Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी देखियो राजेन्द्र महतो र उपेन्द्र यादवबीच शक्ति प्रदर्शनको प्रतिष्पर्द्धा


उमेशराज मेहता, काठमाण्डौ । संघीय गठबन्धन भित्रको मतभेद आजको सिंहदरबारमा पनि प्रष्टै देखियो। गठबन्धन भित्रका असंतुष्ट मधेशी मोर्चाका नेताहरू एकै ठाऊंमा बसेर उपेन्द्र यादवप्रतिको आफ्नो विरोध र असंतुष्टि जाहेर गरेका थिए। सिंहदरबार घेरावको कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले माईतीघर मण्डलामा घेराबन्दीको नेतृत्व गर्दै थिए भने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हनुमानस्थानमा घेराबन्दीको मोर्चा सम्भाल्दै थिए।
संघीय गठबन्धनको बैठकमा सबै शीर्ष नेताहरूलाई माईतीघर मण्डलामा जम्मा हुने निर्णय भएको थियो। तर अन्तिम समयमा आएर उपेन्द्र यादवले मधेशी मोर्चाका कुनै पनि नेतालाई नसोधी एक्लौटी निर्णय गर्दै आफू मात्रै माईतीघर मण्डलामा बस्ने भनेर प्रचार गराए। आफ्नो पार्टीलाई राष्ट्रीय पार्टी र आफूलाई राष्ट्रीय नेता बनाउने दांउमा रहेका उपेन्द्र यादवले आफू संगै मधेशी मोर्चाका नेताहरू संगै बसे त्यसले राष्ट्रीय नेताको छवि नआउने र आफू पनि मधेशी नेतामा मात्र सीमित रहने भयले सो निर्णय गरेको संसफोरम नेपालमा यादव निकट एक नेताले जानकारी दिए। त्यही भएर उपेन्द्र यादवले मधेशी मोर्चामा आबद्ध दल बाहेक अन्य सबै आदिवासी जनजाति संगठनहरूलाई आफू संगै राख्ने र मधेशी नाम र अनुहार भएका नेताहरू लाई टाढा राख्ने योजना बनाएका थिए। 
उपेन्द्र यादवको सो चाल थाहा पाए पछि मोर्चामा उनका कट्टर विरोधी छवि बनाएका सदभावना अध्यक्ष राजेन्द्र महतोले मधेशी मोर्चाका अन्य नेता सहित आफूहरू हनुमानस्थान तिर बाट सिंहदरबार घेर्ने योजना बनाए। काठमाण्डूमा आफ्नो प्रभाव रहेका आदिवासी जनजाति, राई लिम्बू, किरांती आदि संस्थाहरूलाई उपेन्द्र यादवले माईतीघर मण्डलामा आफू संगै बस्न भने पछि महतोले सबै मधेशी मोर्चाका नेतालाई लिएर आफ्नै नेतृत्वमा हनुमानस्थान तिरबाट अघि बढ्ने निर्णयमा पुगे। 
आज बिहानै देखि गरिएको सिंहदरबार घेरावमा उपेन्द्र यादव एक्लै माईतीघर मण्डलामा थिए भने राजेन्द्र महतोको नेतृत्वमा मोर्चाका सबै शीर्ष नेता हनुमानस्थानमा थिए। माईतीघर मण्डलामा उपेन्द्र यादवले आफ्नो पार्टीको शक्ति प्रदर्शन गरे भने हनुमानस्थानमा महतोले मधेशी मोर्चामा आफ्नो वर्चस्व रहेको देखाए।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्