Logo
१३ बैशाख २०८१, बिहीबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, यूनिटी जस्तै अर्को ठूलो ठगी धन्दा ! भारतमा सञ्जाल, नेपालमा कार्यालय


काठमाडौं । ठगीको सञ्जाल यूनिटी प्रकरण सेलाउन नपाउँदै नेपालमा यूनिटीलाई  माथ  खुवाउने गरी काठमाडौंमा अर्को नेटवर्किङको धन्दा शुरु भएको छ । सामाखुसीमा कान्तिपुर ओभरसिज सञ्चालन गर्दै आएका प्रेमबहादुर तामाङले हजारौं नेपालीहरूको करोडौँ रकम नेटवर्किङमार्फत झ्वाम पारिदिएका हुन् । 
तामाङ कार्यकारी निर्देशक रहेको वीन वीन टे«ड मार्ट प्रालि र उनको समूहविरुद्ध उजुरी पर्न थालिसकेको छ । तामाङले सर्वसाधारण नेपालीहरूको १४ खर्ब रकम नेटवर्किङको व्यवासयमार्फत खाइदिएको पीडितहरूको आरोप छ । तामाङको टोलीमा लामै सूची छ ।
यो टोलीले नयाँ–नयाँ व्यक्तिलाई नेटवर्किङमा लगाएर प्रतिव्यक्ति भारतीय रुपियाँ दुई लाख उठाउँदै आएको छ । बिगत दश वर्षदेखि तामाङसहितको समूहले भारतको बनारसस्थित चौदमारी चौकमा केन्द्रीय कार्यालय खोलेर पश्चिम नेपाल र काठमाडौं उपत्यकालाई नेटवर्किङको बेस बनाएको छ ।
तामाङको नेटवर्किङ व्यवसायाई पोखराकी गीता सापकोटा, काभ्रेका जितमान मगर, गोर्खाका पर्शुराम भट्ट, दार्चुलाका भुपेन्द्र सिंह धामी, दाङका नारायण भण्डारी, गोरखाका राज गुरुङ, कपिलवस्तुका योगराज उपाध्याय, काभ्रेका विनोद गौतम, दाङका मिलन चौधरी, उदयपुरकी पूजा माझी, उदयपुरका काशिराम माझी, सिन्धुपाल्चोकका सुदर्शन थापाले चलाइ रहेका छन् ।
तामाङले नेटवर्किङ व्यवसायबाट मासिक ७० लाखसम्म आफ्नो कमिशन रकम बुझ्ने गरेको स्रोतले जनाएको छ । उच्च राजनीतिक पहुँच र प्रहरी प्रशासनमा राम्रो पकड बनाएका म्यानपावर व्यवसायी तामाङ र उनको टिमविरुद्ध उजुरी पर्न सुरू भइसकेको छ । नेटवर्किङ व्यवासयमा सीमित व्यक्तिलाई मात्रै फाइदा हुन्छ । अरुको पैसा डुब्ने निश्चित हुन्छ ।यो समूहले सुरुमा प्रतिव्यक्ति भारतीय रुपियाँ दुई लाख लिने गर्छ ।
आकर्षक लोभ देखाएर लिइने यो रकमसँग प्रत्येक व्यक्तिले तीन जना सदस्य बनाउनु पर्ने हुन्छ । तीन जना सदस्य बनाएपछि दुई लाखबाट २५ हजार तुरुन्त फिर्ता पनि हुन्छ । माम्र्युज, प्रि–माम्र्याजुज जस्ता पद रहेको वीन वीन ट्रेड मार्क प्रालिका नाममा हुँदै आएको नेटवर्किङका सदस्यलाई कार्ड समेत दिने गरिएको छ ।   रकम लेनदेनमा कुरा नमिलेपछि वीन वीन नेटवर्किङ विभाजन भएर दुई टुक्रा भएको छ । 
सोही समूहका विवेक तिमल्सिनाले ‘अपेरी’ नामक संस्था बनाएर नेपालमा नेटवर्किङको काम गर्दै आएका छन् । अपेरीको कार्यालय पनि भारतको उत्तराखण्डमा छ ।तिमल्सिनाले पनि करोडौँ रुपियाँ उठाइ सकेका छन् । मिलन चौधरीले पनि उत्तर प्रदेशको गोरखपुरमा कार्यालय स्थापना गरेर नेपालमा नेटवर्किङ व्यवसाय चलाउँदै आएका छन् । नेटवर्किङका नाममा बुटवलका रोहित श्रेष्ठले पनि करोडौं रकम खाइदिएका छन् । 
आफ्नो पैसा फिर्ता माग्दा श्रेष्ठले विभिन्न धम्की दिएर सदस्यहरूलाई त्रासमा राख्ने गरेका छन् । श्रेष्ठका विरुद्ध प्रहरी प्रशासनमा उजुरी पर्न सुरु भइसकेको छ । यतिसम्मकी नेटवर्किङ व्यवसायबाट राम्रो कमाइ हुने भएपछि दाङको तुलसीपुर स्थायी घर भएका नारायण भण्डारीले घुमाउरो तरिकाले स्वास्थ्य सेवा विभागमा नेटवर्किङसम्बन्ध संस्था दर्ताको तयारी गरेका छन् । यो संस्था दर्ताको अन्तिम तयारीमा छ । संस्था दर्ता भएमा भण्डारीले स्वास्थ्यका नाममा नेटवर्किङ चलाउने छन् ।
को–को छन् सदस्यरु
वीन वीन ट्रेड मार्ट प्रालि नामक नेटवर्किङ व्यवसायमा अधिकांश माओवादी नेता तथा कार्यकर्ताको संलग्नता देखिएको छ । शिविरबाट बाहिरिने क्रममा सरकारले उपलब्ध गराएको रकमलाई लडाकुहरूले नेटवर्किङमा लगाएको स्रोतको भनाइ छ । एकजना लडाकुले भने–‘माओवादीका केही नाम चलेका नेताहरूपनि यो नेटवर्किङमा आबद्ध रहेछन् । हामी पनि लोभमा परेर पैसा लगाइयो । अहिले न पैसा पाइन्छ न त्यसको मुनाफा नै पाइन्छ ? 
उजुरी पनि कहाँ गएर हाल्ने दिक्क भएका छौँ ।’वीन वीन नेटवर्किङ व्यवसाय नेपालमा प्रतिबन्ध रहेपनि प्रेमबहादुर तामाङसहितको समूहले अहिले पनि करोडौँ रकम ठगी गर्दै आएको छ । तामाङको ठगीमा पूर्व सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म छन् । प्रहरीमा उजुरी पर्न थालेपछि वीन वीन नेटवर्किङका सञ्चालक समितिका सदस्यहरू लुकीलुकी हिँड्ने गरेका छन् । 
सदस्यहरूले पैसा फिर्ता माग्दासमेत नदिएको एक जना पीडितले गुनासो गरे । पैसा माग्दा वीन वीन ट्रेड मार्ट प्रालिका सदस्यहरू ज्यान लिने सम्मको धम्की दिने गरेको आरोप छ, यूनाइटेड पोस्टमा खबर छ । वीन वीनका नाममा सञ्चालित वेबसाइट पनि खुल्दैन । वेबसाइटका नाममा पनि वीन वीन नेटवर्किङले धोका दिइरहेको छ । प्रहरी र प्रशासन समक्ष उजुरी परेपछि अहिले वीन वीन नेटवर्किङ चलाउने कार्यकारी निर्देशक प्रेमबहादुर तामाङसहितका समूह लुकेर हिँड्ने गरेको छ । 
प्रहरी प्रशासनले पनि उनीहरूलाई कारबाही गर्न खासै ध्यान नदिएको आरोप पीडितहरूको छ । यूनिटी प्रकरणमा हजारौं सर्वसाधारणका करोडौँ रकम डुबीसकेको छ  । दोषीहरू जेलमा छन् भने कोही अहिले पनि फरार सूचीमा छन् । अब पालो वीन वीनको आएको छ । उनीहरूलाई हदैसम्मको कारबाही माग उठेको छ ।

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्