Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा रहेका नेपालीको हातेमालोबाट विद्यालय बन्यो

अनिल ढकाल । २०७२ वैशाख १२ गते मुलुकमा विनासकारी भूकम्प गएपछि देशभर धेरै विद्यालय भत्किए । जनस्तरमा घर भत्किएका घरको संख्या लाखौं छ । हजारौंको संख्यामा विद्यालय काम नलाग्ने भए । त्यसैमध्येको एक विद्यालय चितवनको विकट लोथर–७, स्यामराङस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय थियो । 
बेल्जियममा बस्ने एक नेपालीको दम्पतीको सहयोग गरेपछि विकट भेगका चेपाङ बालबालिकाले पढ्न पाएका छन । १६६ जना विद्यार्थी पढ्ने सो विद्यालयको ६ कोठामध्ये दुईवटा कामै नलाग्ने गरी भत्किएको थियो ।  बाँकी २ सगलो भएपनि अर्को दुई कोठा आंशिकरुपमा क्षतिग्रस्त बन्यो । निकै टाढा र भौगोलिकरुपमा कठिन भएकाले जिल्लास्थित सरकारी निकायसमेत लगत संकलनका लागि तुरुन्तै जान नसकेको विद्यालय विदेशमा रहेका नेपालीको हातेमालो बाट विद्यालय बनेको छ ।
विद्यालय निमार्णको अभियान थालेपछि बेल्जियममा रहेका नेपाली दम्पती प्रभा न्यौपाने र  रेणुकान्त न्यौपानेले सो विद्यालय एक कोठा निमार्ण गर्न ७ लाख ५० हजार रुपैया सहयोग गरेका छन  । प्रभा न्यौपाने बेल्जियमको एक अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत छिन । उनीहरुले अस्पतालमा लागेर नेपालको अवस्थावारे जानकारी गराएर  सहयोग अभियान चलाएका थिए । रकम संकलनपछि एनआरएन मार्फत नगरी प्रत्यक्ष हुने कामका लागि सहयोग गरे ।
सो रकम चितवन सहायता कोष (क्याट बेल्जियम ) मार्फत राप्रावि दुङबाङको एक कोठे भवन निमार्णका लागि सहयोग हस्तान्तरण गरिएको हो । क्याट बेल्जियमका अध्यक्ष दिनेश भण्डारी , उपाध्यक्ष राजु घिमिरे , संस्थापक अध्यक्ष सिता सापकोटा स्यामराङ पुगेर विद्यालयको अवस्था हेरेर रकम हस्तान्तरण गरेका थिए ।  चितवन सहायता कोष (क्याट बेल्जियम ) की निर्वतमान अध्यक्ष पार्वती अधिकारीको पहलमा सो सहयोग उपलब्ध भएको हो । विकट चेपाङ गाउँमा पत्रकारले विद्यालय पूर्ननिमार्णको अभियान रामे लागेपछि पहल गरेको  पार्वती अधिकारीले बताईन । सहि ठाँउमा लगानी हुने विश्वासका साथ लगानी गरेको अधिकारीको भनाई छ ।
चितवनका पत्रकारहरुको सामाजिक अभियान हामीले नगरे कसले गर्नेले चितवनको विकट चेपाङ गाउँमा विद्यालय बनाएको हो । गत साल वैशाख १२ गतेको भूकम्पले भत्काएको लोथर–७, स्यामराङस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको दुईकोठे भवन शनिबार जेठ १ गते समुदायमा हस्तान्तरण गरिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले विद्यालय भवनको उद्घाटन गरे । जिल्ला सदरमुकामबाट उत्तरपूर्वी लोथर गाविसको सिरानमा पर्ने सो गाउँमा सो टोलीले ६ महिना समय र करिब १८ लाख रुपैयाँ खर्च लगाएर विद्यालय भवन बनाएको हो । देश विदेशबाट नेपाली तथा विदेशीहरुले संकलन गरी पठाएको रकम संयोजन गरी अभियानले भवन पुनर्निर्माण गरेको अध्यक्ष विनोद रिजालले जानकारी दिए । सो ठाउँ पुग्न पूर्वी चितवनको भण्डाराबाट करिब ३ घण्टाको कच्ची सडक छिचोलेपछि ३ घण्टा नै कष्टप्रद उकालो बाटो पार गर्नुपर्छ ।
धादिङतिरबाट पनि सो ठाउँ पुग्न सकिन्छ । त्यसका लागि चरौंदी बजारबाट स्यादुल हुँदै जानुपर्छ । जिल्ला सदरमुकामबाट करिब ७ घण्टा लगाएर सो ठाउँमा पुगेका प्रमुख जिल्ला अधिकारी सिंह, जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याललगायत सरकारी अधिकारीहरुले विकट क्षेत्रमा आएर पत्रकारको टोलीले गरेको यो प्रयास अनुकरणीय रहेको बताए । “पत्रकाहरु समाचार लेख्न पोख्त हुन्छन्”, प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी सिंहले भने, “तर, यहाँ सामाजिक काममा पनि उहाँहरु पोख्त देखिनुभयो ।” उनले विकट क्षेत्रमा यति मेहनत गरेर विद्यालय भवन बनाएपछि गाउँलेले अपनत्व लिएर गुणस्तरीय शिक्षाका लागि मेहनत गर्नुपर्ने बताए । विद्यालय उदघाटनका लागि जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याल , राष्ट्रिय अनुसन्धान उपनिर्देशक माधवप्रसाद तिमल्सिना, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रमुख विदुर खड्कालगायत पुगेका थिए ।  भवन निर्माणका लागि सबैभन्दा बढी चितवन सहायता कोष (क्याट) बेल्जियमले सहयोग गरेको हो । क्याटमार्फत प्रभा न्यौपाने र रेणुकान्त न्यौपानेले ७ लाख ५० हजार रुपैयाँ रकम सहयोग गरेका थिए ।
त्यस्तै जापान प्रतिनिधि दीपक नेपालले संकलन गरेको ५ लाख २७ हजार १ सय १८१, अमेरिका प्रतिनिधि रामचन्द्र बस्ताकोटीले संकलन गरेको १ लाख ६ हजार ८४८, फ्रान्स प्रतिनिधि किशोर आचार्यले संकलन गरेको १ लाख २ हजार ४५५, छोरी परियोजना बेल्जियमले दिएको १ लाख, महेन्द्र सुवेदीले ६० हजार, कुशल श्रेष्ठले ४० हजार, प्रकृति इन्टरनेशनल जापानले ३१ हजार, रिषेन्द्र भुषालले २७ हजार, सिरियाली नागरिक मोहम्मद जोहाले १३ हजार ४३५, माया कार्कीले १० हजार सहयोग गरेको बस्ताकोटीले जानकारी दिइन् ।
त्यस्तै देश विदेशमा अभियानको लोगो अंकित टिसर्ट बिक्रीबाट २ लाख ८ हजार ५४७ रुपैयाँ संकलन भएको छ । त्यस्तै विद्यालय भवनका लागि आवश्यक १० बण्डल जस्तापाता सामरी उत्थान सेवा काठमाडौंले सहयोग गरेको छ । ती सबै विद्यालय भवनको ताम्रपत्रमा टाँसिएका छन् ।

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्