Logo
७ बैशाख २०८१, शुक्रबार
(June 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशासन सक्रिय भएपछि ‘अवैध कन्सल्ट्यान्सी’को उठिबास

भरतपुर । भरतपुर नारायणगढ क्षेत्रमा सञ्चालनमा रहेका अवैध शैक्षिक परामर्श केन्द्र (कन्सल्ट्यान्सी) धमाधम बन्द हुन थालेका छन् । 
अवैध कन्सल्ट्यान्सीविरूद्ध चितवन प्रशासन सक्रिय भएपछि यस क्षेत्रका अधिकांश कन्सल्ट्यान्सी, ब्रिज कोर्स र ट्यूसन सेन्टरहरु धमाधम बन्द भएका छन् । केही शैक्षिक परामर्शदाता संस्थाहरुले भने नियमसंगत रुपमा सञ्चालनमा रहेकालाई पनि अनावश्यक रुपमा बन्द गर्न लगाएर प्रशासनले ज्यादति गरेको आरोप लगाए ।
आफूहरुको नियमनकारी शिक्षा मन्त्रालयअन्तर्गत रहेको शैक्षिक परामर्श एवम् प्रमाणीकरण शाखा मौन रहँदा सरकारकै जिल्ला तहको निकाय सक्रिय हुनु स्वभाविक रहे पनि सञ्चालन प्रक्रियाबारे स्पष्ट भएरमात्र बन्द गर्न वा पक्राउ गर्न प्रशासनलाई उनीहरुले आग्रह गरेका छन् ।
प्रमाणीकरण शाखाले दर्ता स्वीकृतिका लागि समयमै अनुगमन गर्नुपर्नेमा निवेदन दिएको १० महिनासम्म अनुगमन नभएको रवि एकडेमी भरतपुरका सञ्चालक डा। टंक ओझाले बताए । ‘सञ्चालनमा रहेका संस्थालाई दर्ता हुन आवेदन माग गरेअनुसार हामीले सबै आवश्यक कागजपत्र दिइसकेका छौँ, सञ्चालक डा। ओझाले भने, ‘अनुगमन गर्ने निकाय १० महिनासम्म मौन बस्दा स्थानीय प्रशासनको तारो बन्न पुग्यौं ।’
देशभर जथाभावी शैक्षिक परामर्श केन्द्र र ब्रिज कोर्स केन्द्र खुलेपछि नियन्त्रणका लागि सरकारले निर्देशिका जारी गरेको थियो । जसअनुसार ०७१ साल चैतमा सञ्चालन स्वीकृतिका लागि आह्वान गरेको थियो । दोस्रो पटक ०७२ जेठमा पुनः स्वीकृतिका लागि आह्वान भएकोमा चितवनका १२ वटा संस्थाले स्वीकृति लिएका थिए । देशभर ४ सय २ वटाले स्वीकृत लिएका थिए ।
तेस्रो पटक गत साल भदौ महिनामा एक महिनाको अवधि दिइ आवेदन आह्वान भएकोमा चितवनका २७ शैक्षिक संस्थाले निवेदन दिएका थिए । उनीहरुले सञ्चालन स्वीकृत पाएपनि प्रमाणीकरण शाखाले समयमै अनुगमन गरी दर्ता नगरिदिँदा आफूहरु समस्यामा परेको वेभ एजुकेशन एकाडेमी भरतपुरका संचालक देवप्रसाद पाठकले बताए ।
चितवनमा पछिल्लो समय प्रमाणीकरण शाखाले गर्नुपर्ने शैक्षिक संस्थाहरुको अनुगमनको काम प्रशासनले गरिरहेको छ । दर्ता भएका १२ र स्वीकृत लिई दर्ता प्रक्रियामा रहेका २७ गरी कुल ३९ वटा मात्र हाल आधिकारिक देखिने पाठकले बताए ।
 शैक्षिक परामर्श संस्था संचालकहरुका अनुसार चितवनमा एक सयको हाराहारीमा शैक्षिक परामर्श संस्थाहरु अवैध छन् । केहीले कुनै पनि कागज प्रमाणको रुपमा जुटाएका छैनन् ।
 केहीले भने प्रशासनको आँखा छल्न र विद्यार्थी तथा अभिभावकलाई भ्रममा पार्न नगरपालिकामा मात्र दर्ता गरेका छन् ।
उत्कृष्ट शिक्षाको नाममा विद्यार्थीबाट मोटो रकम असुलिरहेका अबैध शैक्षिक संस्थाको खोजी गरी मापदण्डभित्र ल्याउने आफूहरुको प्रयास निरन्तर रहने चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले बताए । प्रशासनले अनुगमन थालेपछि केही संस्थाहरु रातारात बन्द भएका उनले बताए ।
बाहिर देश पठाउनका लागि परामर्शदाताका रुपमा काम गरेको भेटिएको भन्दै उनले कानुनी दायरामा नआए कारबाही गरिने बताएको खबर चितवन पोष्टमा छ । त्यस्तै, एजेण्टले कार्यालय नै राखेर म्यानपावर व्यवसायी सञ्चालन गरिरहेको सूचना आएको भन्दै एसपी कुँवरले छानविन गरी कारबाहीको दायरामा ल्याइने प्रतिक्रिया दिए ।

प्रकाशित मिति: Jun 12, 2016

प्रतिक्रिया दिनुहोस्