८८ जना पक्राउ: कोरियन भाषा परीक्षामा नक्कली परीक्षार्थीको विगविगी
काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षामा सहभागी हुन आएका ८८ जना नक्कली परीक्षार्थीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । आइतबार पहिलो सिफ्टमा भएकोे उक्त परीक्षामा काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट ११ जना र ललितपुरबाट १० जना गरी २१ जनालाई तथा दोस्रो सिफ्ट काठमाडौँबाट ३८ जना पुरुष ,१ महिला र १ जना बिचौलिया सहित ५७ जना तथा ललितपुसरबाट १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसअघि शनिबारको परीक्षामा पनि ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई हिरासतमा राखी कानुनबमोजिम कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् ।
यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् । आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत कोरिया गएका भन्दै रातोपाटीमा उल्लेख छ । # फाइल तस्विर