Logo
१५ बैशाख २०८१, शनिबार
(May 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाको पच्चीस करोड किन अलपत्र ?

काठमाडौं । २०७२ वैशाखको महाभूकम्पले क्षति पु¥याएको नेपाली सेनाको हेडक्वार्टर र सेनाकै क्षतिग्रस्त अन्य युनिटहरुको पुननिर्माण र मर्मत सम्भारका लागि सेनालाई पुननिर्माण प्राधिकरणले रु. ७५ करोड निकासा दिएको थाहा भएको छ । ७५ करोड मध्ये ५० करोड रुपैयाँ सेनाका विभिन्न युनिटका लागि निकासा दिइएको र बाँकी २५ करोड रकम भद्रकालीस्थित सैनिक मुख्यालय निर्माण शुभाराम्भका लागि खर्च गर्न नेपाली सेनाले हेडक्वार्टरमै राखेको थाहा भएको छ ।

हाल पाल टाँगेर आफ्नो दैनिकी संचालन गरिरहेको आर्मी हेडक्वार्टरले आफ्नो हेडक्वार्टरको भवन पुननिर्माणको बजेट खर्च गर्नेतर्फ अहिलेसम्म कुनै पनि कानुनी प्रक्रिया प्रारम्भ नगरेकोमा सेनाका रथीवृन्दहरु छक्क परेका छन् । सेनालाई पुननिर्माणका लागि उपलब्ध गराएको बजेट २०७३ असार मसान्तभित्रै खर्च नभएमा सो बजेट ल्याप्स हुनेछ । आज २०७३ जेष्ठ १० गतेबाट हिसाब गर्ने हो भने २५ करोड बजेट जोगाउने दिन २०७३ असार मसान्त आउन अब ५३ दिन मात्र बाँकी रहेको छ ।

सेनाले १५ दिनको म्याद दिएर ठेक्काका लागि टेण्डर आव्हान गर्दा पनि टेण्डर स्वीकृत गर्न मात्र पनि घटीमा एक महिनाको समय लाग्ने र बाँकी २३ दिनमा आर्मी हेडक्वार्टर पुननिर्माण थालियो भने पनि दैनिक एक करोडभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । बाँकी ५३ दिन मध्ये कार्यदिन हिसाब गर्दा दैनिक सवा करोड खर्च गर्न सकिने अवस्था पनि छैन भन्छन् जानकारहरु ।

प्रधानसेनापतिलाई नै छैन चासो  !

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाको मुख्यालय पुननिर्माणका लागि किन चासो दिइरहेका छैनन् भन्ने रहस्य नबुझेर सैन्य अधिकृतहरु अलमलमा परेका छन् । सेना दिवस २०७२ फागुन २४ गते महाशिवरात्रीका दिन भूमिपूजा र त्यसपछि जग पूजा समेत सम्पन्न भइसकेको आर्मी हेडक्वार्टर पुननिर्माणका लागि लगभग रु. दुई अर्ब बजेट लाग्ने र प्रधानसेनापति राजेन्द्र क्षेत्रीको कार्यकाल २६ महिना मात्र बाँकी रहेकाले यही लोसे स्थिति रहिरहेमा प्रधानसेनापति क्षेत्रीले आफ्नो कार्यकालभर आर्मी हेडक्वार्टरलाई पालभित्रै राखेर विदा हुनुपर्ने अवस्था देखिन्छ भन्छन् सेनाका अधिकृतहरु ।

आर्मी हेडक्वार्टर पुननिर्माणका लागि जग पूजा गरेर छाडिएको र निर्माण शुभाराम्भ नगरिएको अवस्था रहेको छ ।

जर्नेलले थाले छानबिन
नेपाली सेनाको मुख्यालयले २०७२ वैशाख १२ को महाभूकम्पले क्षति पु¥याएको सैनिक गठ्ठा घर सानोठिमीको निर्माणका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथी रमेशराज महतको नेतृत्वमा छानबिन बोर्ड गठन गरेको खबर छ । सहायक रथी रमेशराज महतको नेतृत्वको छानबिन बोर्डमा महासेनानी ई.शरदलाल श्रेष्ठ, प्रमुख सेनानी अमीर जंग राउत, मेजर ई.रुपक विष्ट रहेको आर्मी हेडक्वार्टरस्थित सैनिक स्रोतले बताएको छ । महाभूकम्पले क्षति पु¥याएको सैनिक गठ्ठा घर स्तरोन्नति गर्न सेनाले तीन करोड पचास लाख निकासा दिएको थियो ।

सो बजेटबाट ६ वटा भूकम्प प्रतिरोधी भवन निर्माण गर्नेगरी बजेट स्वीकृत भएकोमा पछि आर्मी हेडक्वार्टरको आदेशमा निर्माण संरचना परिवर्तन गरी ५ वटा भवन र भूकम्पले क्षति पु¥याएको पर्खाल पनि अनिवार्य रुपमा निर्माण गर्नुपर्ने गरी निर्माण सम्पन्न गरिएको थियो ।

सैनिक गठ्ठा घर निर्माण कार्यका लागि विकास निर्माण महानिर्देशनालयले सुरुमा मेजर पंकज थापा र पछिल्लो पटक क्याप्टेन ध्रुव अधिकारीलाई जिम्मेवारी दिएको थियो । मेजर पंकज थापा अनुशासन काण्डमा परेर कारबाही भोगिसकेका सैनिक अधिकृत हुन् भने चतुर ध्रुव अधिकारी सिपाहीदेखि नै अद्भूत चमत्कार गर्दै क्याप्टेन तहमा पुगेका अर्का बद्नाम सैनिक अधिकृत हुन् ।

विकास निर्माण महानिर्देशनालयका यी दुई बद्नाम अधिकृतले सैनिक गठ्ठा घर निर्माणको जिम्मेवारी पाएपछि अनियमित काम गरेको उजुरी परेको थियो । सैनिक गठ्ठा घर निर्माण र स्तरोन्नति गरिएको कार्य सन्तोषजनक नभएको उजुरीपछि रथी पूर्णचन्द्र थापाले सैनिक गठ्ठा घर पुननिर्माण र स्तरोन्नति कार्यको हालै निरीक्षण गरेका थिए ।

रथी थापाको निरीक्षण पश्चात सो स्तरोन्नति र निर्माण कार्यको बारेमा सत्यतथ्य पत्ता लगाउन स.र. रमेश राज महतको नेतृत्वमा छानबिन बोर्ड गठन गरिएको र बोर्डले निर्माण कार्यको जिम्मेवारी पाएका मेजर पंकज थापा र क्याप्टेन ध्रुव अधिकारीसँग स्पष्टीकरण मागेर कारबाही प्रक्रिया अगाडि बढाएको पनि थाहा भएको छ । खबर साँघमा छ ।

प्रकाशित मिति: May 25, 2016

प्रतिक्रिया दिनुहोस्