Logo
८ बैशाख २०८१, शनिबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भनिरोधक चक्की खादै यौणकार्य गर्दै तर यसरी निम्त्याउँदै छ गम्भीर खतरा !

काठमाण्डौ । बदलिदो परिवेसमा समाज निकै नै यौणिक बन्न थालेको छ । कुनै जमाना थियो, जुनबेला प्राय केटा–केटी भर्जिन हुने गर्थे र सेक्स भन्न बितिकै किनै ठूलो कुरा हुन्थ्यो तर हिजो आज त्यस्तो छैन । हिजो आज  सेक्स पार्टनर छुटै, अनि ‘ब्वाईफ्रेण्ड–गर्लफ्रेण्ड’ छुटाछुटै हुन थालेका छन । रातोपाटी अनलाईनले प्रकाशन गरेको एउटा रिर्पोटमा यी तमाम कुरा पएका छन । 

मिति : २०७३ जेठ १५
समय : साँझ ४ः३५ बजे
स्थान : सोह्रखुट्टे
ठमेलतर्फबाट  सोह्रखुट्टे ओर्लंदै गर्दा दायाँतर्फ पर्ने एक औषधि पसलमा एउटा मोटरसाइकल रोकियो । मोटरसाइकलको पछाडि रहेकी २०÷२१ वर्षकी एक युवती मोटरसाइकलबाट ओर्लिइन् र औषधिपसललेसँग आइपिल मागिन् । आइपिल को १ सय ५० रुपैयाँ तिरिन् र त्यहीँ पानी मागेर औषधि सेवन गरी त्यही मोटरसाइकलमा बसेर अगाडि बढिन् ।

मिति : २०७३ जेठ १५
समय : साँझ करिब ५ः१० बजे
स्थान : सोह्रखुट्टे
पक्नाजोल तर्फबाट अर्की एक युवती मुखमा मास्क लगाएर त्यही मेडिकलमा आइपुगिन् । रातो एउटा ह्यान्डब्याक बोकेकी ती युवती एकछिन मेडिकलको बाहिरै बसिन् । यताउति हेरेर मेडिकलभित्र आइन् र ७२ आवर्स दिनुस् न भन्दै मागिन् । फर्मासिस्टले अनवान्टेड–७२ झिकेर दिए । ती युवतीले हतारहतार उक्त औषधि ब्यागमा राखिन् र पैसा तिरेर अगाडि बढिन् ।

मिति : २०७३ जेठ १५
समय : साँझ ५ः१७ बजे
स्थान : सोह्रखुट्टे
ठमेलतर्फबाट दुईजना अधबैंसे महिला र पुरुष हिँड्दै त्यही मेडिकलमा आइपुगे । हातमा ह्यान्डब्याग बोकेकी ती महिलाले पनि मास्क लगाएकी थिइन् । तर, उनी मेडिकलभित्र पसिनन् । हेर्दा करिब ३५ वर्ष हाराहारीका उनीहरूमध्ये पुरुषले फर्मासिस्टसँग इकोन मागे । इकोन लिएर पैसा दिएपछि उनीहरू अगाडि बढे ।

सोह्रखुट्टेको एक मेडिकलमा करिब ४५ मिनेट बस्दा एक शनिवार देखिएको प्रतिनिधि दृश्य हो, यो । अचेल मेडिकलबाट कन्डमभन्दा बढी आकस्मिक गर्भनिरोधक चक्की अर्थात् इसीपी बिक्छन् । आकस्मिक गर्भनिरोधक चक्की एउटा यस्तो औषधि हो, जसले अनिच्छाको गर्भ रोक्न सक्छ ।

मेडिकल सञ्चालकका अनुसार हिजोआज कन्डमको भन्दा बढी यस्तै आकस्मिक गर्भनिरोधक चक्की प्रयोग बढेको छ । पहिले कन्डमको ब्यापार बढी भए पनि अहिले कन्डम किन्न आउनेको संख्या ज्यादै कम छ । मानिस कन्डम माग्न लजाउने गरे पनि यस्ता आकस्मिक गर्भनिरोधक चक्की भने खुलेआम माग्ने गरेको बताउँछन् उनी ।

चक्लेट वा चाउचाउ खाएझैं आकस्मिक गर्भनिरोधक चक्की प्रयोग

शनिवार ४५ मिनेटबीचमा तीनजनाले यसरी आकस्मिक गर्भनिरोधक चक्की किने । यो औषधि किन्न डाक्टरको प्रेस्क्रिप्सन चाहिँदैन र यसमा कुनै उमेर समूह पनि चाहिँदैन । सामान्य हिसाबले यो औषधिले गर्भ बस्न दिँदैन भन्ने सुनेकै आधारमा मानिसले यी औषधिलाई चाउचाउ वा चक्लेटझैं आफैं किनिरहेका छन्, प्रयोग गरिरहेका छन् ।

बिदाका दिन बढी बिक्छ औषधि
सोह्रखुट्टेका सेफ वे ठमेल फार्मेसीका सञ्चालक अनिल काफ्लेका अनुसार यस्ता औषधिको विक्री अन्य दिनमा भन्दा शनिवार र बिदाका दिनमा बढी हुने गरेको छ । शनिवार र सार्वजनिक बिदाका दिनमा मानिस फुर्सदिलो हुने र आफ्ना प्रेमीप्रेमिकासँग समय बिताउन पाउने भएकाले होला त्यस्ता दिनमा यी औषधि बिक्री बढी हुन्छ । अन्य दिनमा दैनिक सरदर १० वटा औषधि प्रयोग बढी हुने गरेकामा शनिवार त्यसको दुगुना अर्थात् २० जति बिक्री हुन्छ ।

कलेज ड्रेसमा माग्छन् युवती

सोह्रखुट्टेका सेफ वे ठमेल फार्मेसीका काफ्लेका अनुसार अचेत त कलेज ड्रेसमै रहेका युवतीले पनि बिहानै ‘७२ आवर्स’ माग्छन् । प्लस टु र ब्याचलर पढ्ने केटीले यसको प्रयोग अन्यले भन्दा बढी गरेको अनिलको कथन छ । आफ्नो पसलमा कलेज ड्रेसमै आएर धेरै युवतीले यस्तो औषधि किनेको उनी बताउँछन् ।

प्रयोग गर्ने अधिकांश अविवाहित
यस्ता औषधि प्रयोग गर्ने अधिकांश किशोरी वा युवती अविवाहित हुने गरेको औषधि पसल सञ्चालक बताउँछन् । ‘यस्ता औषधि किन्न आउने धेरैजसो १८ देखि २३ वर्ष उमेर समूहका छन्,’ सञ्चालक अनिल काफ्ले बताउँछन् । ‘विवाहितले तीनमहिने सुई, पिल्स, कपरटीजस्ता साधन प्रयोग गर्ने भएकाले उनीहरूलाई यस्ता औषधि आवश्यकतै पर्दैन । तर, बिहे नगरेका वा आफ्ना सेक्स पार्टनरसँग रिलेसनसिपमा रहेकाले यस्ता औषधि बढी प्रयोग गर्ने गरेका छन्,’ उनले भने ।

के हो आकस्मिक गर्भनिरोधक औषधि ?
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले आकस्मिक गर्भनिरोधक औषधिका रूपमा लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टललाई मान्यता दिएको छ । यो हर्मोनयुक्त खाने चक्की हो । यो चक्की असुरक्षित यौन सम्बन्धको पाँच दिन अर्थात् एक सय २० घन्टाभित्र लिभोनोरजेस्ट्रेल भए १ दशमलव ५ मिलिग्रामको एक मात्रा बराबर र युलिप्रिस्टल भए ३० मिलिग्राम लिनुपर्ने डब्लुएचओले बताएको छ । लिभोनोरजेस्ट्रेल भए यसलाई ० दशमलव ७५ मिलिग्रामको दुई चक्की १२ घण्टाको फरकमा पनि खान सकिने डब्लुएचओले बताएको छ ।

आकस्मिक गर्भनिरोधक चक्की उपयोग गर्दा शतप्रतिशत गर्भ रोक्ने ग्यारेन्टी भने हुँदैन । डब्लुएचओले बताएअनुसार यस्ता इसीपीको प्रभावकारिता ५२ देखि ९६ प्रतिशतसम्म मात्रै हो । असुरक्षित यौन सम्पर्कपछि जति छिटो यस औषधि प्रयोग गर्यो, यसको प्रभावकारिता त्यति नै बढी हुने बताइएको छ । मुख्यतः ७२ घण्टासम्म यसले राम्रोसँग काम गर्ने तर त्यसपछि यसै भन्न नसकिने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

कसरी काम गर्छ औषधिले ?
आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ, जसले गर्भ बस्न दिँदैन । गर्भ बस्न आवश्यक हर्मोनलाई यसले नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यो हर्मोनले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गरेर गर्भ बस्न दिँदैन, जसकारण अनिच्छामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रुण बन्न नदिने र यदि भ्रुणसमेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । सेचन भइसकेको भए पनि भु्रण बन्न ७२ घण्टा लाग्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिएको हो ।

के यो सुरक्षित छ ?
आकस्मिक गर्भनिरोधक चक्की स्वास्थ्यका दृष्टिकोणले सुरक्षित भन्न सकिने अवस्था छैन । आकस्मिक घटनामा एक÷दुईपटक प्रयोग गर्नाले यसले खासै फरक पार्दैन । तर यसलाई अन्य पिल्ससरह नियमित प्रयोग गर्ने गरियो भने यसलाई गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताउँछन् प्रसूतिगृहका निर्देशक तथा वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम । त्यतिमात्रै होइन, यो पिल्स गर्भ रोक्नमा शतप्रतिशत सक्षम छैन । कतिपय अवस्थामा यो औषधि प्रयोग गरे पनि गर्भ रहन सक्छ ।

यस्ता हुन्छन् ६ असर
१. हर्मोनमा गडबडी
महिलाले प्रयोग गर्ने यस्ता औषधिमा शरीरमा हुनेभन्दा फरक हर्मोन हुन्छ । यो हर्मोनले अर्को हर्मोनसँग संघर्ष गरेर गर्भ बस्न दिँदैन । तर, यस्तो औषधि प्रयोगपछि यस्ता हर्मोन पनि महिलाको शरीरमा रहन सक्छ । जसकारण शरीरमा अनावश्यक हर्मोन प्रवेश भई विभिन्न शारीरिक समस्या ल्याउन सक्छ ।

२. पाठेघरको नली फुट्ने खतरा

यस्ता चक्की प्रयोगले पाठेघरको नलीसमेत फुटाउन सक्ने प्रसूति गृह निर्देशक डा. जागेश्वर गौतम बताउँछन् । महिलाको पाठेघर अत्यन्तै संवेदनशील अंग भएकाले यस्ता औषधि प्रयोगले नलीमा विकास भएको वा हुन लागेको भ्रुणलाई असर गर्छ । जसकारण पाठेघरको नली फुट्न सक्ने खतरासमेत हुने उनको भनाइ छ ।

३. अत्यधिक रक्तश्रावको खतरा

आकस्मिक गर्भनिरोधक चक्की सेवनले धेरै रक्तश्राव हुने खतरा रहेको निर्देशक गौतम बताउँछन् । भ्रुण बनिसकेको भए यस्ता चक्कीले त्यो भ्रुण तुहाउँछ । यस्तो अवस्थामा यस्ता औषधि लिने महिलालाई अत्यधिक रक्तश्राव हुने उनको भनाइ छ ।

४. बाँझोपनको खतरा
आकस्मिक गर्भनिरोधक चक्की अत्यधिक प्रयोग गर्नाले महिलामा बाँझोपन समस्या आउन सक्ने चेतावानी दिन्छन् डाक्टर गौतम । यी औषधि लगातार प्रयोग गर्नाले प्रोजेस्टेरोन हर्मोन उत्पादन नै बन्द हुन सक्ने खतरा छ । जसकारण पछि गर्भ नै नबस्ने खतरा हुने उनको चेतावनी छ । प्रोजेस्टेरोन एउटा त्यस्तो महिला हर्मोन हो, जसले डिम्ब निष्कासन तथा गर्भ बस्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

५. यौनरोगको जोखिम उस्तै
अहिले इमर्जेन्सी कन्ट्रासेप्टी पिल्स अर्थात् एसीपीको प्रयोग गरेपछि गर्भ रहँदैन भन्दै युवकयुवतीले यसको प्रयोगलाई व्यापकता दिएका छन् । तर, गर्भ रोक्ने औषधि छँदै छ नि भन्दै उनीहरूले कन्डम प्रयोगमा अनिच्छा देखाउँदा यसले यौनरोगको खतरा भने बढाएको छ । औषधि प्रयोगले यौनरोग सर्नबाट रोक्न सक्दैन । जसकारण एचआइभी एड्सजस्ता भयानक रोगको खतरा दिनानुदिन बढ्दै गएको छ ।

६. महिनावारी गडबड

यो औषधिमा हर्मोन हुने र महिलाको शरीरमा हुने हर्मोनसँग द्वन्द्व हुने भएकाले यसले महिलाको मासिक चक्रमा असर गर्न सक्छ । कतिपयलाई यो औषधि प्रयोग गरेलगत्तै रक्तश्राव पनि हुन सक्छ । जसकारण महिनावारीमा गडबडी ल्याउने काम गर्छ । यस्ता औषधिका कारण कहिले समयभन्दा अगाडि र कहिले महिना पुगेको लामो समयपछि मात्रै महिनावारी हुने गरेको डाक्टर गौतम बताउँछन् ।

के–के नाममा छन्– यस्ता औषधि ?

औषधिको जेनेरिक नेम लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टल नै भए पनि नेपाली बजारमा विभिन्न नाममा यस्ता औषधि प्रयोग र बिक्री भइरहेको छ । नेपाली बजारमा अनवान्टेड ७२, आइपिल, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्स आदि नाममा यसको बिक्री र प्रयोग भइरहेको छ ।

आकस्मिक गर्भनिरोधक औषधि आकस्मिक अवस्थाका लागि मात्रै हो । अनिच्छामा गर्भ बसेर पछि गर्भपतन गराउनुभन्दा यसको प्रयोग उत्तम हो भन्न सकिन्छ । तर, यसलाई अन्य पिल्ससरह नियमित सेवन गर्नु वा अत्यधिक प्रयोग गर्नु राम्रो हुँदै होइन । बरु जनचेतना बढाएर कन्डमको प्रयोगलाई बढाउनुपर्छ । चाउचाउ वा चक्लेट किनेर खाएझैं प्रयोग गर्दा यसले भविष्यमा गम्भीर स्वास्थ्य समस्या ल्याउने निश्चित छ । #रातोपाटीबाट साभार

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्