Logo
४ बैशाख २०८१, मंगलबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाँडियो २४ दिन लगाएर भएको कांग्रेस–एमाओवादी सहमति

१३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएसँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले बधाइ दिँदै सरकारका विषयमा कुरा गर्ने इच्छा व्यक्त गरेका थिए। देउवाले संसदीय दलको चुनावअघि सरकारका विषयमा कुरा गर्न नमिल्ने बताएपछि त्यस प्रसंगमा कुराकानी भएको थिएन।
एमाओवादी वर्तमान सरकारमा बस्न गुम्सिएको अनुभव गरिरहेको, मधेसी मोर्चा यो सरकारले मधेसका विषय सम्बोधन गर्न नचाहेको र संघीयताको विपक्षमा  रहेको भनेर आक्रोस पोखिरहेको र विश्लेषकहरुले पनि सरकार परिवर्तनका पक्षमा आवाज उठाउन थालेको यथार्थ सामु थियो। कांग्रेस सभापति देउवा संसदीय दलको नेता पनि निर्वाचित भएपछि कांग्रेसका मात्र नभएर अन्य दलका सांसद्हरुले पनि सरकार परिवर्तनका पक्षमा उभिन आह्वान गरिरहेका थिए।
तर पनि देउवाले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइरहनुभएको थियो। बिस्तारै बिस्तारै मधेसी मोर्चा र एमाओवादी समेतले बल गरेपछि उहाँ सरकार परिवर्तनमा सहमत हुनुभयो। एमाओवादी अध्यक्ष प्रचण्डले महासचिव कृष्णबहादुर महरा र सचिव वर्षमान पुनलाई छुट्टाछुट्टै खटाएर सरकार परिवर्नका लागि अग्रसरता कांग्रेसले लिन आग्रह गर्दै खबर पठाइरहे। दुबै नेताले कांग्रेसतर्फको सम्पर्क व्यक्तिका रुपमा मेरै निवासमा आएर मसित कुरा गरेका थिए।
एमाओवादीका तर्फबाट आएको प्रस्तावबारे मैले सभापति देउवालाई जानकारी गराएपछि उहाँले पनि नेता शान्ति प्रक्रियादेखिका सहयात्री भएको नाताले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई खटाए। प्रचण्ड-सिटौला र मेरो महरा तथा पुनबीच वार्ता जारी थियो। सिटौलामार्फत् प्रचण्ड साँच्चै सरकार परिवर्तनका पक्षमा रहेको खबर देउवाले पाए।
त्यो जानकारी पाएपछि म प्रचण्ड निवासमा पुगेँ। प्रचण्डले आफ्ना सबै गुनासो म सामु खोले र केपी ओली नेतृत्वको सरकारमा बस्नै नसक्ने उल्लेख गरे। यो सबै देउवा श्रीमतीको उपचारका लागि नयाँ दिल्ली जानुअघि नै भइसकेको थियो।
वैशाख १५ गते देउवा नयाँ दिल्लीबाट फर्किए। १६ गते प्रचण्डको निमन्त्रणामा म लाजिम्पाट पुगेँ। त्यहाँ पुगेपछि प्रचण्डले वर्तमान सरकारमा आफू महत्वपूर्ण हिस्सा लिएर बसेको र कम्युनिष्ट सरकार भएकाले छोड्न गाह्रो हुने भएकाले देउवाको नेतृत्वमा होइन आफ्नो नेतृत्वमा सरकार गठनको प्रस्ताव राखे।
हामी त देउवाजीको नेतृत्वको विषयमा कुरा गरिरहेका हौँ। म पनि त्यसमै सहमतिको प्रयासमा जुटेको छु भनेर मैले भनेँ। तपाईँ देउवाजीसँगै यो कुरा राख्नुस्, समय म मिलाउँछु भनेँ। मैले त्यहीँबाट फोन गरेर भोलिपल्ट बिहानका लागि देउवाको समय मिलाएँ।
मिटिङमा को(को राख्ने भन्ने कुरा मैले सोधेँ। उहाँले उहाँ म र तपाईँ मात्र सहभागी हुने भन्नुभयो। त्यही अनुसार बिहान भेट भयो। प्रचण्डले आफ्नो बाध्यता बुझिदिन भन्दै पहिलो चरणमा आफ्नै नेतृत्वमा सरकार गठनको प्रस्ताव सुनाउनुभयो। देउवाले इमान्दारीपूर्वक भन्नुभएको हो भनेर सोधे। प्रचण्डले हो भनेपछि उहाँले हुन्छ भन्नुभयो।
त्यहाँबाट छुटेपछि दाहालले मलाई फोन गरेर आफ्नो तर्फबाट वर्षमान पुन र जनार्दन शर्मालाई प्रतिनिधि तोकेको भन्दै संविधान कार्यान्वयन गर्न,  शान्ति प्रक्रियालाई अघि बढाउन, सिमाङ्कन तथा मधेसको आन्दोलनको सम्बोधन गर्न, पुनर्निर्माण गर्न र विकासलाई अघि बढाउनु भन्दै पाँचवटा विषयमा आधारित भएर सहमतिको खाका बनाउन सुझाव दिए।
कांग्रेसबाट म र शान्ति प्रक्रियामा समेत काम गरेका रमेश लेखक कार्यदलमा बसे। कार्यदलको काम पनि धेरैजसो मेरो मध्य बानेश्वरस्थित निवासमै भएको थियो।
९ महिना प्रचण्ड, ११ महिना देउवा प्रधानमन्त्री
कार्यदलमा काम गर्ने क्रममा पहिला प्रचण्ड र त्यसपछि देउवाले सरकार चलाउने विषयमा समझदारी भए पनि कार्यकालका विषयमा सहमति हुन सकेन। संसदको अवधिका आधारमा सरकारको अवधि २० महिनाको हुने बुझाई भएको थियो। त्यस अनुसार पहिला प्रचण्ड प्रधानमन्त्री हुने भएपछि कांग्रेसका सदस्यले प्रचण्डले ८ र देउवाले १२ महिना सरकारको नेतृत्व गर्ने प्रस्ताव भयो।

एमाओवादी पक्षले मानेन। त्यसपछि नौ र ११ महिना सरकार संचालन गर्ने सहमति भयो। एमाओवादी अध्यक्षले आगामी माघ १ गतेसम्म सरकारको नेतृत्व पाउने भए त्यसपछि देउवाले। मैले सहमतिमा यस्ता विषय राख्न नमिल्ने भन्दै लिखित सहमति हटाएँ र त्यस विषयमा प्रचण्ड र देउवाबीच सहमति हुने बताएँ।

प्रचण्डले केपी ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव लैजाने प्रस्ताव राखे। त्यस अनुरुप सहमतिमा हस्ताक्षर गर्ने र तत्काल अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने गरी अविश्वासको प्रस्ताव पनि तयार भयो। हस्ताक्षर गरेपछि मात्र सबै विषय सार्वजनिक गर्ने समझदारी पनि भयो।

प्रचण्डले जारी गरे विज्ञप्ति
एमाओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटीकै बैठक डाकेर निर्णय मात्र गरेनन् आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न विज्ञप्ति नै जारी गरिदिए।

बुधबारको स्थायी कमिटी बैठकपछि म प्रचण्ड निवास लाजिम्पाट पुगेँ। स्थायी कमिटी सकेर नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत बालुवाटार पुगे। सत्ता गठबन्धनको संयोजक भएकाले नीति तथा कार्यक्रममा छलफलका लागि प्रचण्ड पनि बालुवाटार जान लाग्दै थिए। म पुगेपछि केहीबेर छलफल भयो।

प्रचण्डले आज रातभर लगाएर सहमति टुङ्गो लगाउनुस्, भोलि बिहान हस्ताक्षर गर्ने अनि संसदमा अविश्वास प्रस्ताव दर्ता गराउने भन्नुभयो। मैले तयार भएकै छ। बिहान सामान्य छलफल गरेर सहमति गरौँला, त्यसपछि संसद जाउँला भन्ने प्रस्ताव राखेँ। हुन्छ भनेर प्रचण्ड बालुवाटारतिर र म निवास तिर लागेँ।

प्रचण्डको यु टर्न
बिहीबार बिहानै प्रचण्डले हामीहरुलाई घरमै बोलाए। सहमतिमा हस्ताक्षर गर्नका लागि तयारीसहित देउवासहितका कांग्रेस नेता प्रचण्ड निवास पुगे। तर दाहालले तत्काल मेरो नेतृत्वमा सरकार गठन गर्न संभव भएनु भने। किन केले बाधा खडा गर्‍योरु मैले सोधेँ।

अलि कम समय भयो। साथीहरु सहमत हुनु भएन। यही मेरा साथीहरुलाई नै मैले सहमत गराउन सकिनँ, उनले भने।

मैले फेरि प्रश्न गरेँ, यो त देउवाजी दिल्ली जानु अघिदेखिको कुरा हो। प्रचण्डले जवाफ फर्काए, हाम्रो अविस्वासको प्रस्तावमा उल्लेख भएको पुरानो नियमावलीको व्यवस्था पनि अहिलेको अन्तरिम नियमावलीले नसमेटेकोले ओलीले सत्ता छोड्दैनन्।

अल्पमतमा परेपछि सत्ता नछोडेर हुन्छरु मैले प्रश्न थपेँ। प्रचण्डले अझ निरासाजनक उत्तर फर्काए, राष्ट्रपति पनि उनकै छ। ओलीले संसद् नै विघटन गर्छन्।

त्यसपछि देउवा रिसाए। हवस् त त्यसो भएु भन्दै देउवा बाहिरिए। सहमति चकनाचुर भयो। प्रचण्ड कसैको दबाबमै परेका हुनुपर्छ।

(नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शुक्रबार पत्रकारहरुसँग भेट गरी कांग्रेस र एमाओवादी गठबन्धनको जग र त्यसका चरणका विषयमा गराएको जानकारीको सम्पादित अंश)  शब्द /तस्विर : पहिलोपोष्ट

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्