Logo
७ बैशाख २०८१, शुक्रबार
(June 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिआइबी टोली ३ महिनाअघि नै पुगेका थिए बिहार, भारतीय शिक्षा सचिवको सहयोग


काठमाडौं ।  नक्कली डाक्टरहरु पक्राउ परेपछि बिभिन्न तर्क बितर्क जारी रहेका बेला सिआइबी टोली ३ महिनाअघि नै पुगेका र बलियो अनुसंधानपछि उनहिरुलाई गिरफतार गरिएको खुलासा भएको छ । यसकालागि नक्कली सर्टिफिकेट पत्ता लगाउन भारतीय शिक्षा सचिवले सहयोग समेत खुलासा भएको छ । 
ब्युरो, काउन्सिल र परिषदका अधिकारीको पाँच सदस्यीय टिम फाइल बोकेर तीन महिनाअघि बिहार गयो । झन्डै दुई साता उतै बसेर बिहार बोर्डबाट शंकास्पद व्यक्तिहरूको शैक्षिक रेकर्ड हेर्न थाल्यो। बिहार बोर्डका अध्यक्ष डा. लालकेशर प्रसाद सिंह र सचिव हरिहरनाथ झाले अनुसन्धानमा सहयोग गरेको एसपी लम्सालले बताए।
२०७२ मंसिरमा नेपाली सेनाको छाउनीमा मेडिकल काउन्सिलको परीक्षा चलिरहँदा दुई जना डाक्टर पक्राउ परे। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्यतिबेला सुनील मण्डल र निरज शर्मालाई पक्राउ गरेको थियो। यी दुई असली डाक्टर ‘नक्कली डाक्टर जन्माउन’ परीक्षा लेख्दै थिए- सुनील नवीन यादवको र निरज सरोज साहका नाममा।
ब्युरोको अनुसन्धान समूहले उनीहरूसँग बयान लियो। बयानमा दुवैले भने, ‘सरहरुले हामी दुई जनालाई मात्र देख्नुभएछ, हामीले जसरी अर्काको नाममा परीक्षा दिने अरू पनि थिए, एनएमसीको परीक्षामा यस्तो चलिरहन्छ।’
शुक्रबार र शनिबार देशका विभिन्न सहरबाट नक्कली डाक्टरको अभियोगमा ३६ जना पक्राउ परेपछि तिनको हातमा नक्कली शैक्षिक प्रमाणपत्र कसरी पर्यो भन्ने आम चासो छ। र, प्रहरीले कसरी डाक्टरको शैक्षिक प्रमाणपत्र नक्कली भनेर पत्ता लगायो ? 
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार २०७२ मा पक्राउ परेका तिनै दुई डाक्टरको बयानले नेपालमा नक्कली डाक्टर छन् भन्ने शंका बढाएको हो। त्यही शंकाका आधारमा प्रहरी टोली नेपाल मेडिकल काउन्सिल पुग्यो। काउन्सिलका पदाधिकारी यस्ता गतिविधि नियन्त्रणमा निरीह देखिएको सिलवालले बताए । 
‘सोधीखोजी गर्दा त मार्ने धम्की आउँछ,’ काउन्सिलका एक पदाधिकारीलाई उद्धृत गर्दै सिलवालले सेतोपाटीसँग भने, ‘हामी कारबाही गर्न सक्दैनौं, कति छ कति यस्तो !’ सिलवालका अनुसार जाँच दिन आउने व्यक्तिको फोटो मिल्यो कि मिलेन भनी जाँच गर्ने हिम्मतसमेत काउन्सिलले राख्दैनथ्यो। डरधम्कीले काउन्सिल आजित थियो। 
काउन्सिल आफैं आँखा चिम्लेर बसेको मात्र हैन, प्रहरीले अनुसन्धान गर्न खोज्दा आफ्नो कार्यक्षेत्रबाहिर गएर काम गर्यो भनी आलोचना हुने डर पनि थियो। ब्युरोले काउन्सिल पदाधिकारीलाई विश्वासमा लिएर अनुसन्धान थाल्ने निधो गर्यो। यसका लागि ब्युरो, काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदको एउटा टिम गठन गरियो। त्यो टिमले मेडिकल काउन्सिलमा डाक्टरको लाइसेन्स परीक्षाका लागि पेस हुने सर्टिफिकेट जाँच गर्न थाल्यो। 
यस क्रममा एक हजार डाक्टरको सर्टिफिकेट हेरिएको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले सेतोपाटीलाई बताए। तिनीहरूको आइएस्सी सर्टिफिकेट ‘बिहार बोर्ड’ विश्वविद्यालयबाट जारी भएको थियो । यति पत्ता लगाएपछि ती एक हजार सर्टिफिकेट विश्वविद्यालयको रेकर्डसँग भिडाउन अनुसन्धानका लागि बिहार जानुपर्ने भयो ।
उच्च माध्यमिक शिक्षा परिषदले भारतस्थित काउन्सिल अफ बोर्ड स्कुल एजुकेशन (गोब्से) का सचिव पुरन चन्दसँग कुरा गर्यो। गोब्सेले भारतभरिका विश्वविद्यालय हेर्छ। चन्द भारत सरकारका सचिवस्तरका कर्मचारी हुन्। सर्टिफिकेट शंकास्पद रहेको भनी ब्युरोका अधिकारीले जनाएपछि सचिव चन्दले अनुसन्धानमा सहयोग गर्ने बचन दिए । 
ब्युरो, काउन्सिल र परिषदका अधिकारीको पाँच सदस्यीय टिम फाइल बोकेर तीन महिनाअघि बिहार गयो। झन्डै दुई साता उतै बसेर बिहार बोर्डबाट शंकास्पद व्यक्तिहरूको शैक्षिक रेकर्ड हेर्न थाल्यो । बिहार बोर्डका अध्यक्ष डा. लालकेशर प्रसाद सिंह र सचिव हरिहरनाथ झाले अनुसन्धानमा सहयोग गरेको लम्सालले बताए।
‘फाइल र कम्प्युटर दुवैतिर रहेको रेकर्डसँग डाक्टरको सर्टिफिकेट भिडाएर अनुसन्धान टिम फर्कियो,’ उनले भने।
बिहारबाट फर्किएको पाँच सदस्यीय टिमले फेरि मेडिकल काउन्सिलमा गएर शैक्षिक योग्यताको प्रमाणपत्र खोतल्न थाल्यो। लम्सालका अनुसार यसबाट निम्न प्रमाण फेला परे: 
प्रमाण १: आइएस्सीका एक हजार सर्टिफिकेटको अनुसन्धान गर्दा एक सय शंकास्पद भेटिए। सर्टिफिकेट जारी गर्ने निकायमा भेटिएको लब्धाङ्क पत्र र काउन्सिलमा बुझाइएको लब्धाङ्कपत्र फरक भेटियो। ‘उता ३४५ नम्बर छ, यता बुझाएकोमा ५००,’ एसपी लम्सालले भने, ‘यसबाट नक्कली हो भन्ने शंका पुष्टि भयो।’ 
प्रमाण २: कतिपय सर्टिफिकेटमा नाम नै गलत थियो। उता अर्कैले परीक्षा दिएको, अर्कैको नाममा प्रमाणपत्र जारी भएको तर त्यही प्रमाणपत्र यता आउँदा अर्कैको नाममा आइपुगेको भेटियो। ‘यसले अनुसन्धानमा उत्साह थपियो,’ लम्सालले भने।
प्रमाण ३: पक्राउ परेकामध्ये ज-जसको आइएस्सी सर्टिफिकेट नक्कली भनिएको छ, तिनीहरूको कलेज उपस्थिति शून्य देखियो। विद्यार्थी रेकर्ड नै भेटिएन। सर्टिफिकेट हात परेको तर कलेज पढेको प्रमाण नै भेटिएन। 
यति आधार फेला परेपछि एक सयमध्ये ३६ जनालाई प्रहरीले एकैचोटि समात्ने निधो गर्यो। र, ब्युरोले सम्बन्धित क्षेत्रका प्रहरी कार्यालयमा गोप्य सर्कुलर पठायो। ‘अप्रेसन क्वाक’ नाम दिएर प्रहरीले अप्रेसन सुरू गर्यो। काठमाडौं, ललितपुर, वीरगन्ज, विराटनगर, चितवनलगायत स्थानबाट डाक्टर धमाधम पक्राउ परे।  
बिरामी जाँचिरहेका डाक्टरकहाँ सादा पोसाकका प्रहरी कोही असली परिचय दिँदै गए, कोही बिरामी बनेर गए। डिआइजी सिलवालका अनुसार पक्राउ परेका ३६ मध्ये ३५ को आइएस्सी सर्टिफिकेट बिहार बोर्डबाट जारी भएको छ। ती सबै सर्टिफिकेट नक्कली भेटिएका छन्। त्यही प्रमाणका आधारमा डाक्टरलाई पक्राउ गरेर मुद्दा चलाइएको हो। 
‘एक हजार फाइल हेर्दा जो शंकाको घेरामा आयो त्यसलाई हामीले पक्रिने सूचीमा राख्यौं, जो आएन छाडिदियौं,’ सिलवालले भने, ‘धेरै लामो मेहनत र प्रयासमा हामीले नक्कली सर्टिफिकेटधारी डाक्टर पहिचान गरेका छौं।’
पक्राउ परेकाहरूलाई ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर प्रहरीले अनुसन्धान प्रक्रिया बढाइरहेको छ । 
अनुसन्धान अधिकृत एसपी लम्सालका अनुसार हिरासतमा रहेकाहरूको आइएस्सी सर्टिफिकेटमाथि अहिले अनुसन्धान गरिँदैछ ।   ‘उनीहरूले एमबिबिएस सर्टिफिकेट कहाँबाट लिएका हुन्, त्यो बयानमा खुलेपछि हामी त्यसको पछि अनुसन्धान गर्छौं,’ लम्सालले भने, ‘त्यसपछि दूतावासमार्फत सम्बन्धित विश्वविद्यालयबाट विवरण खुलाई पठाउन अनुरोध गरेर छानबिन हुन्छ ।’ सयमध्ये पक्राउ गर्न बाँकी धेरै छन्। ‘अप्रेसन क्वाक’मा तिनीहरू पक्राउ पर्दै जाने ब्युरोले जनाएको छ। सेतोपाटीबाट साभार 

प्रकाशित मिति: Jun 20, 2016

प्रतिक्रिया दिनुहोस्