Logo
१३ बैशाख २०८१, बिहीबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रले भन्यो एतिहासिक, राजेन्द्रले दिए ओलीलाई चुनौती (दोस्रो दिनको डायरी)


सिंहदरवार घेराउको दोस्रो दिन डायरी

न्यूज अप्रेशन, काठमाडौं । मधेसी र आदीबासी जनजातीदलहरु सम्मिलित संघीय गठबन्धनले सोमवार दोस्रो दिन पनि सिंहदरबार घेराउ कार्यक्रक्रलाई निरन्तरता दिएको छ । तर आइतबारको तुलनामा सोमवार सघिय गठबन्धनको आन्दोलन बेला–बेलामा तनावग्रस्त बन्यो । 
आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि दुई पटक प्रहरीसँग झडप भयो भने पटक–पटक दुई पक्षबीच घम्साघम्सी हुन पुग्यो । प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार आन्दोलनकारी घाइते भए भने आन्दोलनकारीले ‘जिभिलान्ते’ को आरोप लगाउँदै दुई सर्वसाधारणमाथि समेत कुटपीट गरे । सघिय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमका कारण उपत्यकाको ट्राफिक व्यवस्था दिनभर नै अस्तब्यस्त बनेको थियो ।
मगलवार बालुवाटार घेर्ने
यता, संघीय गठबन्धनले मगलवार  सिंहदरवार घेराउ कार्यक्रमलाई स्थगित गर्दे प्रधानमन्त्रिको सरकारी निवास वालुवाटार घेराऊ गर्ने भएको छ । गठबन्धनले दुई दिनको सिंहदरबार घेराउपछि वालुवाटार घेराउ गर्ने निर्णय गरेको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए ।
सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा धर्ना प्रदर्शन गरेको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने कार्यक्रम तय भएको यादवले बताए । यादवका अनुसार गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार तयारीमा जुटेका हुन । माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास वालुवाटार घेराऊ गर्न लागिएको गठबन्धनले जनाएको छ ।  
सिंहदरबार घेराउ ऐतिहासिकः उपेन्द्र यादव
यसैबीच संघीय गठबन्धन संयोजक उपेन्द्र यादवले सिंहदरबार घेराउ आन्दोलन ऐतिहासिक भएको दावी गरेका छन । ‘हामी तराईबाट आन्दोलन सुरु गरेर अहिले सिंहदरवार आइपुगेका छौं, भोली बालुवाटार घेछौं राजधानी जस्तो ठाउँमा हाम्रो यस्तो बलियो उपस्थिती हुनु नै ऐतिहासिक भएको बताए । ‘सिंहदरबार घेरेर आन्दोलनको नयाँ इतिहास सुरु भएको छ , यहाँ मधेसका जनता मात्रै छैनन् ताम्सालिङ छ, किराँत छ, मगरात छ, तमुवान छ । उहाँहरु सबैको आ–आफ्नै मागहरु छन् ।’ यादवले कमाण्डरसग भने ‘ती मागहरु मिलाउन सके मात्रै संघीय संरचना पूरा हुन सक्छ । त्यसैले सिंहदरवार घेराउ आन्दोलनको ऐतिहासिक उपलब्धी हो ।’
भोली बालुवाटार घेर्छौं, हिम्मत भए कार्यवाही गरोस–महतो
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित सिंहदरबार घेराव कार्यक्रमलाई तमासा भन्दै कार्यावाही गर्ने चेतावनी दिए पछि मोर्चाका नेताहरूले प्रम ओलीको बयान प्रति कडा आपत्ति जनाएका छन् । सिंहदरबार दक्षिणी गेट तिर धर्नाको नेतृत्व गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनकारी विरूद्ध कार्यवाही गर्न चुनौती दिएका छन् ।
प्रम ओली प्रति निकै आक्रोशित बनेका महतोले मधेशी जनजाति लगायतको आन्दोलनलाई नहेप्न आग्रह गर्दै आफूहरूको मांग प्रति गम्भीरता देखाउन अपील गरे । ‘प्रधानमन्त्रीले हाम्रो आन्दोलनलाई तमासा भन्ने हो, के ठान्नु हुन्छ ओलीजी आफूलाई ? आक्रोशित हुंदै महतोले संचारकर्मीलाई भने ‘सारा पावर उनी संगै छ, अनि के–को घुर्की देखाएको होला ? हिम्मत छ भने आन्दोलनकारी माथि कर्यवाही गरेर देखाउन्न ।’
महतोले भने– ‘ओलीले पहिला पनि मधेशी जनजाति आन्दोलनको मजाक उडाएका थिए,  पछिल्लो पटक मधेशी मोर्चाद्वारा गरिएको मानव शृंखलालाई माखे श्रृंखला भन्ने ओली अहिले हाम्रो शान्तिपूर्ण प्रदर्शनलाई तमासा भनेका छन् ।’ महतोले भने ‘प्रधानमन्त्रीलाई तमासा हेर्न शौख छ भने भोलि हामी बालुवाटारमा यो तमासा देखाउने छौं र हिम्मत भए कार्यवाही गरेर देखाओस’ ।
आन्दोलनमा सहभागी बेलायती नागरिक पक्राउ
यसैबीच, सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले सोमवार  पक्राउ गरेको छ । काठमाण्डौ प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन् । ती बेलायतीले आफनो राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यसअघि केही दिनअघि मधेशबारे अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिएको थियो । सोही आधारमा ती नागरिकले नेपाल छाडेका थिए । सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेत सहभागी रहेको भेटिएको थियो ।
सत्य र इमानदारीको उदाहरण : फेला परेका ७ लाखको चेक फिर्ता
यसैबीच, सूचना प्रविधि विशेषज्ञ सन्तोष साह सत्य र इमानदारीको उदाहरण बनेका छन् । सिँहदरबार घेरावको कार्यक्रम अवलोकन गर्न पुगेका साहले हनुमानस्थान क्षेत्रमा बाटोमा फेला पारेको सात लाख रुपियाँको चेक प्रहरीको रोहबरमा सम्बन्धित व्यक्तिलाई फर्काएका छन् ।
साहले बिजुलीबजारस्थित भाटभटेनी अगाडि आन्दोलनकारीहरुको बाक्लो भिड भएको स्थानमा सो चेक फेला पारेका थिए । शिवश्री हाइड्रोपावर प्रालिले जारी गरेको सिटिजन बैंक कमलादी शाखाको सो चेक सुब्बा तामाङको नाउँमा रहेको छ । चेक फेला परेपछि साहले तत्काल आन्दोलनरत सदभावना महासचिव मनीष सुमनलाई जानकारी गराएर माइकिङमार्फत चेक लिन सार्वजनिक आव्हान गर्न लगाएका थिए । माइकिङपछि तत्काल चेक लिन आएका हाइड्रोपावर प्रालिका कर्मचारी टेकनाथ ढकालसँग कम्पनीको समेत परिचयपत्र नरहेपछि सम्बन्धित व्यक्तिलाई नै दिने गरी आन्दोलनकारीहरुलाई घेरा हालेर बसेका प्रहरीलाई जिम्मा लगाइएको थियो ।
सो चेक बानेश्वर प्रहरी बृत्तका ईन्चार्ज प्रहरी नायब उपरीक्षक नारायण चिमौरियालाई सदभावना महासचिव मनीष सुमनले जिम्मा लगाएका थिए । चेक फेला पारेका आइटी प्रोफेसनल कम्प्युटर ईन्जिनीयर साहले उक्त चेक संयोगले आफ्नो हातमा परेको र त्यसलाई सम्बन्धित व्यक्ति चिन्तित भइरहेको अनुमान गर्दै आफूले आन्दोलनकारीमार्फत तत्काल खोजीनीति गर्न लगाएको बताए । 

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्