Logo
१५ चैत्र २०८०, बिहीबार
(July 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले सम्हालिन् कार्यभार

Sushila Karki File

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबार कार्यभार सम्हालेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबारै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

कार्कीलाई प्रधान्यायाधीशमा नियुक्त गर्न संवैधानिक परिषदले गत चैत २८ गते गरेको सिफारिस संसदीय सुनुवाइ विशेष समितिले आइतबार सर्वसम्मतीले अनुमोदन गरेको थियो ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गरेपछि सर्वोच्च अदालत आएर कार्कीले आफ्नो कार्यभार सम्हालेकी हुन् ।

कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी छन् । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ गत वैशाख १ गते उमेर हदका कारण अवकाश भएपछि वरिष्ठताका आधारमा कार्की प्रधानन्यायाधीश भएकी हुन् ।

कार्कीको जन्म २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले प्रधानन्यायाधीशका रुपमा करिब ११ महिना कार्य गर्नेछिन् । राससका अनुसार कार्कीले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ बिए र वनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा २०३१ मा एमए गरेकी छन् ।

उनले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक (बिएल) गरी कानुनी यात्रा सुरु गरेकी थिइन् । अधिवक्ता भएर कानुन क्षेत्रलाई कर्मथलोका रुपमा कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरिन् । उनले तीन वर्ष (२०४२–२०४६) महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् ।

अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनियाँ र नेदरल्यान्डलगायतका देशको भ्रमण गरिसकेकी सुशीला नेपाली, अङ्ग्रेजी र हिन्दीमा भाषामा निपूर्ण छिन् ।

विसं २०४५ देखि २०४७ सम्म सुशीलाले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनेकी थिइन् ।

त्यस्तै, २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनिन् । त्यस्तै, २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएकी थिइन् ।

प्रधानन्यायाधीश सुशीलाले तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गरिन् भने सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरेकी राससले उल्लेख गरेको छ । फाइल फोटो

प्रकाशित मिति: Jul 11, 2016

प्रतिक्रिया दिनुहोस्