Logo
१३ बैशाख २०८१, बिहीबार
(June 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा मारिएका १२ नेपालीको पहिचान खुल्यो, राजदूत अर्याल काबुल जाँदै

वीरेन्द्र राज, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको बनाइ क्षेत्रमा सोमबार विहान गराइएको आत्मघाती बम आक्रमणमा परी १२ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टी गरेको छ । काबुलस्थित साब्र इन्टरनेष्नल नामक ब्रिटिश कम्पनीमा सुरक्षा गार्डका रुपमा कार्यरत नेपालीहरु कामका लागि कम्पनीबाट क्यानेडियन दूतावास जाने क्रममा सोमबार बिहान ५ बजेर ४० मिनेटमा जलालावाद रोडमा आतंककारीहरुको आत्मघाती बम आक्रमणमा परेका हुन् । 
आतंककारीहरुले नेपाली सुरक्षा गार्ड सवार मिनिबसलाई लक्षित गरेर बम आक्रमण गराउँदा ७ नेपाली घाइते भएका छन् ।  बम आक्रमणमा परी १४ जनाको मृत्यु भएकामा मृत्यु भएकामध्ये १२ जना नेपाली भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बम आक्रमणमा परी मृत्यु भएकामध्ये दुई जना नेपाली हुन् वा अन्य देशका भन्ने बारेमा यकिन हुन बाँकि रहेको बताए । 
बम आक्रमणमा परेर मृत्यु हुनेमध्ये तीन जना काठमाडौं र ३ जना नुवाकोटका छन् । मृत्यु हुनेहरूमा काठमाडौका हरिबहादुर बरुवाल क्षेत्री, विदुरबहादुर सुवेदी क्षेत्री र चन्द्रबहादुर राना मगर तथा नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला र लिलबहादुर गुरुङ रहेका छन् । यस्तै, लमजुङका अमृतबहादुर थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्गाङ्जाका सुकबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्र सिंह थापा, पर्वतका नविनबहादुर क्षेत्री र सुनसरीका अकुर तामाङको पनि मृत्यु भएको छ । 
बम आक्रमणमा परी घाइते भएका सात जना नेपालीमा चितवनका मानबहादुर थापा र कृष्णकुमार देउजा, मोरङका  प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, सुर्खेतका अमृत रोकाय क्षेत्री र नुवाकोटका च्याङ्बा तामाङ रहेका छन् । 
घाइतेहरुको उपचार सुनिश्चित गर्न, मृतकहरुको शव नेपाल पठाउन र अन्य समन्वयका लागि परराष्ट्र मन्त्रालयले पाकिस्तानका लागि कार्यवाहक राजदूत तिर्थराज अर्याललाई काबुल पठाएको छ । अफगानिस्तानमा बम विष्फोटका घटना सामान्य मानिएपनि नेपालीहरुलाई लक्षित गरेर आत्मघाती बम विष्फोट गराइएको भने यो पहिलो घटना हो । 
कार्यवाहक राजदूत अर्याल काबुल जाँदै
यसैबीच, पाकिस्तानको इस्लामावादस्थित कार्यवाहक नेपाली राजदूत तिर्थराज अर्याल अफगानिस्तानको काबुलमा सोमबार बिहान भएको आत्मघाती बिस्फोटका बारेमा थप बुझ्न काबुल जाने भएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव भरतराज पौडेलले घटना पछिको अवस्था बुझ्न अर्याल जति सक्दो चाँडो काबुल जान लागेको बताए । 
‘मृतकको शव ल्याउन र घाइतेको उपचारको व्यवस्था मिलाउन अर्ली फ्लाइटमा हाम्रा इस्लामावादस्थित राजदूत कावुल जाँदै हुनुहुन्छ’ पौडेलले भने, ‘उहाँ उता पुगेपछि मृतकको पहिचान र उनीहरुको शव नेपाल ल्याउने बारेमा कुरा हुन्छ ।’ अफगानिस्तानमा नेपाली राजदूतावास छैन । 
पाकिस्तानमा रहेको नेपाली दूतावासले नै अफगानिस्तान हेर्छ । सोमबार बिहान काबुलमा मुस्लिम अतिवादी समूह तालिवानले गरेको आत्मघाती बिस्फोटमा परी १४ नेपाली सुरक्षा गार्डको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । 
घटनामा परी ज्यान गुमाउनेहरू :
अकुल तामाङ, सुनसरी
चन्द्रबहादुर रानामगर, काठमाडौं
हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
अमृतबहादुर थापा, लमजुङ
सुपबहादुर गुरुङ, स्याङ्जा
डम्बरबहादुर तामाङ, नुवाकोट
मधुसुदन कोइराला, नुवाकोट
लिलबहादुर गुरुङ, नुवाकोट
नवीनसिंह क्षेत्री, पर्वत
कृष्णबहादुर ढुंगाना, चितवन
जितेन्द्रसिंह थापा, बुटवल
घाइतेहरुको नामावली:
प्रेमबहादुर क्षेत्री, मोरङ
चेतप्रसाद शेरचन,
म्याग्दी कुमारबहादुर गुरुङ,
गोरखा मानवहादुर थापा, चितवन
कृष्णकुमार देउजा, चितवन
अमृत रोकाया क्षेत्री, सुर्खेत
च्याङ्वा तामाङ, नुवाकोट

प्रकाशित मिति: Jun 20, 2016

प्रतिक्रिया दिनुहोस्