धर्म परिवर्तन गराउने ७ प्रिन्सीपलसहित धर्म प्रचारक पक्राउ
दोलखा । साना विद्यार्थीहरुलाई प्रयोग गरी धर्मको प्रचार गरेको भन्दै दोलखामा सातजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । सदरमुकाम चरीकोटमा रहेको दुईवटा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न कार्यक्रमको नाममा र शैक्षिक सामाग्रीको नाममा बाइबल बाँड्दै क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै प्रिन्सीपलसहित धर्म प्रचारकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
हिन्दु तथा बुद्ध धर्म मान्ने विद्यार्थीहरुलाई क्रिश्चियन धर्ममा परिवर्तन गराएको आरोपमा २ बोर्डिङका सञ्चालकसहित ७ जनालाई दोलखा प्रहरीले प्रक्राउ गरेको हो। स्थानीय माउण्ट भ्याली बोर्डिङ र माडर्न नेपाल बोर्डिङ स्कुलका सञ्चालक सहित क्रिश्चियन धर्म सम्बन्धि पुस्तक बाँडेर धर्मप्रचार गरेको आरोपमा दोलखा प्रहरीले बिहिबार प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा माउण्टभ्याली बोर्डिङ स्कुलका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही, क्रिस्चियन संस्था टिच नेपाल काठमाण्डौंका बनिता डंगोल, मकवानपुरका बालकृष्ण राई, गोरखाका फिलिप तामाङ, दोलखाका किरण दाहाल, चालक रामेछापका भीमबहादुर तिवारी पक्राउ परेको दोलखा प्रहरी प्रमुख डीएसपी पाण्डेले एनभीएम ग्रुपलाई बताए ।
उनीहरुले माउण्ट भ्यालीका करिब ५ सय र मोर्डन नेपालका करिब ३ सय ८५ जना विद्यार्थीलाई रुमालमा बेरेर क्रिश्चियन धर्म सम्बन्धी महान कथा नामक किताव, येशु ख्रिष्टका जीवन सम्वन्धी चित्रकला, पकेट डायरी लगायत धर्मसम्वन्धी अन्य विभिन्न सामग्री बाँढेका थिए । टिच नेपालबाट धर्म प्रचारमा प्रयोग गरिएको बा३च ३७९३ नम्बरको टोयोटा गाडी समेत नियन्त्रणमा लिइएको डीएसपी पाण्डेले जानकारी दिए ।
डीएसपी पाण्डेका अनुसार उनीहरुले बुधबार माउण्ट भ्यालीमा र बिहिवार नेपाल बन्दको मौका छोपी मोर्डन नेपाल बोर्डिङमा विद्यार्थीहरुलाई दिनभर धार्मिक कार्यक्रम गरेर प्रवचन समेत गरेका थिए । विद्यालयबाट नै संस्थागत धर्म परिवर्तन गर्न अभिप्रेरित गरेको आरोपमा प्रहरीले सबैजनालाई अर्काको धर्ममा खलल पु¥याउने कार्य गरेको, धर्म परिवर्तन गराउने र प्रचार गरिएको विरुद्धमा हुने मुलुकी ऐन अदलको महलको १ र नेपालको संविधान २०७२ को धारा २६ उपधारा ३ विपरीत कार्य गरेकोले मुद्दा चलाइने डीएसपी पाण्डेले बताए ।
स्थानीयको उजुरीको आधारमा विहीबार साँझ छापा मारी पक्राउ गरिएको जनाएको छ । प्रहरीले धर्म प्रचारमा प्रयोग गरेको गाडीसमेत नियन्त्रणमा लिइएको हो । दुई निजी विद्यालयमा झण्डै आठ सय भन्दाबढी विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । साना विद्यार्थीहरुलाई प्रयोग गरी जवरजस्ती धर्म परिवर्तन गराउन खोजेको भन्दै अभिभावकहरुले लामो समयदेखि प्रहरीलाई उजुरी गरिरहेका थिए ।
प्रहरीले प्रमाण फेला नपरेको भन्दै पक्राउ नगरेको जानकारी दिदै विहिबार सप्रमाण पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरुलाई शुक्रबारै जिल्ला अदालत दोलखाबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।