साउदी अरबमा खाद्य पदार्थको संकट झेलिरहेका १० हजार भारतीय !
बीबीसी १६ साउन । भारतीय विदेशमन्त्री सुषमा स्वराजले साउदी अरबमा खाद्य पदार्थको संकट झेलिरहेका भारतीयको संख्या १० हजार रहेको बताएकी छन् ।
यसअघि त्यहाँ आठ सय भारतीय भोकमरीको समस्यामा रहेको खबर सार्बजनिक भएको थियो । तर भारतीय विदेशमन्त्री स्वराजले ट्वीट गरेर साउदी अरबमा रहेका ३० लाख भारतीयसँग अपिल गरेकी छन् कि आफ्ना भारतीय भाइ-बहिनीलाई सहयोग गर्नुस् ।
खाडी देशमा धेरै संख्यामा भारतीय नागरिकहरु नोकरी गर्दछन् । तर विगत केहि महिनादेखि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले साउदी अरब र अन्य खाडी देशहरुलाई निकै घाटा परिरहेको छ ।
साउदी अरबमा कैयौं कम्पनिहरु बन्द भएका छन् । त्यहाँ रहेका कैयौं भारतीय नागरिकहरु बेरोजगार भएका छन् वा उनीहरुले तलब पाइरहेका छैनन् ।
विदेशमन्त्री स्वराजलका अनुसार, ‘कुनै पनि देशको सामूहिक प्रयासभन्दा ठूलो अरु केहि हुँदैन । जेद्दामा भारतीय वाणिज्य दूतावास र भारतीय समुदायको कोशिसबाट समस्यामा परेकाहरुलाई १५ हजार किलोभन्दा बढी खानेकुराहरु वितरण गरिएको छ ।’
यसअघि एक व्यक्ति इमराज खोखरले ट्वीट गरेर विदेशमन्त्री स्वराजलाई जानकारी दिएका थिए कि, ‘साउदी अरबको जेद्दामा पछिल्ला तीन दिनमा लगभग आठ सय भारतीय भोकै-प्यासै फँसेका छन् ।’
यस ट्वीटको जवाफमा विदेशमन्त्री स्वराजले भनेकि थिइन् कि यस समस्या सुल्झाउनका लागि विदेशराज्यमन्त्री वीके सिंह साउदी अरब जाँदै छन् । भारतीय दूतावासलाई बेरोजगार भारतीय कामदारहरुलाई निःशुल्क खानपिनको व्यवस्था गर्न भनिएको छ ।
यसअघि भारतीय विदेशमन्त्री स्वराजले ट्वीट गरेकी थिइन् कि, ‘मैले तपाईंहरुलाई के आश्वस्त पार्छु भने साउदी अरबमा कोही पनि बेरोजगार भारतीय भोकै रहने छैनन् । मैले स्थितिलाई हरेक घण्टा नजर लगाइरहन्छु ।’
सरकारी तथ्यांक अनुसार खाडी देशहरु साउदी अरब, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स र ओमानमा ६० लाख भारतीय नागरिकहरु काम गर्दछन् ।
शनिबार राजस्थानको चुरुका इकबाल खानले जेद्दाबाट टेलिफोन गरी बीबीसी सम्वाददाता सुशीला सिंहलाई यसबारेमा कुराकानी गरेका थिए । उनले भनेका थिए, ‘म जेज्ञामा घरेलु कामदारको रुपमा काम गर्दछु । सात महिनादेखि तलब पाएको छैन ।
१० दिनदेखि खाना पनि बन्द गरिएको छ । जो घर जान चाहन्छन्, उनीहरुलाई घर फर्किन पनि दिइएको छैन । पीउने पानी पनि पाइएको छैन । नुहाएको पानी नै पीउनु परिरहेको छ । भारतीय दूतावासले आज खानेकुराको बन्दबस्त मिलाएको छ ।’
इकबालले भने कि जेद्दामा कैयौं भारतीय नागरिकहरु यस समस्याबाट जुधिरहेका छन् र यस्तो समस्यामा पर्नेहरु अधिकांश कन्स्ट्रक्शन क्षेत्रमा काम गर्नेहरु छन् ।
के उनीहरु घर फर्किने सोंचमा छैनन् भन्ने प्रश्नमा उनले भने, ‘सारा पैसा कम्पनिमा जम्मा छ र कम्पनिका कुनै पनि कर्मचारीहरु सम्पर्कमा छैनन् । अब के गर्ने ?’ #बीबीसी हिन्दीबाट अनुवादित