अबिरल वर्षापछि बनेपाको बाढीमा थप एकको मृत्यु, अझै बेपत्ता
काभ्रे । अबिरल वर्षापछि आएको बाढीका कारण काभ्रेमा मृत्यु हुनेको संख्या २ पुगेको छ । अर्का एक बेपत्ता छन् ।
बनेपा ४ नयाँबस्तीका ५२ वर्षीय मोहनबहादुर थापाको शव भेटिएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरिक्षक अनिल घिमिरेले जानकारी दिए ।
उनका अनुसार, बाढी आएलगत्तै बेपता टुकुचा ८ का ५८ बर्षीय जितबहादुर सार्कीको अवश्था अझै अज्ञात छ । मंगलबार बेलुकी पाँचखालका ९ वर्षीय आशिष काफ्लेको मृत्यु भएको थियो ।
पुण्यमाता र चण्डेश्वरी खोलामा आएको बाढीका कारण पुलबजार र नयाँ तरकारी बजार डुबानमा परेको थियो । तरकारी बजारमा रहेका सबै पसल तथा उद्योगमा क्षति पुगेको छ ।
सो क्षेत्रका ६० प्रतिशत घरमा बाढी पसेको छ । पानी रोकिएपछि बाढीका कारण अवरुद्ध अरनिको राजमार्ग पनि बिहानैबाट खुलेको छ ।
खोला किनारा रहेको सगरमाथा ग्यास उद्योग, सुर्य ग्यास उद्योग र चण्डेश्वरी ग्यास उद्योगका सिलिण्डर पनि बाढीले बगाएको इलाका प्रहरी कार्यलय बनेपाका निरिक्षक अनिल घिमिरेले जानकारी दिए ।