Logo
६ बैशाख २०८१, बिहीबार
(May 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस युनियन स्थापनाको २५ वर्ष, देशभर रजत महोत्सव

काठमाडौँ । लोकतन्त्रवादी पत्रकारको संस्था नेपाल प्रेस युनियनले आजदेखि देशभरि रजत महोत्सव मनाउँदैछ । युनियन स्थापना भएको २५औँ वर्ष भएको अवसरमा आजदेखि एक वर्षभरि रजत महोत्सव मनाउन लागिएको युनियनले जनाएको छ ।
देशका अन्य शाखामा पनि युनियनको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएकाले युनियनले हरेक वर्षको जेठ १३ मा स्थापना दिवस मनाउँदै आएको छ ।
युनियन श्रमजीवी पत्रकारका पेसागत तथा भौतिक सुरक्षालगायतका हकहितका लागि क्रियाशील हुँदै आएको युनियनका पूर्व अध्यक्ष मुरारी शर्माले बताउनुभयो । देशभर करिब सात हजार ४०० पत्रकार युनियनमा आबद्ध रहेका छन् । विसं २०४८ जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारको भेलाले पेसागत प्रत्याभूति र एकताबद्ध तथा सङ्गठितरुपमा अगाडि बढ्ने दृढ प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गरेका थिए ।
श्रमजीवी पत्रकारको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्देश्यले २०४८ सालमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको थियो । 
युनियनको स्थापनाकालमा गुप्तासहित हरि अधिकारी, रमेश तुफान, राजेश ढुङ्गाना, शिरिषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान गरी सत्र जना सदस्य रहनुभएको थियो ।
उहाँहरु सबैलाई आज रजत महोत्सव सुरुवात समारोहमा सम्मान गर्ने कार्यक्रम रहेको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । उक्त तदर्थ समितिले २०४८ साल फागुन १५ र १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
सो कार्य समितिको महासचिवमा रमेश तुफान, कोषाध्यक्षमा उज्वल झा, सदस्यमा तारा बराल, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, शिरिष बल्लभ, जगदीश भट्टराई, बबिता बस्नेत, अच्युत वाग्ले, राजनराज तिमिल्सिनालगायत रहेका थिए ।
त्यसपछि २०५१ सालमा पाल्पा जिल्लाको तानसेनमा यसको दोस्रो महाधिवेशनले रमेश तुफान, पर्साको वीरगन्जमा २०५३ सालमा भएको तेस्रो महाधिवेशनले तारा बराल, २०५६ सालमा सुनसरीको इटहरीमा भएको चौथो महाधिवेशनले कुलचन्द्र वाग्ले अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो ।
त्यसैगरी सिरहाको लाहानमा २०६० सालमा भएको पाँचौँ महाधिवेशनले मुरारीकुमार शर्मालाई, कास्कीको पोखरामा २०६४ सालमा भएको छैठौँ महाधिवेशनले समिरजङ्ग शाहलाई र २०६७ सालमा सुनसरीको इटहरीमा भएको सातौ महाधिवेशनले किरण पोखरेललाई केन्द्रीय अध्यक्ष चयन गरेको थियो ।
बद्री सिग्देलको अध्यक्षतामा रहेको वर्तमान कार्यसमिति भने २०७१ भदौ २१ देखि २३ गतेसम्म भएको महाधिवेशनले गठन गरेको हो । देशभरि ७२ जिल्लामा जिल्लामा युनियनको शाखा छ भने कैलालीमा लम्की उपशाखा तथा काठमाडौँमा साँखु उपशाखा गरी दुई वटा उपशाखा रहेका छन् ।
अहिलेसम्म जिल्ला शाखा गठन हुन नसकेका मनाङ, मुस्ताङ र डोल्पामा यसै वर्ष शाखा गठन गरिने महासचिव सिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले युनियनका सात वटा प्रतिष्ठान शाखा छन् भने यसै वर्षदेखि विदेशमा पनि शाखा गठन गर्न सुरु गरिने छ । नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।
पत्रकारिता व्यवसाय प्रजातन्त्रमामात्र फस्टाउने शास्वत सत्यलाई मध्यनजर गर्दै युनियनभित्र प्रजातन्त्रप्रति पूर्ण आस्थावान् श्रमजीवी पत्रकार आबद्ध रहने युनियनको विधानमा उल्लेख रहेको समाचार राससमा छ ।

प्रकाशित मिति: May 26, 2016

प्रतिक्रिया दिनुहोस्