Logo
११ बैशाख २०८१, मंगलबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानी केन्द्रीत आन्दोलनमा होमिएका गठबन्धनले गर्यो स्वयम्भूमा विरोधसभा


काठमाडौं । राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले शनिवार स्वयम्भूमा विशाल विरोध सभा आयोजना गर्यो । दिउँसो २ बजे सीतापाइलाबाट नाराबाजी र प्रदर्शन गर्दै र्याली ३ बजे स्वयम्भू चोकमा विरोध सभामा परिणत भएको थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले नेतृत्वमा आयोजित विरोध सभामा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले गठबन्धनद्वारा प्रस्तुत २६ सुत्रिय माग सम्बोधनका लागि सरकारसँग जोडदार माग गरे । दोस्रो चरणको कार्यक्रम अन्तर्गत राजधानीको प्रमुख ७ स्थानमा सभा गर्न बाकी छ । 
गठबन्धनले भोलि आइतबार चावहिल चोकमा विरोध सभा गर्ने कार्यक्रम रहेको छ । गठबन्धनले सिंहरदरबार र बालुवाटार घेराऊको पहिलो चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ । लगत्तै तत्कालका लागि आन्दोलनको स्वरुप परिवर्तन गरेपनि काठमाडौं केन्द्रीत आन्दोलनलाई नै प्राथमिकता दिएको पहिचान पक्षधर २९ दलीय गठबन्धनले ललितपुरको मंगलबजार र नयाँ बानेश्वरमा विरोध सभा गरिसकेको छ ।
हिजो शुक्रबार मात्रै झरीको बेवास्ता गर्दै गठबन्धन र आबद्ध दलहरुले नयाँ बानेश्वरमा विरोध सभा आयोजना गरेका थिए । जेठ ५ गते गठबन्धनको बैठकले काठमाडौं १० प्रमुख स्थानमा विरोध सभा गर्ने निर्णय गरेको थियो । संविधान पुनर्लेखन गरी पहिचान र अधिकार प्राप्तिका लागि मधेशी र जनजाति समुदायले संयुक्त रुपमा जेठ १ गतेदेखि लगातार राजधानी तताइरहेका छन् ।
संविधान पुनर्लेखन गरी मधेशी, आदिवासी जनजाति, खस समुदाय, शिल्पी समुदाय (दलित), थारु, अल्पसंख्यक समुदाय, मुश्लिम, महिला, पिछडावर्ग, सीमान्तकृत समुदाय, लोपोन्मुख जात÷जाति लगायत बहिष्करणमा पारिएका / परेका समुदायहरुको मुद्दाहरुलाई सम्बोधन नगरुन्जेलसम्म निरन्तर रुपमा जारी नै राख्ने गठबन्धनले जनाएको छ । 
गठबन्धनको आन्दोलनमा पछिल्लो समय काठमाडौंको स्थानीय बासिन्दाको समेत सहभागिता बढ्दै गएपछि विरोध सभाहरु झन् प्रभावकारी हुँदै गएका छन् । शुक्रबार नयाँ बानेश्वरमा आयोजित सभा भन्दा बढी सहभागिता स्वयम्भूमा देखिएको गठबन्धनको दाबी छ । संघीय गठबन्धनमा मधेशी, आदिवासी जनजाति, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, खस समुदाय, नेवाः लगायतका दल तथा संगठन आबद्ध छन् ।

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्