बैठकबारे प्रधानमन्त्रीले झुठ बोलेको ठाकुरको आरोप
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान आह्वान गरेको सर्वदलीय बैठकमा संघीय लोकतान्त्रिक मधेसी मोर्चा अनुपस्थित भएपछि आफूसँग सल्लाह गरेर समय तय गरेर मोर्चाका नेताहरु बैठकमा नआएको आरोप लगाएका थिए । बैठकबाट बाहिरिँदै कानुन मन्त्री अग्नी खरेलले पनि सोही कुरा दोहोराएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बैठकपछि जारी गरेको प्रेस नोटमा ‘९ बजे बोलाउने भनिएको बैठक ठाकुरको आग्रहमा साढे १० बजे सारिएको तर पछि मोर्चाका नेताहरु उपस्थित नभएको’ उल्लेख छ । मिडियामा यसबारे व्यापक चर्चा भएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव ठाकुरलाई भेट्न बुधबार दिउँसो उनको पार्टी कार्यालय पुगेका थिए ।
रातोपाटीमा उल्लेखित समाचार अनुसार अनौपचारिक छलफलको क्रममा दुई नेताले हिजोको बैठक र प्रधानमन्त्रीको दाबी बारे ठाकुरसमक्ष जिज्ञासा राखेका थिए । जवाफमा ठाकुरले प्रधामन्त्रीको दाबी गलत भएको नेताहरुसमक्ष कुरा राखेका थिए । प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा नगएपछि अब मोर्चाको कदम के हुने भन्ने विषयमा पनि छलफल भएको तमलोपा स्रोतले बतायो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव बाहिर रहेको कारण उनी फर्किएपछि मोर्चाको बैठक बसेर थप निर्णय गरिने भएको छ । छलफलबारे सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग बुझ्न खोज्दा उनले यसअघिझैं कुनै छलफल गर्न भन्दा पनि ठाकुरको स्वास्थ्य स्थिति बुझ्न मात्र आफू तमलोपा कार्यालय पुगेको जवाफ दिए ।