Logo
८ बैशाख २०८१, शनिबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झुक्यायो फेसबुक आइडीले, अमेरिका जाने सपना अधुरै !

पोखरा । पछिल्लोपटक यूवा पुस्तामा फेसबुक लगायतका म्यासेन्जरमा गफ गर्ने एक प्रकारको रोग जस्तै लागिसकेको छ । तर यो समाचार पढेपछि केहि बुद्धि भने अवश्य फेरिने छ है । यसमाचार भने यस्तो छ …
वैशाखमा पोखराकी रेनुले फेसबुक चलाउँदै थिइन् । साथीसँग च्याट गरेकै बेला उनलाई एउटा फ्रेन्ड रिक्वेस्ट आयो । फेसबुकमा रिक्वेस्ट आउनु नौलो कुरा थिएन । कसको रहेछ भनेर रिक्वेस्ट अप्सनमा गरेर हेर्दा पत्याउनै गाह्रो भयो । उनलाई गैर आवासीय नेपाली संघ (एनआरएन ) अध्यक्ष शेष घलेको छोरा आकाश घलेको आइडीबाट रिक्वेस्ट आएको रहेछ ।

आकाश घलेकै नाम अनि आइडीबाट रिक्वेस्ट आएपछि कसरी एसेप्ट नगर्ने ? रेनुले तुरुन्तै रिक्वेस्ट स्वीकार गरिन् । त्यसपछि उनीहरुबीच दैनिक च्याट हुन थाल्यो । दुवैजना धेरजसो अनलाइनमा हुन्थे । छोटो अवधिमै उनीहरुबीच निकै आत्मियता बढिसकेको थियो । आकाशले रेनुलाई अमेरिका ल्याउने आशा देखाए । १२ कक्षा पास गरेकी रेनुलाई अमेरिका जान पाउने भएपछि खुसीको सीमा रहेन । आकाशले उनलाई पेपर म्यारिज गरेर अमेरिका ल्याउने आश्वासन दिए । रेनु अमेरिका जाने पक्का भयो ।

केही दिनपछि आकाशले आफूले नै पेपर म्यारिज गरेर ल्याउन नमिल्ने भन्दै रेनुलाई म्यासेज गरे । बुबाको कारणले गर्दा ल्याउन नमिल्ने म्यासेज पठाएका थिए । अब के गर्ने भन्दै रेनु आत्तिन थालिन् । आकाशले आफ्नो साथी मार्फत भए पनि उनलाई ल्याउने सान्त्वना दिए । आकाशले मेसेजमा रेनुको फोन नम्बर मागे । रेनुले उनलाई आफ्नो फोन नम्बर मेसेज गरिदिइन् ।आकाशले रेनुलाई आफ्नो साथी मार्फत ल्याउने भनेका थिए । राज भन्ने चित्रकुमार श्रेष्ठ आफ्नो मिल्ने साथी भएको भन्दै रेनुलाई उसँग भेट्न आग्रह गरे ।

तनहुँ मनपाङ–२ घर भइ हाल चितवन पार्वतीपसर बस्ने २७ वर्षीय राजसँग रेनुको फोनबाट कुरा भयो । आकाशले राजसँग पेपर म्यारिज गरेर आउन भनेका थिए रेनुलाई । त्यसपछि उनीहरुबीच भेट्ने सल्लाह भयो । फोन गरेको केही दिनमै रेनुलाई भेट्न राज पोखरा आए । उनीहरुबीच पनि छोटो समयमा राम्रो सम्बन्ध कायम भयो । एक सातामा २ पटक पोखरा आए राज । तेस्रो पटकको भेटमा भने दुबै जनाले नसोचेको घटना भयो ।

भेट्ने चाजोपाँजो मिलाई रहेकै बेला राजलाई जेठ ७ गते वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गर्‍यो । पेपर म्यारिज गरेर अमेरिका जाने सपना बुनेकी रेनु छाँगाबाट खसे जस्तै भइन् । वास्तविक कुरा के रहेछ भन्दै रेनु पनि प्रहरीकोमा पुगिन् । राजले रेनुलाई नक्कली आइडी बनाएर ठगी गरेको खुलासा भयो । रेनुजस्तै अरुलाई पनि राजले यसरी नै ठगेको प्रहरीले बताए । पोखराकी अर्की युवतीलाई पनि राजले ठगेको भनी उजुरी परेको रहेछ ।

ती युवतीलाई पनि राजले आकाश घलेको आइडीबाट वैशाख पहिलो साता फ्रेन्ड बनाएका थिए । उनलाई पनि अमेरिका लैजाने आश देखाएका रहेछन् । राजले ती युवतीलाई पनि पहिला आकाशको नक्कली आइडीबाटै कुरा अगाडि बढाएका रहेछन् । त्यसपछि आफ्नो मिल्ने साथी नेपाल रहेको भन्दै राजले आफ्नो फोन नम्बर दिएर ति युवतीसँग भेट्न लगाए । राजले आकाश आफ्नो मिल्ने साथी रहेको र आफ्नो सिंगापुरमा ठूलो कम्पनी रहेको भनी ती युवतीलाई ढाँटेका रहेछन् ।

त्यति मात्र होइन उनले अहिले आफूसँग चलाउने रकम नरहेको भन्दै ती युवतीसँग साढे १ लाख रुपैयाँ लिएका रहेछन् । अहिले राज कास्की प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । ‘राजले मलेसियामै हुँदा धेरै युवतीसँग यसरी नै ढाँटेर कुरा गरेको पाइयो,’ उनले भने, ‘उनी वैशाख २५ गते मात्र नेपाल आएका थिए ।’

राज बिगत १० बर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा काम गर्दै आएको डिएसपी बज्राचार्यले बताए । ‘उतै हुँदा उनले यस्तो ठगिको योजना बनाएका रहेछन्,’ उनले भने, ‘विशेष गरि युवतीलाई लक्षित गरेर ठगी गरेको भेटियो ।’ समाधानमा खबर छ । उनले धेरै युवतीलाई ठगेको हुन सक्ने अनुमान डिएसपीले गरे । ‘उसको कुरा गराइले धेरैलाई ठगेको हुनुपर्छ,’ उनले भने, ‘यस्तै प्रकृतिका घटना कसैसँग घटेको भए तुरुन्तै प्रहरी कार्यालयमा सम्पर्क गर्न हामी अनुरोध गर्दछौं ।’

प्रकाशित मिति: Jun 5, 2016

प्रतिक्रिया दिनुहोस्