Logo
१२ बैशाख २०८१, बुधबार
(August 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवा नाटककारलाई आकर्षक अवसर

theatreposter
पछिल्लो समय नेपाली रंगमञ्चको गतिविधि बढिरहेकोे छ । राजधानीमा रहेका चारैवटा नाटकघरका साथै राजधानीबाहिर पनि नियमित नाटक मञ्चन हुन थालेका छन् । मोबाइल थिएटर ‘जूनकिरी’ले नाटक प्रदर्शन गरिरहेकै छ, अस्थायी मञ्च निर्माण गरेर रंगकर्मीहरुको विभिन्न समूहले पनि नाटक मञ्चन गरिरहेका छन् ।

राजधानीबाहिरका विभिन्न सहरमा नाटकघर निर्माणको लहर छ । रंगमञ्चको बढ्दो गतिविधिबीच यसको एउटा मुख्य पाटो नाटक लेखन निकै सुस्त देखिन्छ । पछिल्लो समयमा नाट्य विधामा नै कलम चलाइरहेका साहित्यकार औंलामा गन्न पनि पुग्दैन । त्यसैले नेपाली रंगमञ्चमा नेपाली नाटकको अभाव खड्किएको छ । यो अभाव पूर्ति गर्न दुई उपाय अवलम्बन भइरहेको देखिन्छ । एक, विदेशी नाटक मञ्चन गर्ने, अर्कोचाहिँ रंगकर्मी आफैंले नाटक लेख्ने ।

तर लेखनको सिर्जनात्मक विशिष्टताका कारण सबै रंगकर्मी लेखनमा सक्रिय हुन सक्दैनन् । त्यसो हुँदा अपेक्षित नेपाली नाटक मञ्चनका लागि उपलब्ध छैनन् । यसैबीच रंगकर्मकेन्द्रित गतिविधिमा सक्रिय रहनेगरी स्थापना भएको संस्था ‘ङ समूह’ले नेपाली नाटक लेखनलाई प्रोत्साहित गर्न युवा लेखकका लागि नाटक लेखन प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताका लागि नाटक पठाउने मिति १२ भदौसम्म रहेको छ । समूहले एक महिनाअघि पत्रकार सम्मेलन गरी नाटकका लागि आह्वान गरेको थियो ।

प्रतियोगिताका लागि मौलिक, नेपाली समाजको वास्तविकतासँग सम्बन्धित र मञ्चनमैत्री विषयवस्तुमाथि लेखिएको नाटक पठाउनुपर्नेछ । नाटकको प्रारम्भिक स्वरुप हजार शब्दको हुनुपर्नेछ । तर शब्दसीमाकै कारण नाटक हिच्किचाउनु नपर्ने आयोजक समूहका रंगकर्मी सुदाम सिकेले बताए । निर्धारित समयभित्रै त्यस्ता नाटक आएमा नाटककारसँग छलफल गरेर त्यसलाई प्रतियोगिताको मापदण्डभित्र पार्न सकिने उनले जानकारी दिए ।

नाटक नेपाली वा अंगे्रजी भाषामा लेखिएको हुनुपर्नेछ । प्रतियोगितामा नाटक पठाउन इमेल हुलाक वा राजधानीका रंगमञ्चमा राखिएका ‘डप बक्स’ प्रयोग गर्न सकिने समूहका अध्यक्ष विमल दाहालले बताए । समूहले नाटक पठाउन मेल ठेगाना ‘[email protected]’ ‘र हुलाक ठेगाना ‘महालक्ष्मीस्थान– १९, इमाडोल, ललितपुर, पोष्ट बक्स नम्बर ३९८’ तोकेको छ ।

प्रकाशित मिति: Aug 27, 2016

प्रतिक्रिया दिनुहोस्