Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुन्डाका नाइके श्रेष्ठको आडमा स्वास्थ्य परिक्षण भन्दै भ्रष्टचार

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारहरुको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्थाहरुको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघमा आर्थिक अनियमितता हुने गरेको पाइएको छ । महासंघका अध्यक्ष कैलाश खड्का र वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीले विगत डेढ वर्षदेखि कार्य सञ्चालनका नाममा व्यापक आर्थिक अनियमितता गर्ने गरेका छन् । 
उपाध्यक्ष रेग्मी महासंघका नामबाट देशविदेशमा हुने भ्रमणसमेत गरी स्वार्थ परिपूर्ति गरिरहेका छन् भने व्यवसायी तथा महासंघलाई तहसनहस पार्ने अभियानमा अध्यक्ष खड्कालाई साथ दिइरहेको व्यवसायीहरुको आरोप छ । बायोमेट्रिक प्रणालीको पूर्ण विरोध गरेर महासंघमा चुनाव जितेका वरिष्ठ उपाध्यक्षको मिलेमतोमा उक्त प्रणालीको समर्थन गरी महासंघलाई आर्थिक रुपमा धराशायी बनाउन लागिपरेको बताइन्छ । तर रेग्मीले आर्थिक भागबन्डामा कुरा नमिलेपछि पत्रकार सम्मेलन गरी राजीनामा दिएका थिए । तैपनि, उनको राजीनामा स्वीकृत भने भएको छैन । 
मेडिकल रिपोर्टमा होलोग्राम टाँस्दा स्वास्थ्य व्यवसायीले प्रति कामदार ५ सय रुपैयाँ महासंघमा बुझाउनुपथ्र्यो । एक दिनमा करिब २२ सय कामदारले स्वास्थ्य परिक्षण गराउँदै आएका छन् । यसरी महासंघमा दैनिक ११ लाख रुपैयाँ जम्मा हुँदै आएको थियो । यस हिसाबले हेर्दा महासंघको बैंक खातामा अहिलेसम्म करोडौं रुपैयाँ जम्मा हुनुपर्ने देखिन्छ । तर महासंघको खातामा २ लाख रुपैयाँ पनि बचत छैन । 
महासंघका एक पदाधिकारीका अनुसार बैंक खातामा करिब डेढ लाख जति मात्रै रकम बाँकी छ । उक्त रकम विदेशमा मेडिकल फेल भएर नेपाल फर्केका कामदारलाई फिर्ता गर्नुपर्छ । व्यवसायीसँग धरौटीबापत लिइएको रकम पनि हरेक महिनाको अन्तिममा फिर्ता गर्नुपर्छ ।  तर उक्त रकम करिब ६ महिनायता फिर्ता गरिएको छैन । स्वास्थ्य व्यवसायीलाई मात्रै महासंघले फिर्ता गर्नुपर्ने रकम करोडभन्दा माथि छ । 
त्यसैगरी, विगत एक वर्षदेखि महासंघले विदेशमा मेडिकल फेल भएर फर्केका करिब २ हजारभन्दा बढी कामदारलाई करिब ८ करोड रुपैयाँ क्षतिपूर्ति दिन बाँकी छ । नियमअनुसार महासंघले मेडिकल फेल भएर फर्केका कामदारलाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ उपलब्ध गराउनुपर्छ । तर कसैले पनि उक्त रकम पाएका छैनन्, न त त्यो रकम महासंघको बैंक खातामा नै देखिन्छ । 
८ करोड रुपैयाँ अध्यक्ष खड्काले आफैं प्रयोग गरेको र हिसाब कहीँकतै नदेखाएको नाम नछाप्ने सर्तमा महासंघका एक सदस्यले जानकारी दिए । उनका अनुसार अध्यक्ष खड्काले आफ्नो चाकडी गर्ने केही स्वास्थ्य व्यवसायीलाई भने फिर्ता गर्नुपर्ने रकम र क्षतिपूर्तीसमेत दिइसकेका छन् । पैसा भनेपछि मरिहत्ते गर्ने अध्यक्ष खड्का बायोमेट्रिक मेडिकलको सेटिङ गरिदिन्छु भनि ३९ वटा मेडिकलसँग ५० लाख रुपैयाँका दरले करिब २० करोड कुम्ल्याउन सफल भएको बताइन्छ । 
२० करोड रुपैयाँ उठाएपछि उनले पैसा दिएका मेडिकलले मात्रै बायोमेट्रिक सिन्डिकेट लाद्दै आएका छन्, जसका कारण अन्य २ सय ५० भन्दा बढी स्वास्थ्य संस्थाहरु ठूलो मारमा परेका छन् ।  खड्काले अझै पनि बायोमेट्रिक मेडिकल मिलाइदिने भन्दै केही स्वास्थ्य व्यवसायीसँग पहिलेकै शैलीमा रकम उठाउन थालेको बताइन्छ । खड्काले पैसा लिएर पनि बायोमेट्रिक मेडिकल गर्ने अनुमति आफ्नो संस्थालाई नदिलाएको भन्दै एक व्यवसायी आफ्ना साथीभाईसँग गुनासो गर्दै हिँड्ने गरेको बताइन्छ । 
अचम्मको कुरा त के भने अध्यक्ष खड्काले स्वास्थ्य व्यवसायी र विदेशमा मेडिकल फेल भएर फर्केकालाई करोडौं रुपैयाँ तिर्नुपर्नेछ । तर उनीसँग कसैले आफैंले पाउनुपर्ने पैसा माग्ने आँटसम्म गरेका छैनन् । महासंघ स्रोतका अनुसार उनलाई महासंघका निवर्तमान अध्यक्ष प्रवीण तिवारी र निवर्तमान केन्द्रीय सदस्य  डन भनेर चिनिने गुन्डा नाइके महेश श्रेष्ठको साथ रहेको बताइन्छ । 
उनीहरुकै आडमा उनले महासंघमा भ्रष्टचार गर्दै आएका छन् ।कोही अफिसमा पैसा माग्न आए खड्काले कहिल्यै पूरा नहुने आश्वासन बाँड्दै हिँड्ने निवर्तमान अध्यक्ष तिवारीलाई बोलाएर आश्वासनका पोका बोकाएर फिर्ता पठाउने र तर्साएर भए पनि आफ्नो पैसा असुल्न खोज्नेलाई गुन्डा नाइके श्रेष्ठको आडमा धम्क्याएर पठाउने गरेका छन् । श्रेष्ठको सबै दलका शीर्ष नेतासँग सीधा सम्पर्क भएको बताइन्छ । खबर बुधबार साप्ताहिकमा छापेको छ ।
निर्वतमान अध्यक्ष प्रवीण तिवारीको पालामा उनकै योजनामा नेपालमा बायोमेट्रिक लगाउन तत्कालीन वरिष्ठ उपाध्यक्ष कैलाश खड्कालाई उनले त्यो कामको जिम्मा लगाएका थिए । योजना बनाउन माहिर प्रवीण तिवारी, गुन्डाको नाइके महेश श्रेष्ठ र हालका अध्यक्ष कैलाश खड्काको मिलेमतोमा मलेसिया जाने कामदारको प्रति कामदार १५ डलर महासंघको कार्यालयमा बिनाबिल भर्पाई उठाई उक्त रकम खड्का, तिवारी, श्रेष्ठ र तत्कालीन श्रमराज्य मन्त्रीले बाँडेर लिने गरेको बताइन्छ । र त्यस्तो रकममध्ये केही रकम महासंघका लेखापाल रवीन्द्र केसी समेतलाई दिई बाँडेर खाने गरेको बताइन्छ । 
अचल महासंघको कार्यालयलाई पूर्ण रुपमा आर्थिक लेनदेनको अखडा पूर्ण रुपमा आर्थिक लेनदेनको अखडा मात्र बनाउन लागिएको बताइन्छ । मलेसियामा बायोमेट्रिक लगाउने मुख्य योजनाकार बंगलादेशी नागरिक महोमद अमिन हुन् । उनकै उक्साहटमा मोटो आर्थिक चलखेल गरी विगतमा आम व्यवसायीको विरोधको बाबजुद बायोमेट्रिक प्रणाली लागू गरिएको थियो । 

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्