Logo
२९ बैशाख २०८१, शनिबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई राजेन्द्र महतोको प्रशनः ‘दिएको वचन पूर किन गर्नु भएन ?’

pm-office

काठमाडौँ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले भारत भ्रमणका क्रममा कुनै विवादास्पद सम्झौता नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा अधिकांशले दिल्लीमा कुनै पनि गोप्य सम्झौता नगर्न र विवाद ल्याउने डिल पनि नगर्न सुझाव दिए ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीलाई भारत भ्रमणअघि संविधान संशोधन गर्ने भनेको विषयको प्रगति के भयो भनी प्रश्न गरेका छन् । उनले संविधान संशोधन र भारत भ्रमण सम्बन्धित विषय नभएपनि प्रधानमन्त्रीले दिएको वचन पूरा गर्नुपर्ने बताएका हुन् । बैठकबाट बाहिरिएपछि नेता महतोले छलफलमा आफूले उठाएको विषय जानकारी दिँदै भने ‘संविधान संशोधनको हाम्रो माग भारत भ्रमणसँग संबन्धित छैन । तर तपाईंले भारत भ्रमणअघि नै संशोधन प्रक्रिया अगाडि बढाउने भन्नुभएको थियो अहिलेसम्म किन भएन मैले भने ।’ उनले नेपाल र भारतबीचको सम्बन्ध विश्वासको नभएकाले दुई देशबीचको सम्बन्ध विश्वासिलो बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

बिहीबार भारत जान लागेका प्रधानमन्त्रीले सुझाव तथा परामर्शका लागि संसद्मा रहेका दलका नेता तथा प्रतिनिधिहरुलाई मंगलबार दिउँसो बालुवाटारमा बोलाएका थिए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल ‘बलदेव’का अनुसार अधिकांशले सम्बन्धलाई थप सुदृढ गर्न, विवादास्पद कुनै सम्झौता नगर्न र नेपालको हित हुने एजेन्डलाई स्पष्टताका साथ सुझाव दिएका थिए । ‘यसलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनुभएको छ ।’ उनले भने ‘दलहरुले दिएको सुझावलाई मनन गरेर आफू दिल्लीमा प्रस्तुत हुने प्रधानमन्त्रीले धारणा राख्नु भयो । ‘प्रधानमन्त्री भारत भ्रमण जाने कुराले नेपालमा सधैं तरङ्ग ल्याउँछ ।

तर, यसपटकको मेरो भ्रमण दुई देशीय सम्बन्धको सुदृढीकरण र विगतमा भएका सम्झौताको कार्यान्वयनमा नै केन्द्रित हुनेछ ।’ प्रधानमन्त्रीको भनाई उदृत गर्दे उनले भने । उनका अनुसार खासगरी हुलाकी सडकको निर्माणको एजेन्डालाई प्राथमिकताका साथ पेस गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन् । प्रचण्ड यही भदौ ३० गतेदेखि भारतको चारदिन लामो भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आइतबार दिल्ली गएर मंगलबार काठमाडौं फर्केका छन् ।

छलफलमा मधेसवादी दल तथा अन्य दलका प्रतिनिधिहरुले समेत हुलाकी सडकलाई महत्वपूर्ण एजेन्डा बनाउन सल्लाह दिएका थिए । नयाँ सम्झौता गर्नेभन्दा पनि दुई देशबीच विगतमा भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा आफूले जोड दिने दाहालले बताएका छन् । प्रचण्डको भ्रमणमा ६ वटा विकास आयोजनामा समझदारी गर्ने तयारी भएको छ । भारतसँग सम्वन्ध सुधारका साथै हुलाकी सडक, तल्लो अरुण जलविद्युत आयोजना, पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिने, उर्जा व्यापार सम्झौताको कार्यान्वयन, भुकम्पपछिको पुर्न्निर्माणको प्रथमिकता तय र अहिलेसम्म भएका सहमतिलाई तत्काल कार्यावन्यनमा ल्याउने विषयमा भ्रमण केन्द्रित रहने बताइएको छ ।
नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगको सम्बन्धमा कुनै समस्या छ भने हल गर्नुपर्ने बताए । तर ती समस्या हल गर्दा राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमसत्ताको खयाल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । बैठकबाट बाहिरिदै ‘प्रधानमन्त्रीले भारत भ्रमणमा ख्याल गर्नुपर्ने विषय समेटेर एमालेले ज्ञापन पत्रमै सबै कुरा भनिसकिएको बताए । उनले भने ‘ज्ञापन पत्रकै विषय विस्तृतमा कुराहरु राखे कुनै नयाँ कुरा भएन’ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल र भारतबीचको सम्बन्ध चिसिएको चर्चा भइरहेको प्रशंग उठाउँदै सम्बन्धलाई तातो बनाएर आउन सुझाव दिएका थिए । छलफलबाट बाहिरिँदा पत्रकारलाई प्रतिक्रिया दिँदै नेता केसीले आफूले प्रधानमन्त्रीलाइ नयाँ सम्झौता नगर्न पनि सुझाव दिएको जानकारी दिए । ’१४÷१५ वर्षसम्म कार्यान्वयन नहुने सम्झौता किन गर्ने ? पहिलेका योजना कार्यान्वयनमा जोड दिनुस’ केसीले प्रधानमन्त्रीलाई दिएको सुझावबारे भने ।

pm-rastapati-848x478

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेट
यसैबीच, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका विषयमा राष्ट्रपति र उपराष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन ।

राष्ट्रपति निवास शितल निवासमा मंगलबार भएको भेटमा प्रधानमन्त्रीले भदौ ३० गते भारत प्रस्थान गर्ने र असोज २ गते स्वदेश फर्किने जानकारी गराएका हुन् । त्यसका साथै भारत भ्रमणमा हुने उच्चस्तरीय भेटघाटका बारेमा समेत राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई जानकारी गराएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्रीले आफ्नो भ्रमणका क्रममा कुनै नयाँ सम्झौता नहुने जानकारी दिएका छन् । ‘मेरो भारत भ्रमणमा कुनै नयाँ एजेण्डा छैन, थाती भएका पुरानै योजना कार्यान्वयनमा जोड दिनुका साथै सम्बन्ध थप समुधुर बनाई विकासको ढोका खोल्नमा भ्रमण केन्द्रित हुनेछ’ प्रधानमन्त्रीले उपराष्ट्रपति पुन र राष्ट्रपति भण्डारीसँग भने । भेटका क्रममा प्रधानमन्त्रीले भ्रमणका क्रमा राष्ट्रिय हित विपरीत कुनै सम्झौता नहुने स्पष्ट पारेका थिए ।

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्