिमीलाई। कहाँ हो घर? यस्तो चिसो ठाउँमा यति बिहानै किन बसेकी? धेरै बेरसम्म जवाफ केही नआएपछि रमिलाले भनिन्, ‘हेर, नारी शरीरका भोकाहरू जताततै छन्। तिमी कुनै पनि बेला सिकार बन्न सक्छ्यौ। दिदी सम्झेर केही त भन!’
त्यो केटीका आँखामा आँशु टिल्पिलाए।
‘काम गर्न बसेको घरमा मालिकले गिद्धे दृष्टि लगाउन थालेपछि म त्यहाँबाट भागेर जाने ठाउँ कतै थिएन अनि…।’

‘मैले तिमीलाई केही सहयोग गर्न सक्छु कि म प्रयास गर्छु है, कुनै पनि बेला म तिमीलाई याहा भेट्न आउन सक्छु यहाँबाट अन्त नजाउ है।’
केटीले टाउको हल्लाउँदै भनी, ‘हस् दिदी।’ रमिलालाई त्यो केटीको अवस्थाले बिचलित बनायो। धेरै सामाजिक संस्थामा प्रयास गरे पनि कतैबाट सकारात्मक जवाफ आएको थिएन।

केही दिनपछि त्यो केटी गराजको छेउमा रगतपच्छे भएर लडेको देखिन रमिलाले। बगिरहेको रगत रोकिएको थिएन बलात्कार भएको अनुमान गरेर अस्पताल लगिन्। उपचारपछि होस आयो तर त्यो केटीले रमिलालाई चिन्न सकिनँ। रमिला आफैं फूपूकोमा बसेर पढ्दै थिइन्। उनले घरमा लान सक्ने आधार थिएन।

रमिलाले डा.लाई सबै कुरा उपचारको क्रममा बताएकी थिइन्। चिन्तिन भएकी रमिलाको मनोभाव बुझेर डाक्टरले भने, ‘एम्नेजिया असहाय घर। छ थापाथलीमा त्यहाँ कल गर त्यो संस्थाले स्मरण शक्ति गुमाएका असहायहरूलाई सहारा दिन्छ अनि थेरापी र व्यावहारिक पद्धतिद्वारा स्मरण शक्ति फिर्ता लयाउने कोसिस पनि गर्छ।’

रमिलाले फोन गरिन्।

‘हेल्लो! प्रभा दुलालसँग कुरा गर्न सकिन्छ होला?’ ‘हजुर म प्रभा नै बोल्दै छु। भन्नुस्।’ ‘म रमिला। एक जना बहिनी छन् १४-१५ वर्ष जतिकी। बलात्कारको सिकार भएर स्मरण शक्ति गुमाएकी छिन् मैले सामान्य उपचार गराएँ। उनको जाने ठाउँ कहीँ रहेन छ। तपाईंको संस्थाले एम्नेजिया भएकालाई सहारा दिन्छ भन्ने सुनेकी थिएँ। त्यसैले तपाईंलाई फोन गरेकी।’

हजुर बहिनी राम्रो गर्नुभयो तपाईंले। हुन्छ नि कुन अस्पतालमा हुनुहुन्छ हामी आउँछौ उनलाई लिन।’  ‘टिचिङ अस्पतालमा छौं।’ दुई घन्टापछि प्रभा अस्पताल पुगिन्।  संस्थाको स्लोगन भट्याउँदै नमस्कार गरिन्, ‘सेवा नै धर्म हो, हाम्रो सस्था स्वार्थरहित नाफारहित संस्था हो।’ ‘नमस्कार म प्रभा दुलाल। खै बहिनीलाई भेटौ न त।’

डाक्टरले भने, ‘उनलाई एम्नेजिया भएको छ। पुरानो कुरा केही सम्झन सक्दिनन् तर उपचार र यस्तै घटना कहीँकतै देखिन् भने त्यसकै आधारमा स्मरण शक्ति फर्कन सक्छ।’  ‘ए! हाम्रो संस्थामा गएपछि ठिक हुन्छिन्।’  प्रभाले रमिलालाई सोधिन्, ‘पत्रकारहरूलाई बोलाउनु भयो त बहिनी?’  आश्चर्यचकित भएका डा. र रमिला दुबैले एकै स्वरमा भने, ‘पत्रकारहरू! किन चाहियो नि? मिडिया बोलाउनुस् अनि मात्र लान मिल्छ!’

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्