Logo
१५ बैशाख २०८१, शनिबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्को नयाँ नियम: सवारी चलाउँदा फोनमा कुरा गरे ६ महिना लाइसेन्स निलम्बन !

drive-with-phone

काठमाडौं, २७ भदौ  । सरकारले फोनमा कुरा गर्दै सवारी चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने प्रवधानसहितको नयाँ नियम ल्याउँदैछ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार पारेको मस्यौदामा सवारी चलाउँदा फोनमा कुरा गरेको पाइएमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्ने प्रस्ताव गरिएको छ ।

नयाँ व्यवस्थासहितको संशोधन प्रस्ताव आइतबार मात्रै यातायात व्यवस्था मन्त्रालयमा पुगेको छ । मन्त्रालयमार्फत यो संसोधन प्रस्ताव संसदमा पेश हुनेछ । संसदले परित गरेपछि यो लागू हुनेछ । लाइसेन्स निलम्बनको अवधिमा सवारी चलाउन अनुमति हुनेछैन । निलम्बनको अवस्थामा सवारी चलाएमा लाइसेन्स नभएको अवस्था सरह नै हुने कारवाही भोग्नुपर्ने हुनसक्छ ।

त्यस्तै, प्रस्तावित नियम अनुसार मादक पदार्थ सेवन (मापसे)को कारवाहीलाई पनि कडा बनाइएको छ । एक पटकभन्दा बढी मापसेको कारवाहीमा परे ६ महिना लाइसेन्स निलम्बन हुनेछ । मादकपदार्थ सेवन गरेर सवारी चलाउनलाई अहिले पाँचपटकसम्म मौका दिइन्छ । अब भने एकपटक भन्दा बढी मापसेको कारवाहीमा पर्ने चालकले ६ महिना सवारी चलाउन पाउने छैनन् ।

त्यस्तै, यतिमात्रै होइन लापरवाहीका कारण सवारी दुर्घटना भएर यात्रुको मृत्यु वा अंगभंग भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ ।चालकको लापरवाही देखिएका दुर्घटनामा उन्मुक्ति नदिइने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । दुर्घटनामा दोषी देखिएका चालकले फेरि लाइसेन्स बनाउन पाउने छैनन् ।

संशोधन प्रस्तावमा यात्रुबाहक सवारीले ब्लु-बुकमा लेखिएको भन्दा बढी यात्रु बोकेमा ६ महिनाका लागि लाइसेन्स निलम्बन गर्न प्रस्ताव गरिएको छ । अब सार्वजनिक सवारीदेखि मोटरसाइकल तथा निजी सवारीले सिट क्षमताभन्दा यात्रु बोकेमा यो कारबाही हुनेछ ।

साथै यात्रु बोक्ने जुनसुकै सवारीले यात्रुको झिटीगुण्टाबाहेक मालसमानहरु बोकेमा पनि चालकको अनुमतिपत्रलाई निलम्बन गरिने भएको छ । यो व्यवस्थाले सार्वजनिक सवारीमा मालसामान लोड गरेर बोक्ने प्रचलनको अन्त्य हुने विभागको विश्वास छ ।

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्