Logo
१३ बैशाख २०८१, बिहीबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेशल आचार्यको विचार: ‘प्रचण्ड, लोकतन्त्र र अभिमन्यु’ 

Prachand PM

हिजो मधेसी ओली–प्रचण्ड गठबन्धनका बाधक थिए, आज प्रचण्ड–देउवा हनिमुनका मधेसी ‘साधक’ भएका छन् । यद्यपि, तराईको तीतोपना अझै हटेको छैन । प्रचण्ड बाबुको राजनीतिको यो दोस्रो ‘इनिङ’ सुरू भएको छ ।

पेशल आचार्य,

अन्ततः कमरेड प्रचण्डको सत्तारोहणसँगै गएको २६ वर्षमा नेपालले सरकार गठनको रजत महोत्सव (२५ वटा सरकार) मनायो । नेताका पछि कुद्ने परिवर्तनकारी नेपालीलाई योभन्दा ठूलो संसदीय राजनीतिको उपहार अरु केही हुन सक्दैन । छविलाल र पुष्पकमल दाहाल हुँदै प्रचण्डमा रुपान्तरित प्रधानमन्त्रीले संसदीय राजनीतिलाई नै गन्तव्य मान्नका लागि करिब १८ हजार मानिसहरुको रगतमा होली खेलेका रहेछन् । नौ महिनाअघि आफैँले काँधमा बोकेका कम्युनिस्ट दर्शनका सगोत्री एमाले अध्यक्षलाई हठात् सत्ताबाट हटाएर उनी फेरि अंक गणितीय राजनीतिका पार्थ भए ।

अघि र पछिको नौ महिनाको सिनारियो अब बदलिएको छ । हिजो प्रचण्डले ओली बोके, आज देउवाले प्रचण्डलाई बोकेका छन् । हिजो मधेसी ओली–प्रचण्ड गठबन्धनका बाधक थिए, आज प्रचण्ड–देउवा हनिमुनका मधेसी ‘साधक’ भएका छन् । यद्यपि, तराईको तीतोपना अझै हटेको छैन । प्रचण्ड बाबुको राजनीतिको यो दोस्रो ‘इनिङ’ सुरू भएको छ । बादलले मुखै फोरेर भनेछन्– ‘प्रचण्डको असफलताले माओवादी केन्द्र सकिन्छ ।’ ठूलो चेपुवामा छन्, प्रचण्ड । भारत र चीन दुवैले बधाईसाथ जाल फ्याँकेका छन् । अब यिनी सकसमा परेका छन्, भारत र चीनको भ्रमणलाई लिएर । भ्रमणलाई नै मुद्दा बनाउन प्रतिपक्षी एमाले ‘क्याट कर्नर’ बाट हेरिरहेको छ । बनाउनेवालासँग ‘दावत’ लिऊँ कि ‘सगोत्री’सँग, ठूलै आपदा आइलागेको छ ।

देउवाले प्रधानमन्त्री निर्वाचनका बेला भाषणमै भने– ‘साथी बदल्न मिल्ने तर छिमेकी बदल्न नमिल्ने ।’ यसमा गुढ रहस्य खोजिँदै छ । अंक गणितीय तुरुपका साथ छिमेकीको इसारामा ‘साथी बदल्न मिल्ने’ भनिएको हो । हेर्दै जानुछ– तिनै साथीले फास्ट ट्रयाक प्याकेजमा के–के उपहारहरु बुकेमा लैजाने हुन् ? ओली संसद्बाट सीधै बालकोट गए, आफ्ना सहयोगी र नाराबीच शेरगुल देखाउँदै । लाग्दथ्यो, ओलम्पिक खेलमा पदक जितेको प्रसिद्ध खेलाडीलाई नगर परिक्रमा गराइँदै छ । कति बाठा ओली, हार्दा पनि बुद्धि पु¥याएर हार्न जान्ने ! प्रचण्डका घाँटीभरि माला देख्दा उनको भावी नौ महिने सत्तायात्रा त्यति सुखद होलाजस्तो लाग्दैन, जति खुसहाल लाग्छन् । शपथका फूलमा सत्ताका झिनामसिना स्वार्थ टक्राउँदै गएपछि ती बबुरका काँडा हुन्छन् । दन्त्यकथाका ‘घिउ बेचुवा र तरबार बेचुवा’ का कथा अझै दृष्टान्त बनेकै छन्, नेपाली राजनीतिक विषयवस्तुमा ।

मधेसी दलको संविधान संशोधनको ठिनो हटेकै छैन । ओलीका शब्दमा ‘१६ दलको उधारो तमसुक खेलाएर उनी सत्तामा जति रजगजसाथ बस्छन्, त्यहाँ उनलाई पीडा हुनेछ ।’ आफूले खान नपाएपछि अंगुर अमिलो हुने तर्क दन्त्यकथामै वर्णित थियो, जहाँ एक जम्मु बारबार प्रयास सफल नभएपछि विरक्तिएको थियो । नेपाली राजनीतिको खडोस दृष्टान्त यही अघिल्लो कथा र पछिल्लो पहेलीले स्पष्ट पार्छ ।नेपाली राजनीतिमा प्रचण्ड प्रवृत्ति त्यो अर्को ‘भारून्ड’ नामक पक्षी हो, जो आफ्नो मुखबाट आफैँ अग्नि निकालेर स्वयम् भष्म खरानी हुन्थ्यो । शत्रुका दुःख समनका लागि आफूले आफैँलाई सफाया गर्दैछु भन्ने पनि हेक्का उसमा थिएन । संसद्भित्रका सवाल–जवाफमा मीठो बोलेर कसले जित्छ त्यो सवाल होइन, सवाल जनतालाई दिइने सहयोग र सुशासन हो ।

एमाले सांसद् लालबाबु पण्डित भन्छन्– ‘माओवादी केन्द्रले जति नै तागत लगाए पनि एमाले फुटाउन सक्दैन । २१ सय जनाको केन्द्रीय सदस्य बनाए पनि त्यसले एमालेलाई कुनै असर गर्नेवाला छैन ।’ यतिखेर नेपाली राजनीतिमा परीक्षणमा रहेका राजनीतिज्ञ दुई जना छन्– एउटा नेपाली कांग्रेसका युवानेता गगन थापा र अर्का नेपाली राजनीतिका स्थायी प्रतिपक्ष मानिने नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे । समय यी दुवैलाई पृथक् शैलीमा प्रयोग गर्न खोज्दै छ ।

अर्को रोचक कुरा के हो भने प्रचण्डका पालामा अब पुष्प व्यवसायले भने राम्रै प्रगति गर्ला, किनकि यिनी नामका मात्र नभएर कामका पनि पुष्पप्रेमी छन् । त्यसैले, सत्तानिकट हुन नूतन अवतारमा अरु धेरै ‘सुमार्गी’हरु यिनलाई पचास या सय केजीका पुष्पहार बीचबाट सत्कार गर्दै पूरै अवधि मालामय बनाउन उद्यत छन् । तय भएको यिनको अस्ट्रेलिया भ्रमण रद्द हुनु, चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमण रोक्नै सत्ता परिवर्तन गराइनु र संविधान कार्यान्वयनका सिलसिलामा मझधारमै रहेको मधेसी मोर्चालाई सत्ताको माखो बनाई नेपाली राजनीतिमा पुनःस्थापित गर्नु– यी तीन घोषित र अन्य धेरै अघोषित उद्देश्य जो भारतको थियो, सोही कुरालाई सत्ताका खेलाडी देउवाको संसद् भाषणले झनै सिद्ध गरेको छ ।

ओलीका पालामा अनुमानको खेती गर्ने बाल ज्योतिष (?) आदित्य दाहाललाई सहयोग हुनु, तर वैज्ञानिक अभियानका पर्यायवाची महावीर पुनलाई हेँला गर्नु, दूरगामी भविष्य हेरेर राजनीति गर्ने शैली ओलीको पक्कै होइन । बाँकी सरदर र तपसिलझैँ लाग्ने ग्यासका पाइपलाइन, रेलमार्ग र पानीजहाजका सपना भनेका कोटेश्वर चोकमा पाइने ‘भैया’का पानीपुरी मात्र हुन् । ‘ढाँटको निम्तो खाई पत्याउनु’ भनेझैँ बजेट विनियोयन सुको नगर्ने, गफका डिङ् मात्र हाँक्ने !  नेपालको राजनीति वृत्तीय रेखामा हिँडिरहेको छ । जो जहाँबाट हिँडे पनि एक फन्को मारेपछि फेरि सोही ठाउँमै आइपुग्छ । सरल रेखामा हिँड्ने हो भने त्यो हिजोको स्थानबाट आज निक्कै अघि र भोलि धेरै टाढा पुगिसकेको हुन्थ्यो । राजनीतिक वृत्तीय ‘एनाकोन्डा’ ले विकासका सपाट रेखालाई अजिंगरको आहार बनाएको धेरै भयो ।

डा. केसीलाई फेरि नवौँपटकको आन्दोलन गर्नैपर्ने स्पेस प्रचण्ड सरकारले दियो भने सचेत नेपाली प्रचण्ड–देउवा गठबन्धनको ‘स्माइल’बाट शनैःशनैः टाढिने छन् । यहाँनेर तुलनीय छ– ‘फ्लप’ हुन्छ भन्ने जान्दाजान्दै नेपाली सिनेमा उद्योगमा हात हाल्ने सरदर र तपसिले निर्माता, निर्देशक र हिरोहरुको शास्त्रीय शैलीजस्तो नेपाली संसदीय राजनीतिमा जे–जुन भनिएका नयाँ अनुहारमा प्रधानमन्त्री आए पनि तिनीहरुले सारभूत रुपमा देश र जनताका लागि नयाँ भिजन र मिसनमा काम गर्न नसक्या नै हुन् । यति भन्न कुनै ‘ग्लुमी सन्डे’ को गीत नै सुन्नुपर्दैन ।

३९औँ प्रधानमन्त्रीबाट बाहिरिने क्रममा आफ्नो र पार्टीको साख जोगाउँदै सत्ताबाट बाहिरिए भने प्रचण्डले नेपाली जनहृदयमा स्थान बढाऊलान्, नत्र एकथान फोटो सिँहदरबारमा झुन्ड्याउने लालसा मात्रै हो भने त्यो सकस यिनलाई राजनीतिक रुपमा शुभ–लाभ हुन्न । आखिर यति गीताको ज्ञान हुनुपर्ने हो, यी छविलाल काकालाई । आखिर कुनै जमानामा स्याङ्जा र गोर्र्खाितर यिनी हाईस्कुलका मास्टर जो थिए । नेपाली राजनीतिका ‘मुसा प्रवृत्ति’ सरकार विस्तारमा हावी नहोलान् भन्न सकिन्नँ । ओली काकाले सरकार थेग्नै ६÷६ जना उपप्रधानमन्त्री बनाएका थिए । त्यही सिको गरी छवि काकाले पनि जनतालाई लोप्पा नखुवाऊलान् भन्न सकिन्नँ । आखिर सरकार १६ खुट्टे अविश्वासको कपाली तमसुकमा अडिएको छ ।

‘नयाँ संविधानमा राखिएको समानुपातिक निर्वाचन पद्दतिले कुनै पार्टीको बहुमत ल्याउन दिँदैन । यो भन्या सत्ताको बाँडीचुँडी भोग गर भन्ने हो । अब हुने संविधान संशोधनमा यो कुरा संशोधन गरिएन भने र प्रत्यक्ष निर्र्वािचत प्रधानमन्त्रीको प्रावधान राखिएन भने त्यही सुविधामा टेकेर नेपाली राजनीतिका धेरै वर्षहरु क्याल्कुलेटर बोकेरै संसदीय सत्ताको फोहोरी खेल खेल्दै सरकार निर्माण र विघटनमै परिरहने पक्का छन्’, लामो मिलित वाक्यमा एक जना वकिलले यसरी टिप्पणी गरे ।

‘संसार जित्ने मानिस घरमा हार्छ । प्रचण्डले आफ्नै घरमा आफ्नी बुहारी र नातिनीलाई न्याय दिएका छैनन् । तमाम् भूकम्पपीडित, गरिब र नेपाली जनतालाई न्याय एवम् समानतामुखी गणतन्त्र दूरदराजका गाउँगाउँमा चाँडै पस्केलान् भन्ने निश्चित छैन ।’ शपथमा प्रचण्डले लगाएका मालाहरु नओइलाउँदै यस्ता संवाद आइरहेका छन् । चाहेर होस् या नचाहेर प्रचण्ड नेपाली राजनीतिको चक्रव्यूहमा फसाइएका ती क्लान्त अभिमन्यु लाग्दैछन्, जसको सकुशल बहिर्गमन असम्भव नभए पनि शीघ्र औ सजिलो अवतरणचाहिँ छैन । [email protected]

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्