Logo
११ बैशाख २०८१, मंगलबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कासिन्द्र यादवको बिचार: “क्षमायाचना अभियान” को चिरफार

kashindra

कासिन्द्र यादव, 

मधेसमा राजनीतिक आन्दोलन कमजोर र अन्योलग्रस्त रहेको अवस्थामा मधेसका केही अगुवा सञ्चारकर्मी र अधिकारकर्मीको पहलमा सुरू भएको ‘क्षमायाचना अभियान’ नामक सामाजिक अभियान सुरूदेखि नै विवादित बन्न पुगेको छ । सामाजिक सञ्जाल फेसबुकबाट सुरू अभियान फेसबुकमै आलोचित र प्रशंसित छ । यो अभियानले राजधानीकेन्द्रित मधेसी अधिकारकर्मी र सञ्चारकर्मीलाई स्पष्ट रूपमा दुई ध्रुवमा विभाजित गरेको छ ।

अहिलेसम्म मुख्यतः फेसबुकमा सीमित अभियानको सक्रिय समर्थन र आलोचना, वैचारिक वा सैद्धान्तिक आधारभन्दा व्यक्तिगत लगाव वा आग्रह–पूर्वाग्रहबाट प्रभावित देखिन्छ । लामो कालखण्डको असमान शासक-व्यवस्थाले शासितको मनोविज्ञानमा हीनभावना विकास गर्छ र हीनताबोधले व्यक्तिमा चरम असुरक्षा र सहजातीयको उपलब्धिप्रति चरम ईश्र्याको पनि जन्मन्छ । यो अभियानको केही आलोचनामा पनि यसको प्रभाव भेटाउन सकिन्छ । तर, सैद्धान्तिक कसीमा यो अभियानको औचित्य, उपलब्धि र गतिविधिको मूल्यांकन हुनुपर्छ ।

मधेसमा जातीय, धार्मिक र लैंगिक विभेद विद्यमान छन् । समाजमा रहेका विभेद, अन्तरविरोध र सामाजिक कुरीतिलाई केवल राजनीतिक उपक्रमले समाधान गर्न सकिँदैन । यसविरुद्धमा विभिन्नकिसिमका सामाजिक अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ । यस्ता अभियानले मधेसको राजनीतिलाई पनि सही दिशा दिनेछ । आज एकातिर उपभोक्तावाद, भूमण्डलीकरण र बजारतन्त्रमा कमजोर वर्ग, समुदाय असुरक्षित छन् भने अर्कोतिर उदारवादी लोकतन्त्रले उनीहरूको हितलाई सम्बोधन गर्न सकिरहेका छैन । यस्तो अवस्थामा स्वेच्छिक र सचेतनापूर्ण सञ्चालन हुने सामाजिक अभियानले उनीहरूको सरोकारलाई सम्बोधन गर्ने वैकल्पिक आधार दिन सक्छ ।

वैदेशिक रोजगारीमा सीमित अर्थतन्त्रले चरम व्यक्तिवादी र सामाजिक उत्तरदायित्वविहीन समाज निर्माण गर्छ । मूल्यप्रति गैरप्रतिबद्ध नागरिक समाजले लोकतान्त्रिक मूल्यको रक्षा गर्न सक्दैन । अन्तरनिर्भर अर्थोपार्जन अभावले समाजमा सार्थक संवाद र सामाजिक सहकार्यमा संकट उत्पन हुने गर्छ । राजनीतिक अधिकार प्राप्तिमा केन्द्रित मधेसले समानान्तर रूपमा सामाजिक पुँजी विकास र रक्षा गर्नुपर्ने देखिन्छ । मधेसी दल वा मधेसी राजनीतिकर्मी मधेसको नागरिक समाजले आफ्नो साख गुमाइरहेको सन्दर्भमा सामाजिक अभियानले मधेसको आन्दोलित मानोविज्ञान व्यवस्थापन गर्नेछ र अधिकार प्राप्तिको आशालाई जीवित राख्नेछ । मधेसको राजनीतिमा लोकतान्त्रिक परिपाटी विकास गर्न पनि यस्ता अभियानको महत्वपूर्ण उपयोगिता हुन्छ । लोकतान्त्रिक परिपाटी विकाससँगै राजनीतिक दल चुनाव लड्ने मेसिनका रूपमा सीमित पुग्छन् । सामाजिक अभियानले लोकतन्त्रलाई जीवन्त बनाउँछ । राजनीतिलाई यान्त्रिकीकरण हुन जोगाउँछ ।

हित समूह वा हित समुदायको आपसी प्रतिस्पर्धामा आधारित हुने लोकतन्त्रको यो मोडलमा मतभेद र सामाजिक तनाव उत्पन हुनु स्वाभाविकै हुन्छ । परम्परागत चुनावी राजनीतिले विविधतायुक्त समाजलाई जातीय र धार्मिक आधारमा विभाजित गर्छ । समाजमा पहिचानका आधारमा हुने यस्तो खण्डीकरणले लोकतन्त्रलाई कमजोर पार्छ र सामाजिक पुँजीलाई क्षय गर्छ । सामाजिक अभियानले यस्तो विभाजनलाई रोक्ने र खण्डित समाजलाई जोड्Þने काम गर्छ । तर, कुनै पनि सामजिक आन्दोलनको सार्थकता र सफलता उसको समय सान्दर्भिकता र त्यस आन्दोलनका अभियन्ताको पात्र र आन्दोलनको मूल्यप्रति उनीहरूको निष्ठामा निर्भर हुने गर्छ । यस सन्दर्भमा यो आलेखमा सकेजति व्यक्तिगत लगाव वा आग्रह–पूर्वाग्रहबाट निरपेक्ष रहि यो अभियानलाई आलोचनात्मक समीक्षा गर्ने प्रयास गरिएको छ ।

समय–सान्दर्भिकता अभाव

अहिले चर्चामा रहेका ‘क्षमायाचना अभियान’ मूलतः द्विजसमुदायका सदस्यले उनका समुदायले दलित, मुस्लिम वा अन्य समुदायप्रति गरको भेदभाव, दमन र उत्पीडनको आत्मस्वीकृति र आगामी दिनमा यस्तो नगर्ने प्रतिबद्धता व्यक्त गर्न केन्द्रित छन् । यो अभियान अहिलेसम्म मूलतः फेसबुकमा शाब्दिक माफीनामा र अभियन्ताले दलितको घरमा चिया वा भात खाइरहेको तस्बिर प्रदर्शन गर्नमै सीमित छन् । कुनै कालखण्डमा कुनै वर्णले दलितको घरमा खाना खानु आफैँमा क्रान्तिकारी कदम थियो र यसले हिन्दु समाजमा ठूलो तरंग ल्याउँथ्यो तर अहिले यो आफ्नो सन्दर्भ गुमाइसकेका छन् । यस्ता क्रियाकलापले कुनै प्रकारले पनि दलित समुदायको हित हुन्छ भन्ने सोच्नु आफैँमा रोमानी ख्यालमात्रै हुनेछ ।

पुँजीवादी अर्थ व्यवस्था र लोकतान्त्रिक राजनीति व्यवस्थाले सम्पूर्ण सामाजिकमा आयाममा क्रान्तिकारी रूपान्तरण ल्याइदिएका छन् । आजको दिनमा सामाजिक प्रतिष्ठाको मूल स्रोत विगतजस्तो व्यक्तिको जातीय सम्बद्धताभन्दा पनि मूलतः आर्थिक सामथ्र्य र शैक्षिक योग्यता भएका छन् । तर, आर्थिक सामथ्र्य र शैक्षिक उपलब्धि जातीय संरचनाले व्यापक रूपमा प्रभावित रहेको देखिन्छ । तसर्थ, यी सीमान्तकृत समुदायको क्षमता अभिवृद्धि र अवसरमा पहँुचमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । यो अभियानले द्विजसमुदायको अपराधबोधबाट कलुषित चित्तलाई केही हदसम्म शान्ति अवश्य दिन सक्छ । तर, द्विजसमुदायले यही शाब्दिक मायाजाल र भावनात्मक अपिलबाट पापमोचन गर्न खोजेको हो भने उनीहरूले आफ्ना लागि सबैभन्दा कम जोखिमयुक्त बाटो रोजेको हुनुपर्छ । यो अभियानले द्विजसमुदायका अभियन्तालाई आत्मशुद्धिको अवसर प्रदान गरे पनि दलित र दमितको अस्मितालाई कुनै प्रकारले उकास्ने छैन । समय सान्दर्भिक सामाजिक अभियानले मात्र समाज रूपान्तरण वा सुधारमा योगदान दिन सक्छ ।

आफू प्रधानमन्त्री भएको बेला डा. बाबुराम भट्टराईले सुरू गरेको दलितको घरमा खाना खाने र सस्तो लोकप्रियता हासिल गर्ने कार्यक्रमले न कुनै दलितलाई फाइदा गर्यो न अभियानले कुनै सामाजिक प्रतिष्ठता हासिल गर्न सक्यो । आजको दिन कुनै सवर्णले दलितको घरमा खाना खानु वा मस्जिदमा गएर नवाज पढ्नु र त्यसलाई महिमा मण्डित गरी प्रचार–प्रसार गर्नु कुनै छुट्टु राजनीतिकर्मीको चुनावी राजनीतिमा गरेको तमासाभन्दा फरक हुन सक्दैन । आफू प्रधानमन्त्री भएको बेला डा. बाबुराम भट्टराईले सुरू गरेको दलितको घरमा खाना खाने र सस्तो लोकप्रियता हासिल गर्ने कार्यक्रमले न कुनै दलितलाई फाइदा गर्यो न अभियानले कुनै सामाजिक प्रतिष्ठता हासिल गर्न सक्यो । आजको दिन कुनै सवर्णले दलितको घरमा खाना खानु वा मस्जिदमा गएर नवाज पढ्नु र त्यसलाई महिमा मण्डित गरी प्रचार–प्रसार गर्नु कुनै छुट्टु राजनीतिकर्मीको चुनावी राजनीतिमा गरेको तमासाभन्दा फरक हुन सक्दैन ।

परिणाममुखी हुनेमा सैद्धान्तिक शंका

यो अभियानको नेक नियतमाथि शंका नगरे पनि यसको परिणामुखी हुनेमा शंका गर्न सक्ने यथेष्ट स्थान छ । नेक नियतको भरमा मात्रै संरचनागत विभेद कम गर्न सकिँदैन । भारतका मूर्धन्य समाजवादी नेता जयप्रकाश नारायणलाई गान्धीको नेक नियतमाथि अलिकति शंका थिएन तर पनि उहाँले गान्धीको समाज सुधारका दर्शनलाई आलोचना गरेका थिए । उहाँको विचारमा गान्धीवाद नेक नियतमा आधारित भए पनि यो आफैँमा खतरनाक सिद्धान्त हो, जो वास्तविक समस्यामाथि पर्दा हाल्छ । यसरी उसले आमउत्पीडित वर्गलाई धोखा दिन्छ र अन्ततगत्वा समाजका सम्भ्रान्त वर्गलाई नै हित गर्छ ।

भारतका अर्का दलित मुक्तिका अभियन्ता डा. भीम राय अम्बेडकरले गान्धीको आत्म परिवर्तनको दर्शनले दलितलाई हित गर्छ भन्ने कुरामा कहिल्यै पनि विश्वास गरेन । उहाँको विचारमा उपल्लो जातले दिखावाका लागि दलितलाई केही दिए जस्तो गरे पनि मूलभूत अधिकारमा कहिल्यै अंशियार बनाउने छैन । हुन त संसारका प्रायः सबै भूखण्ड र कालखण्डमा मानिसले मानिसमाथि कुनै न कुनै आधारमा शोषण, दमन र उत्पीडन गरेको पाइन्छ । तर, दक्षिण एसियामा हिन्दु धर्ममा आधारित वर्णव्यवस्थाको दर्शनमा जन्मका आधारमा गर्ने संरचनागत विभेद, छुवाछूत र मानवीय उत्पीडनलाई संसारको अरू कुनै पनि विभेद संग तुलना गर्न सकिँदैन ।

हाम्रो समाजमा विद्यमान संरचनागत ऐतिहासिक विभेदले दलित र यस्ता अन्य उत्पीडित समुदायको स्रोत–साधनमा पहुँच सीमित गरेका छन् भने अर्कोतिर उनीहरूलाई उपयुक्त शिक्षाबाट पनि वञ्चित गरेका छन् । जसले गर्दा उनीहरूमा क्षमता अभाव देखिन्छ । आजको सेकुलर लोकतान्त्रिक परिवेशमा पनि उनीहरू अन्य समुदायसँग प्रतिस्पर्धा गर्न सक्दैन । यसका लागि धेरै हदसम्म हिन्दु धर्म–दर्शनमा आधारित सामाजिक, सांस्कृतिक संरचना र प्रभुवर्गको विभेदकारी संस्कार नै जिम्मेवार रहेका छन् । द्विजसमुदायको नेक नियति, अपराध बोध, आत्मस्वीकृति र आत्म रूपान्तरणको भाववादी प्रदर्शनले मात्र उत्पीडित समुदायलाई कुनै प्रकारले भलो गर्दैन । यसका लागि ठोस पहलकदमी लिनुपर्ने हुन्छ ।

यो अभियानद्वारा केहीले जातीय समन्वयको आशा पनि राखेको देखिन्छ । सामाजिक न्याय र समताविनाको सामाजिक समन्वयको कुनै अर्थ हुँदैन । जन्मको आधारमा भएको लामो भेदभावले गर्दा जातीय भिन्नता केही मात्रामा वर्गको स्वरूप ग्रहण गरेका छन् । वर्गीय विभेदको प्रभावको दायरा सीमित भए पनि जातीय विभेदको स्वरूप जटिल र व्यापक हुने गर्छ । शाब्दिक लफ्फाजी र भावनात्मक अपिलका आधारमा दलित वा अन्य उत्पीडित समुदायसँग भएको विभेद अन्त्य हुन्छ भन्ने सोच्नु आफैँमा हवाई परिकल्पना हो ।

विश्वसनीयता र निष्ठाको संकट

सामान्यतः गैससकर्मी सेवाग्राहीभन्दा दाताप्रति बढ़ी उत्तरदायी हुन्छन् भने भ्रष्ट राजनीतिकर्मीलाई पनि केही न केही मात्रामा जनताप्रति उत्तरदायी हुनुपर्ने बाध्यता हुन्छ । तर, सामाजिक अभियन्तासँग यस्तो कुनै पनि बाह्य बाध्यता हुँदैन, त्यसैले उनीहरू सम्पूर्ण रूपमा आफु र आफ्नो निष्ठाप्रति उत्तरदायी हुन्छन् । अभियन्ताको पात्र उपयुक्त भयो र उनीहरू अभियानको मूल्यप्रति निष्ठावान् भए भने आत्मरूपान्तरणका गान्धीवादी अभियानले पनि समाजमा केही मात्रामा सुधार ल्याउन सक्छन् । यही दर्शनमा आधारित उच्च आदर्श व्यक्तित्वका सन्त सामाज सुधारक विनोभा भावेको भूदान आन्दोलनले भारतमा उल्लेखनीय सफलता हासिल गरेको थियो ।

सामाजिक अभियानमा राजनीतिक आन्दोलनजत्तिको आलोचनालाई सहन गर्न सक्ने सामथ्र्य हँुदैन । यसका अभियन्ता वा अगुवाजन आमजनमा विश्वासनीय चरित्र हुनुपर्छ । नेपालको समाजमा परम्परागत राजनीतिकर्मी र गैससकर्मीको विश्वसनीयता यति कम छ कि उनीहरू सामान्यता समाज सुधारका कुनै पनि अभियान प्रभावकारी रूपले सञ्चालन गर्न सक्दैनन् । यो अभियान सञ्चालन गर्ने अधिकांश अभियन्ताको पृष्ठभूमि गैसस भएकाले पनि यसका अभीष्टबारे आमलोकमा केही शंका जन्मिएको हुनुपर्छ ।

हाम्रो हिन्दु धर्म–दर्शनमा संस्कारित मनोविज्ञानमा सामाजिक वा सामुदायिक हितको अभीष्टमा व्यक्तिगत लाभ प्राप्तिको कुनै स्थान हँुदैन । यसको अंशमात्रको पनि शंका भएमा लोककल्याणका जतिसुकै परिणाममुखी संकल्प भए पनि यसले सामाजिक स्वीकार्य र आदर प्राप्त गर्न सक्दैन । केही दिनपहिले आफ्नो महाधिवेशनक्रममा तमोलोपाले संस्थागत रूपमै यो अभियानप्रति प्रतिबद्धता जनायो । तर, महाधिवेशनक्रममा आफ्नो पदाधिकारीहरूको चयनमा यो प्रतिबद्धतामा कुनै सत्यता देखिएन । सबै पदमा द्विजजातको एकलौटी आधिपत्य देखियो । यो त ‘भोट तुम्हारा राज हमारा’ भनेजस्तै प्रभुवर्गको पुरानै शासकीय नीतिको निरन्तरता हो । निष्ठाविनाको संकल्पले अभियानको साखलाई नोक्सान पुर्याउँछ ।

हुन त यस अभियानका अभियन्ताको मधेस आन्दोलनमा ठूलो योगदान रहेको छ । तर, अभियानको फरक प्रकृति र उहाँहरूको गैसस पृष्ठभूमिले केही शंका जन्माएको छ । यस सन्दर्भमा यो अभियानका अभियन्ता शाब्दिक प्रचार–प्रसार र कुनै दलितको घरमा सँगै खाना खाइरहेको तस्बिर फेसबुकमा पोस्ट गर्नुभन्दा पनि उत्पीडित समुदायको हक–हितमा केही ठोस काम गर्दा यो आत्मस्वीकृति सही हो भन्ने ठहरिनेछ । ऐतिहासिक रूपमा अन्याय र विभेदमा परेका समुदायका लागि यी अभियन्ता धरातलीय यथार्थमा कतिको र कसरी काम गर्छ, त्यसमा यो अभियानको सार्थकता हुनेछ ।

निष्कर्ष

मधेसको राजनीतिक अधिकार प्राप्तिको आन्दोलन कमजोर भइरहेको अवस्थामा आन्दोलनको दायरालाई विस्तार गर्नु अपरिहार्य थियो । यस सन्दर्भमा मधेसका अधिकारकर्मी र सञ्चारकर्मी वा मधेसका बुद्धिजीवी जे–जस्ता सामाजिक आन्दोलन वा अभियान सञ्चालन गरिरहेका छन् ती सबै स्वागतयोग्य छन् । आवधिक स्वतन्त्र निर्वाचन र सामाजिक आन्दोलनको उचित समायोजनले लोकतान्त्रिक प्रक्रियालाई पूर्णता दिन्छन् ।

यो अभियानलाई सैद्धान्तिक वा अन्य धरातलमा जति पनि आलोचना गरे पनि यसले मधेसी समाजमा एउटा सार्थक बहस सुरू गरेका छन् । यो अभियानको सरोफेरोमा मधेसमा केही महत्वपूर्ण तर कम चर्चित अभियान छिटपुट सञ्चालन भइरहेका छन् । जनकपुर आन्दोलनमामा सहिद भएका नितु यादवको परिवार र अन्य सहिद परिवारलाई सरोज राय र रियान अन्सारीको समूहले गरेको सहयोग वा बीपी साहले स्थानीय सामाजिक अभियन्तासँग मिलेर कैलाली काण्डले गर्दा बिचल्लीमा परेका एउटा थारू परिवारलाई सहयोगका लागि सञ्चालन गरेको अभियानको आफैँमा महत्वपूर्ण छ । (लेखक, स्वराज फाउन्डेसनसँग सम्बद्ध छन् , #साभार: रातोपाटी )

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्