शब ल्याउन अफगानिस्तानमा जहाज पठाउने सरकारको निर्णय
काठमाडौ । सरकारले आतंककारी आक्रमणमा मारिएका १२ नेपालीको शब तथा घाइतेलाई स्वदेश ल्याउनको लागि अफगानिस्तानमा जहाज पठाउने भएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले १२ नेपालीहरुको शबका साथै घाइतेहरुलाई लिन अफगानिस्तानमा जहाज पठाउने सरकारले निर्णय गरेको जानकारी दिए ।
थापाले जहाज पठाउनका लागि आवश्यक तयारी भइरहेको भइरहेको भन्दै दुःखको यस घडीमा मृतक र घाइतेलाई स्वदेश फर्किउन सरकारले निकै गम्भीरताका साथ काम गरिरहेको बताए । ‘अफगानिस्तानमा आतंककारी हमलामा निधन भएका नेपालीहरुको शव र घाईतेहरु लिन सरकारले नेपालबाट जहाज पठाउने निर्णय गरेको छ। त्यसको आबश्यक तयारि हुंदैछ’ थापाको भनाई रहेको छ ।
काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा १२ नेपाली र २ भारतीय नागरिक गरी १४ जनाको ज्यान गएको थियो भने अन्य ९ जना घाइते भएका थिए । घाइतेमध्ये ७ जना नेपाली छन् ।
बम हमलामा ज्यान गुमाउनेहरुमा काठमाडौंका चन्द्र बहादुर रानामगर, वीरबहादुर सुवेदी क्षेत्री , हरिबहादुर बरुवाल क्षेत्री , लमजुङका अमृतबहादुर थापा, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला, लीलबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिंह थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्यांजाका सुकबहादुर गुरुङ, पर्वतका नविनबहादुर क्षेत्री र सुनसरीका अंकुर तामाङ रहेका छन् ।
यस्तै भरत देहरादूनका गणेश थापा र गोविन्द सिंहको पनि सो आक्रमणमा ज्यान गएको थियो । आक्रमणमा मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, चितवनका मानबहादुर थापा, कृष्णबहादुर देउजा, सुर्खेतका अमृत रोकाया क्षेत्री र नुवाकोटका च्याङबा तामाङ घाइते भएका थिए । बम हमलामा परेका नेपालीहरु काबुलमा रहेको क्यानेडाली राजदूतावसमा कार्यरत थिए ।