Logo
१५ चैत्र २०८०, बिहीबार
(June 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीक्षान्त समारोह भन्दै भारत पुगेका थापाले सक्लान सम्बन्ध सुर्धान ?

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा सार्क विश्वविद्यालयको दीक्षान्त समारोहको अध्यक्षता गर्ने भन्दै भारतमा छन् । विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन भनिए पनि उनको भ्रमणको गुहृय उद्देश्य भारतसँग चिसिएको सम्बन्ध सुधारको प्रयास भएको जानकारहरू बताउँछन् ।

उनले त्यहाँ रहँदा भारतीय नेताहरू तथा उच्चतहका अधिकारीसँग भेट गर्ने चाँजोपाँजो मिलाउँदै छन् । भारतसँगको सम्बन्ध सुधार्न मन्त्री थापाले आफ्नो तीनदिने भारत भ्रमणलाई उपयोग गर्ने उनका निकटस्थले जनाएका छन् । 
सो भेटमा उनले भारतले नरुचाएको भनिएको केपी ओली नेतृत्वको वर्तमान सरकारकै निरन्तरतामा भारतीय सद्भाव खोज्ने बताइन्छ । ‘भ्रमणको मुख्य उद्देश्य भारतसँगको सम्बन्ध मजबुत बनाउनु हो’, उनका जनसम्पर्क विज्ञ मोहन श्रेष्ठले भने, ‘सम्बन्ध सुधार गर्न मन्त्रीज्यूले उच्च राजनीतिक भेटघाट गर्दै हुनुहुन्छ ।’
पहिलो विदेश भ्रमणका रूपमा भारत गएका प्रधानमन्त्री ओलीले ऐतिहासिक रूपमा भ्रमण सफल रहेको र दुई देशबीचको असमझदारी हटेको बताएका थिए । तर पार्टीको आन्तरिक बैठकमा एमाले अध्यक्षसमेत रहेका ओलीले ‘भारत र अमेरिका वर्तमान सरकार ढाल्न लागेको’ अभिव्यक्ति दिएका थिए । यद्यपि एमालेले एकैदिन दुईपटक विज्ञप्ति निकालेर नभनिएको विषय बाहिर आएको भन्दै खण्डन गरेको थियो ।
सम्बन्ध सुधार भएको भनिए पनि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएपछि सम्बन्ध थप चिसिएको आँकलन गरिएको थियो । राजदूत उपाध्यायलाई ‘सरकार परिवर्तनमा चलखेल गरेको’ र भारतसँगको सम्बन्ध सुधारमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै फिर्ता बोलाइएको थियो ।
भारतले अघोषि रूपमा लगाएको नाकाबन्दी अघोषित रूपमै हटाएको केही दिनपछि प्रधानमन्त्री ओलीले गत फागुनको पहिलो साता भारत भ्रमण गरेका थिए । पटकपटकको औपचारिक अनौपचारिक पहलका बीच पनि सम्बन्धमा सोचेजति सुधार नआएपछि पाँचांै पटक थापा दिल्ली पुगेका हुन् ।
यसअघि चार पटकका भ्रमण ‘फलदायी’ भएको बताएका थापाले यसपटक पनि ‘फलदायी’ बनाउन घनीभूत प्रयत्न जारी राखेको परराष्ट्र स्रोत बताउँछ । पछिल्लो भ्रमणका क्रमाम उनले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटेका छन् । भेटमा थापा र स्वराजले नेपाल–भारत द्विपक्षीय सम्बन्धको वर्तमान स्थितिको पुनरावलोकन गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
दूतावासका अनुसार दुवै नेताले द्विपक्षीय सबन्धलाई अझ सुदृढ गर्न विभिन्नस्तरमा नियमित रूपमा विचारको आदानप्रदानमा जोड दिएका थिए । त्यसअघि उपप्रधानमन्त्री थापाले सञ्चारकर्मी र नयाँदिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनमा आयोजित बेग्लै कार्यक्रममा बुद्धिजीवी र कूटनीतिक समुदाय सामू आफ्ना सहयोगीमार्फत नेपालको संविधान नै उपलब्ध गराएका थिए । उक्त भेलामा सम्बोधन गर्दै उनले नेपालको इतिहासमा पहिलोपटक जननिर्वाचित प्रतिनिधिद्वारा जारी गरिएको संविधानमार्फत नेपालले शान्ति, प्रजातन्त्र र समावेशी प्रणालीलाई सुदृढ गर्न गरेको प्रगतिका बारेमा जानकारी गराएका थिए ।
‘नेपालको भारतसँगको सम्बन्ध कुनै अर्को द्विपक्षीय सम्बन्धसँग दाँज्न नसकिने र यसलाई आफ्नै विशेषताका आधारमा हेर्नुपर्छ’, उनले भनेका थिए । भारत भ्रमणमा रहेका थापाले भारतीय गृहमन्त्री राजनाथ सिंहसहित सरकारका मन्त्री र वरिष्ठ नेताहरूसँग भेटवार्ता हुनसक्ने जनसम्पर्क विज्ञ श्रेष्ठले बताए । उनका अनुसार मन्त्री थापाले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ताको प्रयास गरिरहेका छन् ।
भारतसँग चिसिएको सम्बन्ध सुधार गर्न मन्त्री थापाको भ्रमणबाट केही आशा गर्न सकिने परराष्ट्रविद् भेषबहादुर थापाले बताए । ‘भारतसँग बढ्दो दूरीलाई कम गरी दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि राजनीतिक भेटघाटको अर्थ हुन्छ’, उनले  भने, ‘आफ्ना समकक्षी स्वराजसँगको भेट र त्यसपछि हुनसक्ने उच्चतहको राजनीतिक भेटघाटले चिसिएको सम्बन्ध सुधार्ने क्रमलाई प्राथमिकतापूर्वक अगाडि बढाउनसक्छ ।’हीरालाल विश्वकर्मा हिमालय टाइम्स

प्रकाशित मिति: Jun 12, 2016

प्रतिक्रिया दिनुहोस्