Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकके श्रीमतिले गरे श्रीमानको हत्या, स्वाभाविक मृत्यु देखाउन शवलाई छतबाट खसाले !


भैरहवा । फेसबुकमार्फत चिनाजानी भई पाँच महिनाअघि मात्र विवाह गरेका रूपन्देहीका २१ वर्षीय युवकको श्रीमतीले हत्या गरेकी छन् ।

एक वर्षअघि फेसबुकमार्फत परिचय भई प्रेमसम्बन्ध गाँसेका पडसरी–८ का २१ वर्षीय विजय थापा र रुद्रपुर गरगरे गाउँकी अस्मिता थापाले पुसमा विवाह गरेका थिए । अन्ततः त्यही ‘माया’ले विजयको हत्यासमेत भएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानका अनुसार विवाहलगत्तै उनीहरूबीच झगडा हुन थालेको थियो । त्यसले हत्याको रूप लिन पुग्यो । सोमबार राति पनि उनीहरूबीच झगडा भएको प्रहरीले उल्लेख गरेको छ । श्रीमतीले मादक पदार्थ तथा चुरोट सेवन नगर्न आग्रह गर्दा थापा श्रीमतीमाथि खनिएपछि झगडा भएको जनाइएको छ ।

झगडापछि उनीहरू अलग–अलग खाटमा सुतेका थिए । मादक पदार्थले लठ्ठिएका थापा निदाइहाले । अस्मिताले भने उनको हत्या गर्ने योजना बनाइन् । राति साढे २ बजेतिर जाँतोले टाउकोमा प्रहार गरी उनले श्रीमान्को हत्या गरेको अनुसन्धानबाट खुल्न आएको रूपन्देहीका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

हत्यापछि त्यसलाई ‘स्वाभाविक मृत्यु’का रूपमा देखाउन उनले शवलाई छतबाट खसालेको प्रहरीले जनाएको खबर कारोबारमा छ ।

प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्