Logo
१२ बैशाख २०८१, बुधबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थबिद्ध भन्छन – ‘बजेटको आकार होइन खर्च गर्ने क्षमता बढाउ’

काठमाडौ । अर्थविद्धहरुले बजेटको आधार बढाउनु भन्दा पनि खर्च गर्न सक्ने सरकारी क्षमता बढाउने हिसावले आगामि बजेट ल्याउनु पर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले सबैलाई खुसी बनाउनेगरी बजेटको आकार बढाउनु भन्दा पनि पुजिगत खर्च बढाउने मद्दत गर्ने खाल्को बजेट ल्याउनु पर्ने बताए । 
साक्षात्कारमा उनले भने, ‘सबै क्षेत्रमा बजेट बढाउने र टुक्रे योजनामा पैसा बाड्ने हो भने अर्थ तन्त्र धारासायी हुन्छ । औषत भन्दा बढी मुल्य बृद्धि हुन सक्छ । त्यसैले अन्तर्राष्ट्रिय विमानस्थल, फास्टट्रयाक, ठूला सिचाई आयोजनालाई प्राथमिकता दिएर पुजिगत खर्च बढाउनु पर्छ ।’ budgetडा. शर्माले बजेटले संविधान कार्यान्वयन र पुनःर्निमाणलाई केन्द्रमा राख्नु पर्ने सुझाव दिदै आर्थिक बृद्धिदर बढाउनकोलागि लगानीको बातावरण बनाएर निजी क्षेत्रको लगानी आर्कषित गर्नु पर्नेमा जोड दिए ।
उनले प्रधानमन्त्रीले पछिल्ला समयमा सार्वजनिक रुपमा भन्ने गरेको रेललाईन विस्तार, पानी जहाज सञ्चालन, पेट्रोलियम पदार्थको उत्खनन आजको भोली हुने विषय नभएको भन्दै त्यसकोलागि कम्तिमा २० वर्षको योजना बनाउनु पर्ने सुझाव दिए । डा.शर्माले भने,‘ यदि ति कुराहरु सम्भव छन भने गर्दा राम्रो हो । चार–पाँच वर्षमा सक्ने गरी बजेट ब्यवस्था गर्नु पर्छ ।’ पूर्व अर्थसचिव रामेश्वर खनालले आगामि बजेटले भुकम्पपछिको पुनःर्निमाण र नाकाबन्दीले थिल्थिलिएको अर्थतन्त्रलाई उकास्ने गरी कार्यक्रम ल्याउनु पर्ने भन्दै बजेटको आधार ठूलो हुँदा अर्थतन्त्रमा सकारात्म भन्दा धेरै नकारात्मक असर पर्ने भएकोले त्यसमा ध्यान दिनु पर्ने सुझाव दिए । 
उनले भने,‘ बजेट वितरणमुखी खाले बनाउनु हुँदैन । यसले अर्थतन्त्रलाई राम्रो गर्दैन । पुजि निर्माण गर्ने योजनाहरुमा ध्यान दिनु पर्छ । चालु खर्च बढाउँदा यसले मुल्यबृद्धि भई आर्थिक बृद्धिदरमा ह्रास ल्याउँछ ।’ खनालले अहिलेसम्म मुलुकसँग खर्च गर्न सक्ने सार्मथ्य नभएकोले यस्तो अवस्थामा पपुलिष्ट बजेट ल्याउनु भन्दा पनि खर्च गर्न सक्ने क्षमता बढाउने तर्फ ध्यान दिनु पर्ने धारणा राखे । 
उनले ब्यापार र पारवहनलाई विविधीकरण गर्ने गरी बजेटमा ब्यवस्था गर्नु पर्ने आवश्यकता औल्याउँदै आर्थिक कोरिडोर निर्माणकोलागि बजेटमा उचित ब्यवस्था गर्नु पर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा। चन्द्रमणि अधिकारीले बजेटले योजनाको संख्यामा भन्दा पनि योजनाको गुणस्तरीयतामा ध्यान दिनु पर्ने धारणा राख्दै उर्जा, कृषि र रोजगारी सृजनामा विशेष ब्यवस्था गर्नु पर्ने बताए ।

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्