Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ हजार फिटबाट बिना प्यारासुट हामफालेर विश्व रेकर्ड

25000-feet (1)

एजेन्सी क्यालिफोर्निया । एक अमेरिकी स्काइडाइभरले स्टन्टको दुनियाँमा नयाँ विश्व रेकर्ड राखेका छन् । २५ हजार फिटबाट प्यारासुटबिना हाम फालेर नेटमा ल्याण्ड गर्ने उनी पहिलो व्यक्ति हुन् । ४२ वर्षीय ल्युक एकिन्सले शनिबार बेलुका क्यालिफोर्नियास्थित सिमी भ्यालीमा रेकर्ड राख्दा उनलाई उनका चार वर्षीय छोरा र श्रीमतीले हेरिरहेका थिए ।

डेली मेलका अनुसार प्लेनमा उक्लनुभन्दा पहिले स्क्रिन एक्टर्स गिल्टले एकिन्सलाई प्यारासुट लगाउनका लागि आग्रह गरेका थिए । उनले प्यारासुट त लगाउने तर त्यसलाई नखोल्ने जानकारी दिए । तर जब प्लेन २५ हजार फिट माथि पुग्यो तब उनले त्यो प्याररासुटलाई पाखा लगाएर हाम फाले ।  उनका अनुसार यदि उनले प्यारासुट लगाएका भए उनलाई १०० फुट बाई १०० फुटको नेटमा हाम फाल्न गाह्रो हुने थियो ।

उनले हाम फालेको फक्स टेलिभिजनले एक घण्टाकोलागि प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । पहिलो १० हजार फिटका लागि एकिन्सले अक्सिजन ट्याङ्कीको प्रयोग गरे । उनीसँगै हाम फालेका अरु तीनजना स्काईडाइभर मध्ये एकजनाले एकिन्सले फ्याकेका ट्याङ्की संकलन गरिरहेका थिए भने अर्काले क्यामेरा बोकेका थिए ।

यस्तै अर्को तेस्रो व्यक्तिले धुँवामार्फत उनको बाटो तल जमिनमा बसिरहेका मानिसहरुलाई देखाएका थिए । यसो गर्दा उनको अवतरणलाई ती मानिसहरुले पछ्याउन सहज भयो । ती तीनै जनाले ५ हजार फिटमा आफ्नो प्यारासुट खोलेका थिए, यता एकिन्स प्यारासुट नखोल्ने एक्ला व्यक्ति भए ।

उनको खसाई जम्माजम्मी दुई मिनेटको रह्यो । नेटमा खस्नुभन्दा पहिले अन्तिम सेकेन्डमा उनले आफ्नो पिठ्युँलाई फर्काए। उनलाई एकटक हेरिरहेका मानिसहरुले उनको आगमनलाई ताली बजाउँदै स्वागत गरे । ‘म सधैं राम्रो तयारीमा विश्वास गर्ने मानिस हुँ ।

यदि तपाईंले राम्रो तालिम पाउनुभयो भने तपाईंले जस्तो सुकै काम पनि गर्न सक्नुहुन्छ, ’ एकिन्सले स्काइडाइभ पछि आफ्नो फेसबुकमा लेखे । उनले आफ्ना सबै समर्थकलाई फेसबुकमार्फत नै धन्यवाद दिए ।

एकिन्सले यो भन्दा पहिले १८ हजार जम्प गरिसकेका छन् । उनले ‘आइरनम्यान थ्री’ फिल्ममा स्टन्ट पनि गरेका छन् । जम्प हान्नुभन्दा पहिले उनले भने, ‘यदि म डराएको थिइनँ भने म मूर्ख हुने थिएँ ।’ उनले यो जम्प हान्नुपूर्व एक हप्तादेखि जम्प हान्ने अभ्यास गरिरहेका थिए तर ती सबै प्यारासुटसहित थिए ।

उनका साथी क्रिस ट्यालीले दुई वर्ष अघि यो योजना बारे उनलाई जानकारी दिएका थिए, तर सुरुमा एकिन्सले यसलाई अस्विकार गरे ।‘मैले हाँस्दै भने, ‘हो, यो राम्रो योजना हो । यसो गर्नका लागि म तिमीलाई कोही राम्रो मानिस खोजिदिउँला ।

तर यो मेरो लागि होइन । मेरी श्रीमती छिन्, छोरो छ, साँच्चै म यो गर्नै सक्दिनँ ।’’ तर त्यसको दुई हप्तापछि उनले मानसिकता परिवर्तन गरे । उनको बुवा र हजुरबुवा दुबै स्काइडाइभर थिए ।

उनकी श्रीमती मोनिकाले पनि दुईहजार पटक हाम फालिसकेकी छिन् । उनको वासिङ्टनमा स्काइडाइभ कापोसिन नामक कम्पनी छ ।उनको यो विश्व रेकर्ड स्काइडाइभ हेर्न उनका बुवा, दुई दाजुभाइ, बहिनी, श्रीमती र चार वर्षीय छोरा उपस्थित थिए ।

25000-feet (3)

25000-feet (2)

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्