Logo
११ बैशाख २०८१, मंगलबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतका कूटनीतिज्ञहरूले नेपालबारे दिए फरक अनि कडा प्रतिक्रिया


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित तथा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको फिर्ता प्रकरणबारे भारतका कूटनीतिज्ञहरूले फरक–फरक प्रतिक्रिया दिएका छन् । कतिपयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको आलोचना गरेका छन् भने कतिपयले नेपालका प्रधानमन्त्री केपी ओलीको भारत नीतिप्रति टिप्पणी गरेको समाचार आजको  नयाँ पत्रिका दैनिकमा छ ।
भारतले औपचारिक रूपमा भने पछिल्ला घटनाक्रमबारे नजिकबाट नियालिरहेकोबाहेक अन्य टिप्पणी गरेको छैन । पूर्वराजदूत एमके भद्रकुमारले भने नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीका अवसरमा २१ मेमा जाने भनिएको कार्यक्रम रद्द र नयाँदिल्लीबाट राजदूत फर्काउने काठमाडौंको निर्णयजस्ता नाटकीय विकासक्रमले नेपाल–भारत सम्बन्धको पछिल्लो घाउ थप गहिरिएको बताएका छन् ।
भारतको संस्थापनको केही पक्षले हिसाब–किताब गरिरहेका हुनसक्छन् कि नेपाललाई कमजोर गराउँदै अस्थिर बनाउँदै जानु भारतका लागि किफायती बाटो भएको उनले बताए । ‘उनीहरूले सम्भवतः यो पनि सोच्छन् कि भारतीय एजेन्सीहरू काठमाडौंको राजनीतिक घोडचढीलाई सजिलै लगानी गरिदिन सक्छन् किनभने उनीहरूसँग निर्वाचित सरकार ढाल्ने र अपमान गर्ने अभ्यासको अनुभवमा पनि कमी छैन’, उनले भनेका छन् ।
यस्तै लेखक रुद्रोणील घोषले गत २५ वैशाखमा टाइम्स अफ इन्डियामा लेखेका छन् – घटनाक्रमहरूको नाटकीय फेरबदलका क्रममा माओवादीहरूले प्रधानमन्त्री केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै थिए । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादीहरूको बैठक परिणाम दिन असफल भयो । यही क्रममा माओवादीहरूले पूर्णतया युटर्न गरे र केही समय सरकारलाई नै निरन्तरता दिने बताए ।
सरकार ढाल्न भारतले कोसिस गरेको प्रधानमन्त्री ओलीको बुझाइका कारण नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको पूर्वनिर्धारित भारत भ्रमण रद्द भयो । यसमा राजदूत दीपकुमार उपाध्याय सहमत थिएनन् र उनले ओलीलाई टेलिफोनमा यो कुरा भने । त्यसपछि नेपालको क्याबिनेटले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्‍यो । यो पूरै इपिसोडले नेपाल–भारत सम्बन्धमा ठूलो अविश्वास रहेको स्पष्ट हुन्छ, जुन भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनाएर सुरु भएको थियो ।
यस्तै प्रोफेसर एसडी मुनीले २५ वैशाखमा भनेको कुरा द क्याच न्युजमा उल्लेख गरिएको छ– पछिल्ला घटनामा नयाँदिल्ली धेरै नै दुःखी छ । नेपाल सरकारले भारतसँग सम्बन्धको विषयमा सावधानी नअपनाइरहेको देख्दा म धेरै नै आश्चर्यचकित छु । अर्कातिर भारत नेपालमा के चाहन्छ भन्ने पनि निश्चित छैन ।
नेपालको संविधानमा भारतको धारणा, विदेश सचिव एस जयशंकरले संविधान निर्माणको उत्तराद्र्धमा गरेको नेपाल भ्रमण, मधेसीहरूले गरेको नाकाबन्दीलाई सहयोग गरेकोलगायतका घटनाहरूले सम्बन्धको उतारचढाब देखाइरहेको छ । अहिले मधेसीहरू पनि भारतसँग खुसी छैनन् किनभने अहिले मधेसीहरूलाई भारतले छाडेको छ ।
भारतका पूर्वविदेशसचिव कनवाल सिवलले भनेको कुरा द क्याच न्युज यसरी उल्लेख गरिएको छ– केही नहुँदा पनि नेपालले भारतीय हात देख्छ । राष्ट्रपतिलाई भारत भ्रमण नगर्न दबाब दिएर र राजदूतलाई बर्खास्त गरेर छिमेकी मुलुक (नेपाल)ले तनावको परिस्थिति सिर्जना गरिरहेको छ । नेपाल सरकार समस्यामा रहेको भए पनि राष्ट्रपतिजस्तो उच्च व्यक्तिको भ्रमण रोकिनु हुँदैनथ्यो ।

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्