Logo
१३ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य सल्लाह : तीजमा दरखाने चलन र बिचार गर्नुपर्ने कुरा !

 

डा.मिलन प्रकाश श्रेष्ठ
डा.मिलन प्रकाश श्रेष्ठ

हाम्रो जीवनमा खानपानले कस्तो भूमिका खेल्छ भन्ने कुरा सायद धेरैले बिचार गरेको पाइन्न। मानिसको स्वभावनै त्यस्तै हुन्छ, मीठो पाएसम्म नमीठो नखाने। मीठो पाए अलि बढी खाइहाल्ने। तर त्यसरी खांदा आफूले खाने कुराले नकारात्मक असर पनि पार्छ कि खासै सोचेको पाइन्न। आज एकदिन त हो नि, कति बार्नु, यति खाएर के हुन्छ र ? आदि इत्यादि कुराले मन थाम्न सक्ने कमै देखिन्छन् ।

हाम्रो समाज यस्तै छ । चाडपर्व धेरै छन्। चाडपर्वमा भेला हुने, खाने खुवाउने चलनै छ। खूब रमाइलो गर्नुपर्ने। झन यो भदौ शुरु भएपछि त चाडपर्वको श्रृंखला नै शुरु हुन्छ। भेला हुंदा पाहुनाको सत्कार गर्न, कुनै भोज भतेर गर्न माछा मासु लाइ नै महत्व दिइन्छ। यस्तो देखिन्छ कि माछा मासु बिना त भोज भतेर वा जमघटको कल्पनै गर्नसकिन्न। अर्को कुरा आफू अलि सम्पन्न छु भन्ने देखिन पनि यस्ता कुरालाई प्राथमिकता दिएको पाइन्छ। अझ कतिपय सम्पन्न वर्गमा त विदेशी पेय पदार्थ पनि खोलै बगाउने गरेको पनि नदेखिएको होइन।

सन्दर्भ, तीजको, तीजको दिन महिला दिदिबहिनीहरुले व्रत राखेपनि तीजभन्दा अगाडी दर खाने चलन पुरानै हो। तर पहिला पहिला दर खांदा तीजको एकदिन अगाडी मात्रे खाने चलन देखिन्थ्यो भने अहिले महिनौं दिन अगाडी देखि दर खाने चलन बढेको छ, अझ भन्ने हो भने दर खाने चलन त फेसन नै बनिसक्यो। त्यसमाथि पहिला पहिला दर खांदा शाकाहारी खाना खाने गरिन्थ्यो भने अहिले मांसाहारी खाना नै प्राथमिकता पर्दछ। दर खाने बहानामा घर घरमा गरिने पार्टी, महिनौं दर खाने चलनले भविष्यमा स्वास्थ्यमा नकारात्मक असर ननिम्त्याउला भन्न सकिन्न। त्यसकारण आफूले खाने पिउने कुरामा अलि नियन्त्रित भएरै हिंड्नु स्वास्थ्यको लागि राम्रो हुन्छ।

खानु खुवाउनु नराम्रो पक्कै होइन। तर अनियन्त्रित खानपान, अत्यधिक बोसोयुक्त खाना, धुमपान, मद्यपान आदिले ग्याष्ट्र्कि, अपच, कव्जियत, फूड प्वाइजन जस्ता असरहरु तत्कालै देखिनसक्छन् भने वजन, रक्तचाप, रगतमा सुगरको, कोलेष्ट्रोलको मात्रा बढ्न गई दीर्घकालीन रुपमा सुगर, मुटुरोग नै लाग्ने सम्भावना रहन्छ।

माछामासु खांदा के विचार गर्ने? तेल कस्तो प्रयोग गर्ने : 
माछामासु खानु नराम्रो होइन। शरीरलाई चाहिने प्रोटिनको मुख्य श्रोत मा माछामासु नै पर्छ।तर हाम्रो चाडपर्वमा रातो मासुको सेवन ज्यादा गरिन्छ। रातो मासु भन्नाले चारखुट्टेको मासु जनाउँछ भने सेतो मासु भन्नाले कुखुरा वा माछालाई जनाउँछ हाम्रो समाजमा खसीको मासुको सेवानमा धेरैको ध्यान केन्द्रित हुन्छ । मासु पकाउन तेल भुटनको प्रयोग पनि बढी हुने गर्दछ।

रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । रातो मासुको सट्टा सेतो मासुको प्रयोग गर्दा लाभदायक हुने कुरा थारैलाई मात्र थाहा छ । कुखुरा, माछा, अष्ट्रिज, इमु लगायतको सेवन रातो मासुको भन्दा फाइदाजनक हुन्छ । रातो मासुमा अत्याधिक प्रोटिनका साथै ‘ फ्याटी एसिड’ पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई सबैभन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । शरीरभित्र फ्याटी एसिडसँग कोलस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । ।रातो मासुमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ । यस्ता फ्याटले रगतमा कोलस्ट्रोलको मात्रा बढाउँछ ।

मासुका साथै यस्ता फ्याट दूधबाट बनेका कुराहरुमा पनि बढी पाइन्छ । साथै बेक गरिएका र बढी फ्राइ गरिएका कुराहरुमा यस्तो फ्याट बढी हुन्छ । अमेरिकन हार्ट एशोसियसनका अनुसार आफूलाई चाहिने दैनिक क्यालोरीमध्ये स्याचुरेटेड फ्याटको मात्रा ५ देखि ६ प्रतिशत भन्दा बढी हुनुहुँदैन । स्वस्थ रहनको लागि स्याचुरेटेटड फ्याट बढी भएको खानाहरु नखानु नै उत्तम हुन्छ । स्याचुरेटेड फ्याटको तुलनामा मोनो अनस्याचुरेटेड फ्याट बढी राम्रो हुन्छ । ओलिभको तेल, बदामको तेल, तिलको तेल लगायतमा यस्ता फ्याट बढी पाइन्छ । त्यसैले यस्ता तेललाई भुटनका रुपमा प्रयोग गर्नसके धेरै राम्रो हुन्छ ।

यस्तो फ्याटले रगतमा नराम्रो कोलस्ट्रोल बढ्न नदिने र राम्रो कोलस्ट्रोलको मात्रा बढाउने गर्छ । एभोक्याडो, पिनट बटर, आलसको गेडा लगायतमा यस्तो फ्याट बढी पाइन्छ । नरिवलको तेलमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुने हुंदा यस्तो तेल बढी प्रयोग नगर्नु नै राम्रो हुन्छ । पोलिअनस्याचुरेटेड फ्याट अर्को राम्रो किसिमको चिल्लो हो । यसले पनि नराम्रो कोलस्ट्रोल घटाई राम्रो कोलस्ट्रोल बढाउन मद्धत गर्छ ।
बजारमा पाइने प्याकेट गरिएका धेरैजसो खाद्यपदार्थहरुमा कम्पोजिसन भनेर प्याकेटमा यस्ता कुराहरु लेखिएका हुन्छन् ।

अलिकति ध्यान दिने हो भने त्यस खाद्यपदार्थमा कस्ता किसिमका चिल्ला पदार्थहरु रहेछन् बुझ्न सकिन्छ ।सोयाबिनको तेल, मकैको तेल, सनफ्लावरको तेल आदिमा पाइने पोलि(अनस्याचुरेटेड फ्याटले शरीरलाई आवश्यक पर्ने भिटाभिन इ का साथै एन्टिअक्सिडेन्टको आवश्यकता पनि पूरा गर्छ । साथै, शरीरलाई चाहिने तर शरीरमा उत्पादन नहुने ओमेगा ३ तथा ओमेगा ६ फ्याटी एसिडको आवश्यकता पनि पूर्ति गर्न मद्धत गर्छ । मुटुरोग, रक्तचाप, प्यारालाइसिस लगायत रोगबाट टाढा रहन खानामा स्याचुरेटेड फ्याटको मात्रा कम र मोनो र पोलि(अनस्याचुरेटेड फ्याटको मात्रा बढी हुनुपर्ने अमेरिकन हार्ट एसोसियशनको सल्लाह छ ।

छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ । खसीबोका लगायतका जनावरको छालामा काटिएर रहेका रौ पनि रहन्छ । त्यसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ ।

मसलाले खराब गर्नसक्छ:
हाम्रा चाडपर्वमा तयार गरिने परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चाडवाडलाई नेपालीहरु चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ । चिल्लोसंगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित होइन ।

तर, तिनीहरू को मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्दछ । खानपिनकै कारण विरामी भएर चाडपर्वनै खल्लो भएको कति उदाहरण पनि छन् । बढी चिल्लो, अमिलो र पिरो खानेकुरा खानेकुराले ग्यास्ट्रिक बढाउने , कोलस्ट्रोल बढाउने, खानाकै कारण अपच हुने, कब्जियत, फुड प्वाइजनजस्ता समस्या देखा पर्छन्  त्यसैले मसला,चिल्लो, पीरोको प्रयोग कमसे कम गर्नु जरुरी छ।

मासुकै प्रयोग कम गर्नु पनि जरुरी छ भने मासु पकाउने विधिमा समेत विचार पुर्यालउने बानिको विकास अहिले जरुरी छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी मासु पकाउनु राम्रो हुन्छ । उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ। खानेकुराहरु त्यहीदिन पकाएर त्यही दिन नै सकाउनु नै उत्तम हुन्छ। बासी खानाले फूड प्वाइजनको सम्भावना बढाइदिन्छ।

धूमपान:
चाडपर्वको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ । रोगी मान्छेले त झन बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ । चाडपर्व हो भनेर जथाभावी मद्यपान गर्दा सुगर र प्रेसरको समस्या बढ्न सक्छ । मुटुरोगीलाई पनि यसले पटक्कै फाइदा गर्दैन ।

रक्सी, वाइन, वियर, जिन, लोकल, छ्याङ्, जे भने पनि सबै रक्सी नै हुन् । खाली अल्कोहोलको मात्रा मात्रै फरक(फरक हुन्छन् । रगतमा शरीरको वजन बढाउन, रक्तचाप तथा रगतमा सुगरको मात्रा उच्च राख्न पनि यसको विशेष भूमिका हुन्छ तर रुपमा रहने गुलियो पर्दाथको सेवन स्वास्थको लागि नराम्रो हुनसक्छ। यसैगरी विभिन्न कोल्ड ड्रिंक्स आइसक्रिम, मह, जाम, केक लगायत पनि खानु मधुमेहीका लागि हानीकारक छ । सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले लाभ गर्दैन।, यस्ता कुराहरुले शरीरमा सुगरको मात्रा बढाउने, कोलेष्ट्रोलको लेवल बढाउने गर्दछ। त्यसैले चाडपर्वमा यस्ता कुराहरुको सट्टा सादा पानी को सेवन गर्नु नै राम्रो हुन्छ।

शाकाहारीमा जोड दिनुस्, ब्यायम गर्नुस्, मज्जाले नाच्नुस्:
चाडपर्वमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ । काम कम, माम धेरै गर्नुहुँदैन । शाकाहारी भोजन स्वास्थ्यको लागि उत्तम हुन्छ । तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानि हुँदैन । उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात नै हुन् ।

अंकुरित गेडागुडी र ताजा तरकारी खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै लगायतले पनि मुटुलाई फाइदा पुर्यागउँछ । मासु खाएपनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रुपमा खानुपर्छ । त्यसैले व्यायाम गर्ने, नियमित रुपमा हिँडडुल गर्ने र सक्रिय काममा सहभागी हुने गरेमा खाना पचाउन सहयोग पुग्छ नै शरीमा स्फुर्ति पनि बढ्छ ।

अन्तमा, आफ्नो उचाई र वजनको पनि ख्याल गर्नुहोस्। उचाई अनुसार हुनुपर्ने भन्दा वजन बढी हुंदै गएमा मुटुरोग, सुगर, रक्तचाप हुने सम्भावना बढ्दै जान्छ। त्यसैले चाडपर्व भन्दा अगाडि र पछि वजन नाप्ने बानी बसाल्नाले समयमै सचेत हुन सहयोग गर्दछ। सम्पूर्ण नेपाली दिदिबहिनीहरुमा तीजको शुभकामना, स्वस्थ खानुस् स्वस्थ रहनुस्।

कार्डियोलोजिष्ट डा. मिलन प्रकाश श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, काठमाडौंमा कार्यरत छन । 

प्रकाशित मिति: Sep 2, 2016

प्रतिक्रिया दिनुहोस्