Logo
८ बैशाख २०८१, शनिबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियार प्रमुख लोकमानको सम्पति विवरण माग गर्दै सूचना आयोगमा उजुरी


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पति विवरण माग गर्दै सूचना आयोगमा उजुरी दर्ता भएको छ। 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पारदर्शी र जवाफदेही हुनुपर्ने आवाज उठाउँदै आएका भ्रस्टाचार बिरोधी अभियन्ता सुमन श्रेष्ठले कार्कीको सम्पत्ति विवरण माग गर्दै उजुरी दर्ता गराएका हुन्।
सूचना आयोगमा उजुरी दर्ता गराउनु अघि उनले तीन पटकसम्म अख्तियारमै कार्कीको सम्पत्ति सार्बजनिक गर्न माग गर्दै निवेदन दिएका थिए। 
पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मुख्य सचिव रहेका कार्कीलाई रायमाझी आयोगले सत्ता, शक्ति र पदको दुरुपयोग गरी जनआन्दोलन-२ दमन गरेकोमा दोषी ठहर गरेको थियो।  उनी दरबारको ठाडो हुकुमबाट कर्मचारी सेवामा प्रवेश गरेका थिए।
नैतिकता र सार्वजनिक दायित्व लत्याउँदै अख्तियार प्रमुख कार्कीले सम्पत्ति सार्वजनिक गर्न अँटेर गरिरहेका छन्। अख्तियारको नियतमा प्रश्न देखिएको भन्दै श्रेष्ठ सूचना आयोगको शरणमा पुगेका हुन्।
कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वेच्छाचारी ढंगले प्रयोग गर्दै मेडिकल शिक्षा क्षेत्रमा समेत हस्तक्षेप गरेका थिए । 
डा.गोविन्द केसीको अनसनका कारण व्यवस्थित हुने दिशातर्फ लागेको मेडिकल शिक्षाका व्यापारीसँग अख्तियार प्रमुखले साँठगाँठ जमेपछि स्थिति उल्टो दिशातर्फ मोडिन थालेको बताइन्छ। 
अख्तियार प्रमुखको रुपमा लोकमानले विधिको शासनमा देखाएको उपेक्षालाई नागरिक र संसदीय तहमा निगरानी गर्न सकिएन भने भ्रस्टाचार निवारण होइन भयको शासनलाई मात्र बढावा हुने श्रेष्ठले बताए।
प्रमुख आयुक्तमा लोकमानसिंह कार्की नियुक्त भएदेखि संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सधैँ विवादको घेरामा छ।
करोडौं भ्रस्टाचारमा संलग्न भएको भनेर संसदीय समिति र फिफाले कारवाही गरेका गणेश थापाको उजुरी कार्कीले थन्क्याएका छन्।
एनसेलको सञ्चालक कम्पनी टेलिसोनेराले राज्यलाई ३५ अर्ब रुपैयाँभन्दा बढी कर नतिरी कम्पनी बिक्री गर्दा अख्तियार मौन छ।

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्