Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ राजनीतिक चतिकला : ओली सरकार गिराउन प्रचण्डलाई कस्ले उकासे ?

काठमाण्डौ ।  प्रमुख दलका शिर्ष नेताहरु आ आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न अलग अलग गुट भेलामा भिडिरहेका छन् । प्रमुख दलका शिर्ष नेता कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा, प्रधानमन्त्री एबं एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डले सहमतिय सरकारको नेतृत्व आफुले गर्ने बताउदैँ भित्र भित्रै दौड चलाएका छन् ।
उता ब्यवस्थापिका संसदमा छलफलको क्रममा रहेको आर्थिक वर्ष २०७३–७४ को बार्षिक बजेट पारितका बारेमा गम्भिर छलफल चलेको छ । सहमतिको सरकार गठनकोलागि आन्तरिक रुपमा पहल सुरु भएसँगै हिजोबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अष्ट्रेलिया भ्रमणसमेत अन्तिम समयमा आएर स्थागित गरेको चर्चा राजनीतिक बृतमा छ ।
प्रचण्डले नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए । भेटवार्तापछि राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई अगाडि बढाउने सहमतिको साथ आफ्नो भ्रमण स्थागित गरेका हुन् । तर तत्काल ओलीले सरकार परिवर्तन नहुने संकेत गरे पछि प्रचण्ड निरास भएका छन् । ओलीले आफ्नै नेतृत्वमा सहमतिय सरकारको सुरुवात हुनु पर्ने अडान समेत राखेका हुन् । 
देउवाले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आलो पालोमा गर्ने गरी प्रचण्डको नेतृत्वमा सरकार बनाउन सहमति दिएपछि प्रचण्ड अगाडि बढेको बुझिएको छ । त्यस लगत्तै उनले प्रधानमन्त्री ओलीसँग भेटेर यस विषयमा कुराकानी गरेका थिए । त्यसो त देउवाले ओली सरकार गिराउनका लागि प्रचण्डलाई उकासेको चर्चा पनि विश्लेषकहरु बताउछन् । 
स्रोतका अनुसार देउवा र प्रचण्डको भेटमा देउवाले स्पष्टै रुपमा बजेट पारित भएपछि स्थानीय निकायको निर्वाचनसम्म प्रचण्डले सहमतिको सरकारको नेतृत्व गर्ने र त्यसपछि अन्य निर्वाचनकोलागि आफूलाई नेतृत्व दिनु पर्ने प्रस्ताव गरेका थिए । प्रचण्डले नेकपा एमालेले यो प्रस्तावलाई स्विकार गरे आफू तयार रहेको जवाफ दिए पनि प्रधानमन्त्री ओलीले भने प्रचण्डलाई नयाँ प्रस्ताव थमाए ।
उनले स्थानीय निकायको निर्वाचनसम्म आफू प्रदेश निर्वाचनमा प्रचण्ड र संघीय निर्वाचनमा देउवालाई सरकारको नेतृत्व दिने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्ताव प्रचण्डले देउवामा पुर्याए पनि देउवाले सो प्रस्तावलाई अहिले स्विकारिसकेका छैनन् । त्यसपछि प्रचण्डले राष्ट्रिय सहमतिको सरकार आफ्नो नेतृत्वमा गठन गर्न एमालेलाई आफूले मनाउने र मधेसी मोर्चालाई कांग्रेसले मनाई दिनु पर्ने प्रस्ताव राखेका थिए । 
हिजोको छलफल पछि प्रचण्ड आगामि साउन १५ गतेभित्र सहमतिको सरकारको खाँका बनाउन लागि परेका छन् । प्रचण्डले देउवा, ओली र आफ्नो प्रस्तावलाई आधार बनाएर खाँका बनाउने छन्। यस क्रममा दलहरुले आन्तरिक छलफल गर्ने छन् ।  
स्रोतका अनुसार सहमतिको सरकार गठनकोलागि कांग्रेस, एमाले र माओवादीले आ आफ्नो तरिकाले आन्तरिक छलफल गरिरहेका छन् । त्यसैगरि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि आ आफ्नो पक्षमा लबिङ गरिरहेको बुझिएको छ । 

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्