Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशीलाई इण्डियण भन्न काहाँ पाइन्छ र..! गायक लाभले भने सोच बदल्नुपर्छ ( अन्तरवर्ता )

दाउरा सुरुवाल र टोपी लाए छैन भन्दैमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ ? एउटा समुदायको पहिरन, भाषा र सँस्कृतिमा नेपालीपना खोज्ने देशको राज्यसत्तासँग उपेक्षा, बहिष्करण र सीमान्तीकरणमा पर्दैआएका नेपालकै विभिन्न समुदायको प्रश्न हो यो । 
खासगरी नेपाली राष्ट्रियताको अनुभूति गर्न नपाएका मधेशी समुदायले यस्तो प्रश्नको उत्तर अहिलेसम्म पाएका छैनन् । साँच्चिकैभन्दा मधेश आन्दोलन र मधेशी जनताको वर्षौदेखिको विद्रोह पनि आफूलाई नेपालीकै रुपमा स्थापित गराउने मेलो हो । मधेशीको देश खोज्ने रोदनलाई आफ्ना अत्यन्त गम्भीर, सटिक र प्रभावोत्पादक शब्द तथा मिठो एवं सुरिलो गायनले जीवन्त बनाएका डा.लाभ अगाडि थप्छन्,–‘म त नेपालको माया गर्ने मान्छे, मलाई नेपालको माया चाहिन्छ ।’ 
राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य डा।आभाष लाभको यस गीतले आन्दोलनको आवश्यकता र औचित्यलाई मात्र भरथेग गरेन कि आन्दोलनप्रति वेपरवाह वा भ्रामक धारणा राख्दैआएका पहाडी समुदायलाई समेत द्रवित र संवेदनशील बनायो । उनको गीतको माधुर्य र त्यसभित्रको मार्मिक सन्देश नै थियो जसले आन्दोलनलाई उर्जा प्रदान गर्यो र मधेशइतर समुदायलाई आन्दोलनप्रति एक्यबद्धता जनाउन विवश तुल्यायो । यस्तो गीतका शब्द र स्वरशीली डा.आभाषसँग गीतको अन्त्र्य र मधेश आन्दोलनका बारेमा केन्द्रित रहेर सञ्चारक नेपाल डटकमले कुरा गरेको छ । 
यो गीत गाउनुअघि डा.आभाष देशको सामाजिक विभाजनको यथार्थ बताइरहँदा निकै भावुक बने र झण्डै भक्कानिए । उनीसँग गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरेका छौं ।
मधेशीले कस्तो नेपाललाई माया गरेका छन् त ?
राष्ट्रको परिकल्पनाका चार आधारमध्ये जनसँख्यालाई एउटा प्रमुख आधार मानिन्छ । देशको भूभागमा भएका राष्ट्रियताहरु जनसँख्याका प्रमुख अवयव हुन् । 
प्रत्येक राष्ट्रियताहरुका बीच प्रेम, सौहाद्र र भाइचारा भएमा एउटा आदर्श राष्ट्रको निर्माण हुन्छ । मधेशीले त्यस्तै नेपाललाई माया गर्छन् ।
मधेशीले यस्तो राष्ट्र नपाएकै हुन् त ?
अहिलेको अवस्थामा मधेशीको राष्ट्रियतामाथि शङ्का गर्नेहरुको सँख्या पनि ठूलै छ । देशका शासक समुदायले मधेशी जनतालाई अविश्वास गर्ने स्थिति छैन भन्ने कुरा भन्न सकिँदैन । त्यसैले मौजूदा राज्यसंरचना र राज्यसत्ताको व्यवहार मधेशमैत्री छैन र मधेशीहरुलाई आफू पनि नागरिक भएको राष्ट्रको बोध भएको छैन । यसले अन्ततः राष्ट्रलाई नै कमजोर बनाउने हो ।
मधेशीहरुलाई नागरिक बन्न चैँ कसले दिएको छैन ?
कसैलाई नागरिकका रुपमा स्वीकार गर्दा कोही अनागरिक बन्ने होइनन् । यो धरती सबैको हो । सबैजना नेपाली आमाका सपुत हुन् । त्यसैले कोही साखै र पराई हुन सक्दैन । र, यस्तो बनाउन पनि सकिँदैन । तर यो सत्ताको खेल नै हो जसले एउटा भ्रामक स्थितिको सिर्जना गरेको छ । सधैँभरि शासनमा एकाधिकार र वर्चस्व चाहनेहरुले परम्परागत राज्यसत्तालाई निरन्तरता दिन नक्कली राष्ट्रवादको आडमा मधेशी समुदायलाई ‘राष्ट्रियता’ नभएको समुदायका रुपमा हेर्ने स्थिति बनाउने षड्यन्त्र गर्दैछन् । तर जसरी राजनीतिक सुझबुझ सामान्य जनताको तहमा पनि पसारिँदैगएको छ , यसले यस्तो दूर्भाग्यपूर्ण परिस्थिति धेरै लामो समयसम्म रहिरहँदैन । एकअर्काको अस्तित्व, मर्यादा र प्रतिष्ठालाई स्वीकार गरेर एकढिक्का भएर अघि बढ्न सके मात्र सबैको भलाइ हुने सन्देश मैले मेरो गीतमार्फत पनि दिएको छु ।
यो गीत लेखन गर्ने प्रेरणा कस्तो परिस्थितिको उपज हो ?
मधेशी समुदायको वास्तविक पीडा र फैलाइएको भ्रमबीच टाढाटाढासम्म सम्बन्ध छैन । तसर्थ देशभक्त मधेशीहरुको दुःख र दर्दलाई पस्किने प्रयास नै गीत हो । वस्तुतः मधेशी समुदायका व्यक्ति भएको नाताले यो मेरो अनुभव र अनुभूतिको संसारको एउटा हिस्साको रुपमा रहँदैआएको थियो । जसलाई म अन्य समुदायहरुसँग साझा गर्न चाहेँ । र, अहिले यस गीतको प्रभाव र परिणामले अन्य समुदाय पनि मधेशीको पीडासँग नजिक भएको र समानुभूति व्यक्त गरिरहेको स्थिति देख्ता मलाई औधि खुशी लागेको छ । मलाई लाग्छ, देशको विभेदपूर्ण तस्बीर नै गीत लेखनको प्रेरक बनेको छ ।
अहिलेको आन्दोलनलाई गैरमधेशी समुदायले त वेफ्वाँक र जनतालाई दुःख दिने आन्दोलनको रुपमा लिएको छ नि ?
यो गलत कुरो हो । अधिकारको आन्दोलनले जनतालाई दुःख दिँदैन, बरु जनता दुःख र पीडा भोग्न आफैँ तयार हुन्छन् । जनतालाई थाहा छ कि त्यागबिना अधिकारको प्राप्ति सम्भव छैन ।
आन्दोलनलाई सरकारले सुनेको छैन र आन्दोलनकारी दलहरुले पनि राम्ररी संयोजन गर्न सकेको छैन । यस्तो स्थितिमा आन्दोलन निर्णायक हुने सम्भावना कतिको हेर्नुहुन्छ ?
आन्दोलन आफैँमा निरन्तर भइरहने अर्थात सतत् चल्ने प्रक्रियासँग जोडिएको हुन्छ । त्यसैले आन्दोलनले ठामका ठाम निष्कर्षमा पुगिहाल्ने अपेक्षा गर्नु हुँदैैन । मुक्तिसङ्घर्ष चानचुने कुरा होइन । यसले समय लिन्छ । तर सत्य भने कहिल्यै पराजित हुँदैन । साभार : संचारक नेपाल 

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्