Logo
१२ आश्विन २०७९, बुधबार
(June 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पैसा लिएर सम्मान गर्ने गिरोह राजधानीमा सक्रिय रहेको खुलासा !

काठमाडौं । काठमाडौंमा एउटा संस्थाले वर्षौंदेखि पैसा उठाएर पुरस्कार र सम्मानकै हुर्मत लिँदै मनपरी रुपमा सम्मान र पुरस्कारको धन्दा नै सञ्चालन गर्दै आइरहेको पाइएको छ । 
‘सामाजिक रुपान्तरणका लागि नागरिक समाज’ नामक संस्थाले यसरी पैसा उठाएर योग्यता, दक्षता र क्षमता नै नभएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्ने गरेको हो । उसले सम्मानित हुन चाहने व्यक्तिसँग १० हजारदेखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ ।
उसले झन्डै ९ वर्षदेखि अवैधानिक तरिकाले पैसा असुलेर विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरुबाट वर्षको २ पटक पुरस्कार तथा सम्मान कार्यक्रम गर्ने गरेको पाइएको छ । उसले पैसा तिरेर सम्मान हुने चाहनेलाई सुरुमा एउटा फर्म भर्न लगाउने र पैसा असुलेर सम्मानित गर्ने गरेको छ । 
उसले पछिल्लोपटक गत वैशाख २५ गते उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीको हातबाट झन्डै सय जना व्यक्तिलाई सम्मानित गराएको थियो । संस्था दर्ता गराएर संस्थागत ढंगले यस्तो धन्दा चलाइए जस्तो देखिए पनि यसमा मुख्य रुपमा तीनजना व्यक्ति व्यक्ति संलग्न छन् । 
सामाजिक रुपान्तरणका लागि नागरिक समाज संयोजक कृष्ण अर्याल, प्रमुख सल्लाहाकार मणिराज अर्याल र अध्यक्ष यमबहादुर जिसी यो धन्दामा लामो समयदेखि संलग्न रहँदै आएका हुन् ।  अचम्म त के छ भने यसरी सम्मान र पुरस्कारको बेइज्जत गर्दै केही व्यक्तिले सञ्चालन गर्दै आइरहको कार्यक्रममा देशका पूर्वप्रधानमन्त्रीदेखि, पूर्वमन्त्री, मन्त्री, र सभासद्सम्म उपस्थित हुने गरेका छन् ।
पछिल्लो पटकको सम्मान कार्यक्रममा उपप्रधानमन्त्री चित्रबहादुर केसी सहभागी भएका थिए । त्योभन्दा अघिका कार्यक्रमहरुमा भने पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वमन्त्री महेश बस्नेत, लालबाबु पण्डितसम्म पनि फसिसकेका छन् । कांग्रेस र माओवादीका नेता पनि यसअघिका कार्यक्रममा सहभागी भइसकेको बताइन्छ । रोतोपाटीमा खबर छ । 

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्