Logo
१५ चैत्र २०८०, बिहीबार
(May 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व नर्स दिवसः सेवा मात्रै हो, मेवा खोई कता हो कता !

न्यूज अप्रेशन, बुटवल । नर्सिङ्ग एउटा सेवामुलक पेशा हो, यस क्षेत्रमा चरम श्रम शोषण छ, योग्यता र दक्षता अनुरुपको काम र दाम पाईंदैन् । बिभिन्न रोगहरुसँग जोखिम मोलेर काम गर्नु पर्ने भएपनि स्वास्थ्य बिमा छैन, पहिलेको तुलनामा सुबिधा थप्नु त कताहो कता झन कटौती गरिँदै छ । 
नयाँ दरबन्दी छैन, बार्षिक उत्पादन ५ हजार भन्दा बढि छ तर खपत बार्षिक १ सय भन्दा बढि छैन । नयाँले अवसर पाएपनि पुराना जहाँको तहीं, निजिका काम छ दाम छैन, सरकारीमा काम छैन तर दाम छ । यि माथि उल्लेखित कुराहरु नर्सिङ्ग पेशामा आवद्ध÷सम्बद्ध ब्यक्ति र आफन्तहरुबाट सुनिने कथनहरु हुन ।  
पहिले पहिले हाम्रो पहाडतिर सुन्ने गरेको एउटा उखान थियो— छोरा विग्रे कमर्स, छोरी विग्रे नर्स । काम गर्ने समयको ठेगान नहुने, घर छोडेर बाहिर जानुपर्ने, कहिले कता कहिले कता सरुवा भैरहने, बिहेबारी हुने समयको निश्चित पनि नहुने लगाएतका समस्याले यस्तो उखान बनाईएको होला ।
पहिले नेपालमा उद्योग धन्दाहरुको बिकास नभएको अवस्थामा कमर्स पढेकाले जागिर पाउने संभावना कम थियो भने अस्पतालहरुको संख्या र दरबन्दी पनि कम भएकाले नर्स अध्ययन गरेकाले पनि जागिर पाउन गाह्रो थियो । २०४६ सालको परिवर्तनसँगै उद्योग ब्यापारको क्षेत्रमा भएको बिकास र निजि क्षेत्रका बैंकहरुको स्थापनाले कमर्स पढेकाहरुले अवसर पाउन थाले । 
यस्तै सरकारी अस्पतालहरुको स्तरउन्नती तथा निजि अस्पतालहरुको बिकाससँगै नर्स अध्ययन गरेकाहरुले पनि जागिरको अवसर पाउन थाले । अहिले रुपन्देही जिल्लामा करिब २ दर्जन भन्दा बढी निजि अस्पताल, नसिंङ्ग होम, स्वास्थ्य क्लिनिक र नर्सिङ्ग कलेजहरु लगाएत संचालनमा आएका छन् । 
यि स्वास्थ्य संस्थाहरुमा झण्डै ५ सयजना नर्स, स्टाफ नर्स, बि.एस्सी नर्सिङ्ग लगाएतका जनशक्ति कार्यरत रहेका छन भने करिब २ हजार छात्राहरुले अनमी, स्टाफ नर्स, बि.एस्सी नर्सिङ्ग, बि.एन.का बिभिन्न तहमा अध्ययन गरिरहेका छन् ।
सरकारी अस्पतालहरुमा काम गर्ने नर्सहरुको तुलनामा निजी अस्पताल तथा क्लिनिकमा काम गर्नेहरु निकै मारमा परेका छन् । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आवद्ध भएपनि उनिहरुको अहिलेसम्म स्वास्थ्य विमा हुन सकेको छैन । जोखिम मोलेर काम गर्नु पर्ने तर आफुनै सुरक्षित भएको महशुस गर्न नसकेको गुनासो उनिहरुको छ । 
नर्सहरु भन्छन—निति निर्माण गर्ने तहमा बस्नेहरुले नर्सहरुको दरबन्दी संख्या बढाएर मात्र नर्सिङ्ग पेशाको सम्मान गर्न सकिन्छ, नर्सिङ्ग क्षेत्रका समस्या समाधानका लागि आवाज बुलन्द गर्न सकिन्छ भन्ने मान्यता हामी नर्सहरुमा छ । 
समाजमा अझपनि पितृ सत्तात्मक चरित्र भएकाले पुरुषहरुको आवाज सुनिने तर हामी नर्सहरुको आवाज सम्बन्धित पक्षले मनन् नगर्दा समस्या घट्नुको साटो बढेको छ । बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा विगत ३६ वर्षदेखि कार्यरत रहेकी हालका नर्सिङ्ग इन्चार्ज प्रभा ज्ञवालीका अनुसार अस्पतालमा दरबन्दीको कमी भएका कारण धेरैजसो अस्थायी, करार र भोलुन्टियरमा कार्यरत छन । 
अस्पतालमा नर्सले दिने सेवा र सुविधाहरुमा समय समयमा कुरा उठ्ने गरेको भएपनि उनिहरुको बृत्ति बिकासमा कसैको ध्यान पुगेको छैन् । लुम्बिनी अन्चल अस्पताल जस्तो ठुलो अस्पताल कार्यरत रहेका ७० जना बिभिन्न तहका नर्सहरु मध्ये ३१ जना मात्र विभिन्न तहमा गरि दरवन्दिमा कार्यरत रहेका छन । नर्सहरु भन्छन—सरकारी स्तरबाट नै नर्सको दरवन्दी खुलाउन निकै कन्जुसाई गरेको पाइन्छ ।
प्राइभेट क्षेत्रबाट संचालित अस्पतालहरुमा नर्सहरु श्रम शोषण लगाएतका बिभिन्न समस्यामा पर्ने गरेको गुनासोहरु प्रसस्त सुनिन्छन । नेपालमा रोजगार नपाएपछि बिदेशीनेको लर्को पनि लामै लाग्न थालेको छ । लाखौं रुपैयाँ खर्च गरेर बर्षौँ लगाएर अध्ययन गरि पास गरेको भएपनि नर्सहरुले दिनरात नभनी काम गर्नुपर्ने,  पुरा सेवा गरेपनि राम्रो तलब पनि नपाउने, मासिक ४÷५ हजारमा काम गर्नुपन, त्योपनि समयमा नपाईने लगाएतका कारण आजभोली विदेश पलायन हुनेहरुको संख्या बढ्दै गएको हो ।
बिगत लामो समयदेखि नर्सिङ्ग पेशालाई मर्यादित र व्यवस्थित गर्नुपर्ने माग सबैतिरबाट उठ्न थालेको भएपनि कार्यस्थलबाट उनिहरु सम्मानित हुन नसकेको गुनासो पनि आइरहेको छ । नर्सिङ्ग ईन्चार्ज ज्ञवालीका अनुसार नर्सहरु निकै शोषण र दमनमा छन । 
बर्षौं काम गरेका नर्सहरुको पदोन्नतीको ब्यबस्था नै छैन । जिन्दगीभर नर्स भएर काम गरेपनि उसको तह त्यहीं हो । नर्सिङ्ग क्षेत्रमा पनि अन्य पेशामा जस्तै पदोन्नतीको ब्यबस्था गरिनु पर्ने, उच्च शिक्षा हासिल गर्ने मौका प्रदान गरिनु पर्ने लगाएतको माग ज्ञवालीको छ । 
यसका लागि सरकारी एवं निति निर्माण तहबाट नै काम हुनु पर्दछ । नर्सिङ्ग क्षेत्रको बिकास, उन्नती, सम्मान बढाउँदै मर्यादित र ब्यबबस्थित बनाउन नर्सिङ्ग डिभिजन कार्यालय छुटै हुनु पर्ने, अस्पताहरुमा दरबन्दी बढाउनु पर्ने, काम अनुसारको दाम दिनु पर्ने, तव मात्र केहि हदसम्म व्यवस्थित गर्न सकिने धारणा नर्सहरुको छ । 
नर्सहरुका अनुसार राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रोलाई निरुत्साहित गर्ने व्यवस्था हुनु पर्दछ । सिनेरेटीको हिसावले पनि पुरानालाई सम्मान गर्नुपर्ने उनिहरुको क्षमताको कदर गर्नु पर्दछ । पदोनत्ती गर्नका लागि तालिमको व्यवस्था गर्नु पर्ने बताउदै उनिहरुले अहिले बन्द भएको औषधी उपचार खर्च समेत कटौती भएकोमा गम्भिर आपत्ति जनाएका छन् ।
अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा यसबर्ष पनि मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाइँदैछ । आईसीएनले सन् १९६३ देखि यो दिवश मनाउन थालेको हो । आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । 
उनले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज समेत संचालन गरेकी थिइन् । यसै अवसरलाई आधुनिक र व्यवसायिक नर्सिङ सेवाको नयाँ मोड मानिएको छ । फ्लोरेन्सको जन्म सन् १८२० मा ब्रिटेनको एक सम्पन्न परिवारमा भएको थियो । 
उनलाई ‘लेडि विथ दि ल्याम्प’ भनिएको छ । १९औं सताब्दी मध्यतिर युरोपियन शक्ति राष्ट्रहरुबीच तिव्र टकराव भयो । सन् १८५३ देखि ५६ सम्म चलेको क्राइमेन युद्धका क्रममा धेरै नागरिकहरु घाइते भए । फ्लोरेन्सले ती घाइतेहरुको उपचारमा महत्वपूर्ण योगदान पुर्याएकी थिइन् । 
उनले युद्धका समयमा पनि रातारात घाइतेहरुको उपचार गरिन् । उनी राती लालटिन बोकेर घाइतेहरुको उपचारमा निस्कने हुँदा ‘लेडि विथ दि ल्याम्प’ भनिएको थियो । नेपालमा विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्स सहित अन्य स्वास्थ्यकर्मीहरुको सहभागीतामा अभियानमुलक कार्यक्रमहरु गरी यो दिवस मनाइँदैछ । 
विश्व नर्स दिवसका अवसरमा बाल एवं मातृ मृत्युदरको न्यूनिकरण जस्ता महत्वपूर्ण सहश्राब्दी विकास लक्ष्यहरु पछ्याउन प्रेरणा मिल्ने कार्यक्रम गरिन्छन् । नर्सिङ पेशालाई आकर्षक पेशा पनि भनिएको छ । महिलाहरुका लागि नर्सिङ पेशा आकर्षक करियर बनेको छ । त्यहि भएर नर्सिङ सकेर बिदेशिन चाहनेहरुको लर्को निकै देखिन्छ । 
नेपालभित्र भने नर्सिङ पेशा शहर केन्द्रीत बनेको पाइन्छ । नर्सिङ पेशा अहिले चिकित्सकीय सेवाको अभिन्न अंग बनेको छ । आम नागरिक र समुदायसँग नर्सहरुको सिधै सम्बन्ध हुने भएकाले स्वास्थ्य उपचारका शिलशिलामा नर्सहरुको भूमिकालाई महत्वपूर्ण मानिन्छ । 
विरामीहरुको उपचारका क्रममा नर्सको प्रत्यक्ष योगदान रहेको हुन्छ । नेपालको सन्दर्भमा नर्सिङ पेशामा संलग्न केहि व्यक्तिहरुको व्यवहारका कारण अलिक कठोर भएको टिप्पणी पनि हुने गरेको छ । नर्सहरुबाट बिरामी र उनीहरुका आफन्तहरुप्रति खरो व्यवहार हुने गरेको गुनासो पनि यदाकदा सुनिन्छ ।
पेशासँगै व्यवहारमा पनि परिवर्तनको अपेक्षा नागरिक स्तरबाट गरिएको छ । सरकारी तथ्यांक अनुसार नेपालमा अहिले कार्यरत नर्सहरुको संख्या ४० हजारको हाराहारीमा रहेको छ । यो संख्याको एक प्रतिशतमात्रै पुरुष नर्सहरु पनि छन् । 
नेपाल भित्रका नर्सिङ कलेज तथा मेडिकल कलेजहरुबाट बर्षेनी पाँच हजारको संख्यामा नर्सहरु उत्पादन हुँदै आएका छन् । तर बर्षमा मुस्किलले १ सय जनाले सरकारी दरबन्दीमा जागिर खान्छन । यसरी यति ठुलो संख्यामा नर्सहरु उत्पादन हुँदै आए पनि दक्षताका आधारमा नर्सहरुले रोजगारी पाएका छैनन् ।
निश्चित पाठ्यक्रम र अभ्यासपछि मात्रै नर्सिङ पेशाका लागि उत्पादित जनशक्ति योग्य मानिन्छ । नेपालमा नर्सिङ कोर्स तीन वर्षको रहेको छ । पढाई पुरा गरेका पेशाकर्मीहरुले नर्सिङ काउन्सिलबाट अनुमति लिएर मात्रै सेवा प्रवेश गर्नु पर्दछ । 
नेपाल जस्तो बिकासोन्मुख मुलुकमा नर्सहरुको भुमिका निकै महत्वपुर्ण हुन सक्ने धारणा स्वास्थ्य क्षेत्रका बुद्धिजिवीहरुको छ । नेपालमा उत्पादित नर्सिङ्ग जनशक्तिलाई उचित ब्यबस्थापन गर्न सकेमा नेपालको स्वास्थ्य क्षेत्रमा पनि महत्वपुर्ण टेवा पुग्ने बिश्वास गरिएको छ । पत्रकार हरिश ढकालको सहयोगमा 

प्रकाशित मिति: May 11, 2016

प्रतिक्रिया दिनुहोस्