Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालदार मन्त्रालय ताक्दै सचिव: चयन गर्न पनि मन्त्री छान्न जत्तिकै गाह्रो ! 

Sighadurwar

काठमाडौं । प्रचण्ड प्रधानमन्त्री बनेको महिना दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाएपछि अर्थ र गृह मन्त्रालयमा सचिवहरुमध्ये कसको चयन होला भन्ने चासो प्रकट भएको छ । व्यक्तिको इच्छाभन्दा विभागीय मन्त्रीको रोजाइ र मन्त्रीसँग सम्बन्धित दलको प्रमुख नेताको इच्छामा सचिवहरुको चयन हुने गर्दछ । सबैभन्दा महत्वपूर्ण मानिने उल्लिखित मन्त्रालयहरुको जिम्मेवारी पाउन राजनीतिकर्मीहरुमा जुनस्तरको होडबाजी हुन गर्दछ त्यहीस्तरको होड कर्मचारीहरुमा नदेखिए पनि रुचि भने सबै सचिवहरुले राख्ने गरेको पाइन्छ ।

केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री रहेका शक्ति बस्नेतले सचिवकै हैसियतमा आफ्नो कोही मानिस नपाइएपछि नारायणगोपाल मलेगुबाट नै काम चलाएका थिए भने तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चाहिँ पहिले कांग्रेसनिकट भनी चिनिएका लोकदर्शन रेग्मीलाई एमालेको संगठित सदस्यता लिन स्वीकार गराएपछि अर्थ मन्त्रालयको सचिव बनाएका थिए । रेग्मी डा. रामशरण महत अर्थमन्त्री भएकै बेला अर्थ मन्त्रालयको सचिव बन्न चाहन्थे, तर डा.महतले सुमन शर्मालाई रोजेपछि रेग्मी क्रूद्ध भएको र एमालेको संगठित सदस्यता लिएरै भए पनि अर्थसचिव हुने रहर पूरा गरेको बताइन्छ । खबर घटना र विचारमा छापिएको छ ।

एमाले नेता विष्णु पौडेलले अहिले लोकदर्शन रेग्मीलाई गृहसचिव बनाउन चाहेको र त्यसनिम्ति पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष रेग्मीको नाम सिफारिस गरेको पनि बुझिएको छ । गृह मन्त्रालयमा श्रीधर सापकोटाको चयन हुनु उपयुक्त हुने कतिपयको धारणा रहेको पाइएको छ भने केहीले चाहिँ मधु रेग्मी र मोहन सापकोटाको नाम अघि बढाएका छन् । मधु रेग्मी, मोहन सापकोटा र लोकदर्शन रेग्मीको पारिवारिक पृष्ठभूमि कांग्रेस भएकोले उनीहरुमध्ये एकलाई नै गृहसचिव बनाइनुपर्छ भन्ने मत कांग्रेसका एकथरी नेताहरुको रहेको छ भने कतिपयले कानुनी पृष्ठभूमि र स्वच्छ छविका श्रीधर सापकोटा नै गृहका लागि उपयुक्त हुने जिकिर पनि गरिरहेका छन् ।

हाल आपूर्ति मन्त्रालयमा रहेका श्रीधरले गृह मन्त्रालय प्राप्त नगरेमा उनको जिम्मेवारी कुन मन्त्रालयको हुने हो स्पष्ट हुन सकेको छैन । तर लोकदर्शन रेग्मीले गृहको जिम्मेवारी नपाएको अवस्थामा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्न सक्ने सम्भावना छ । अर्थ मन्त्रालयमा हाल अख्तियारका सचिव शान्तराज सुवेदीलाई सरुवा गरी लैजाने सोच अर्थमन्त्री कृष्णबहादुर महराले बनाएका छन् । महराकै प्रयासमा सचिव बनाइएका सुवेदीलाई वर्षमान पुन अर्थमन्त्री हुँदा अर्थसचिवको जिम्मेवारी दिइएको थियो । माओवादीनिकट मानिने सुवेदीले हालै मात्र अर्थशास्त्रमा विद्यावारिधिसमेत गरेकाले पनि माओवादीको रोजाइमा उनै परेका छन् ।

मालदार मन्त्रालय ताक्दै सचिव

सरकार परिवर्तन भयो भने मन्त्री बन्न सांसदहरू मात्र दौडिँदैनन्, सरकारका सचिवहरू पनि मन्त्रीलाई रिझाएर मालदार ठाउँमा जानका लागि दौडमा सामेल भइहाल्छन् । मन्त्रिपरिषद्ले पूर्णता पाउँदा नपाउँदै चाहेको मन्त्रालयमा जान सचिवहरू अहिले दौडधुपमा छन् । राजनीतिज्ञहरूले झैं सचिवहरू पनि सबभन्दा बढी महिरत्ते गृह मन्त्रालय जान गर्छन् । तुरुन्तै नगदमा कारोबार गर्न रुचाउने विमलेन्द्र निधि गृहमन्त्री भएपछि त्यहाँ जान पाऊँ भन्नेहरूको भीड उनको निवासमा मात्र छैन, कांग्रेस सभापति शेरबहादुर देउवादेखि लैनचौरसम्म दौडधुप चलेको छ । अहिले अर्थसचिव रहेका स्याङ्जाका लोकदर्शन रेग्मी आफ्ना पिताजी कांग्रेसको महासमिति सदस्य रहेको र आफैँ गर्भे कांग्रेस भएको भन्दै गृह मन्त्रालयमा जाने दौडमा छन् ।

एमालेका नेताका आँखामा छारो हालेर अर्थसचिव भएको हुँ, म त सधैंको कांग्रेस हुँ भन्दै उनी साखुल्ले बनिरहेका छन् । जटिल विषयमा प्रस्ट राय दिन नसक्ने, कार्यालयका कर्मचारीलाई घन्टौं कुराएर आफ्नो चाकडीमा लाग्न लगाउने र अरू त अरू सम्बन्धित मन्त्रीले खोजेको बेला फोन पनि नउठाएर हैरान पार्ने रेग्मी गृहमा गए भने गृह प्रशासनकै दुर्भाग्य हुने कर्मचारीहरू नै बताउँछन् । उनलाई नजिकबाट चिनेका अर्थ मन्त्रालयसम्बद्ध एक कर्मचारीले भने, ‘मन्त्रीले चाहेको बेला उनको फोनमा सम्पर्क नभएर उनकी श्रीमतीलाई गुहार्नुपर्ने मान्छे २४सै घण्टा सक्रिय रहनुपर्ने गृह मन्त्रालयमा पुगे भने हालत के होला ?’

अहिलेका गृहसचिव नारायणगोपाल मलेगो आफूलाई माओवादी त भन्छन्, तर शक्ति बस्नेतलाई असफल गृहमन्त्री बनाउन उनको पनि हात रहेका कारण माओवादी नेतृत्व नै उनीप्रति सकारात्मक छैन । गृहमा जानेमा ढुक्क देखिएका अर्का सचिव हुन्, श्रीधर सापकोटा । उनले नेताहरूको घर धेरै धाएका छैनन् । किनभने, उनीसँग अक्टोपसका रूपमा चिनिने विवादास्पद अमरेशकुमार सिंह छन् । सिनामंगलस्थित सापकोटाकै घरमा अमरेश बर्षौंसम्म बसेका थिए । अहिले भैंसेपाटी बसे पनि बेलाबेलामा खास मानिसहरूलाई लिएर अमरेश उनको घरमा जाने गरेका छन् । निधिलाई गृहमन्त्री बनाउने गरी समीकरण बनाउन सक्रिय अमरेश नै आफ्नो पक्षमा भएपछि सापकोटा ढुक्क देखिएका छन् । उनले साथीभाइसँग भन्ने गरेका छन्, ‘त्यत्रो वर्ष घरमा बस्न दिएँ, पैसा पनि दिएनन् ।

अहिले गृहमा लैजान्छु भनेका छन्, हेरौं ।’ स्याङ्जाकै मधु रेग्मी, काभ्रेका गोपीनाथ मैनालीहरू पनि कांग्रेस भएको दाबी गर्दै गृहमा जाने दौडमा छन् । उता अर्को महवपूर्ण मानिने अर्थ मन्त्रालयमा भने कर्मचारीका बीचमा सोझा र इमानदार भनेर चिनिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा। शान्तराज सुवेदी आउने पक्कापक्कीजस्तै भएको छ । अर्थशास्त्रको सामान्य नियम पनि नबुझेका गुरिल्ला कमान्डर वर्षमान पुन अर्थमन्त्री हुँदा उनलाई सबै कुरा सिकाउनेदेखि अर्थमन्त्रालय धान्ने काम गरेका सुवेदी नै फर्केर अर्थमा आएपछि कृष्णबहादुर महरालाई ढुक्क हुने भएकाले उनको विकल्प खोजिएको छैन बुधबारले खबर छापेको छ ।

बिहानै कार्यालय आएर रातिसम्म काम गर्ने, कसैका बारेमा टीकाटिप्पणी नगर्ने, आर्थिक सवालमा कहिल्यै विवादमा पर्न नचाहने र सबैसँग मिल्ने भएका कारण सुवेदी आउने कुराले अर्थमा सकारात्मक चर्चा छ । उता, माओवादी आउँदा माओवादी र एमाले आउँदा सच्चा एमाले भन्दै सक्रिय हुने सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले अर्थमा जान लाख कोसिस गरेर प्रचण्डलाई खुसी पार्न बाँकी नराखे पनि अब नहुने भएपछि महालेखा परीक्षकमा नियुक्ति गरिदिन रोइकराइ गरिरहेका छन् । कर्मचारी वृत्तमा अवसरवादी र चाकडीबाजका रूपमा चिनिने शर्माले शाही शासनका बेला दलहरूलाई बल्ल ठीक भयो भन्दै लोकमान मार्कामा पत्रपत्रिकामा लेख लेख्ने गर्दथे । माओवादी सत्तामा आएपछि उसैसँग नजिक भएर सहसचिव हुँदा उनले अर्थ मन्त्रालयका कमाइ हुने सबै नाका भ्याएका थिए ।

प्रकाशित मिति: Aug 31, 2016

प्रतिक्रिया दिनुहोस्