महतो भन्छन ‘संसदमा कमेडी गर्दैमा मधेशको समस्या समाधान हुँदैन’
वार्ता र संवादको माध्यमले मधेशको माँग पूरा गर्ने प्रधानमन्त्री ओलीको भनाईबारे महतोले भने ‘संसदमा र अरू ठाउँमा वार्ता र संवादको चर्को कुरा गर्ने तर त्यसलाई व्यवहारमा नल्याए समस्या कहिले समाधान हुँदैन।’ महतोले प्रधानमन्त्री ओली माथि मधेशको समस्या बारे थोरै पनि गम्भीर नरहेको र समस्या समाधान गर्न पट्टकै पनि नचाहेको आरोप लगाए। उनले भने -‘ओली सरकार बने पछि दर्जनौं पटक वार्ता भयो तर सरकारी पक्ष कहिले गम्भीर भएर प्रस्तुत भएन।’
प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन बारे प्रतिक्रिया लिन पुगेका संचारकर्मीहरूलाई महतोले ओलीलाई गणतन्त्र नेपालकै सबैभन्दा कमजोर र असफल प्रधानमन्त्री भएको दाबी गरे। उनले ओलीको बोली माथि कटाक्ष गर्दै भने कमेडी र उखान टुक्काले देश चल्दैन। महतोले मधेशको राजनीतिक समस्या समाधान नगरि नयाँ संविधान कार्यान्वयन नहुने ठोकुवा समेत गरे।
प्रधानमन्त्रीद्वारा संविधानको पुनर्लेखन बारे संसदमा गरेको टिप्पणीमाथि सदभावना अध्यक्ष महतोले आपत्ति जनाएका छन्। उनले संविधानको पुनर्लेखनको माँग मधेशी मोर्चाको नरहेको स्पष्ट पार्दै संविधान संशोधननै रहेको बताए। ‘ओलीजीले मधेशको मुद्दा डाईभर्ट गर्न खोजे। मधेशी मोर्चाले कहिले पनि र कुनै पनि वार्तामा संविधान पुनर्लेखनको कुरा गरेको छैन। हामी संविधान संशोधनबाटै मधेशी थारू लगायत यस देशका सम्पूर्ण आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएका, सीमान्तकृत समुदायको खोसिएको अधिकार सुनिश्चित गर्न आन्दोलनमा छौं।’
सीमाँकन बारे प्रधानमन्त्री ओलीले दिएको मंतब्यमा आफूहरूको घोर आपत्ति रहेको बताउँदै महतोले एक वर्षमा सीमांकनको मुद्दा टुंग्याउने प्रमको अभिव्यक्तिले मधेशी जनता झन् आक्रोशित बनेको बताए। महतोले भने( एक वर्षमा सीमांकनको विवाद सुल्झाउने भनेको मधेशमा एक वर्ष सम्म द्वन्दलाई अझ निम्ताउने हो। सीमांकन लगायत ११ बूँदे मोर्चाको माँग हाम्रो बटमलाईन हो। सीमांकन विवाद समाधान नभए सम्म मधेश समस्या समाधान नहुने र देशमा पनि स्थायित्व र स्थिरता नआउने महतोले दाबी गरे।
राजेन्द्र महतोले ओली सरकार मधेशको राजनीतिक समाधानबारे मात्रै असफल नभएको अपितु देशमा फैलिएको कालोबाजारी र माफियातन्त्रलाई पनि निस्तेज गर्न पूर्ण रूपमा असफल भएको बताए। उनले भने-‘नाकामा अवरोध हटेको महिनौं बिति सक्दा पनि देशको जनताले सहज रूपमा तेल, ग्यास र औषधि समेत नपाउनु सरकारको निकम्मापन हो। महतोले प्रधानमन्त्री ओली भूकम्प पीडित जनतालाई राहत दिनुको सट्टा पूरै सरकार र सरकारीतन्त्र कालोबाजारी र माफियातन्त्रलाई संस्थागत गर्नमा व्यस्त रहेको आरोप समेत लगाए।