Logo
१३ बैशाख २०८१, बिहीबार
(May 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जयप्रकाश गुप्ताको जिज्ञासा : के महन्थ ठाकुरले नव पहल गर्नु होला ?

पहिलो मधेस आन्दोलनको असफलताले व्यक्तिगत रूपमा उपेन्द्र यादवको भुमिका, क्षमता र ईमान्दारिता संदिध्न भएको थियो । त्यस बखत महन्थ ठाकुरका प्रतिको उक्त टिप्पणी अपेक्षितर आशाप्रद संदेशयुक्त थियो । परिणामहीन भएको पहिलो मधेस आन्दोलनलाई पुनर्जीवन दिन ठूलो भरोसाका साथ व्यक्त भएको अभिव्यक्ति थियो त्यो । 
जय प्रकाश आनन्द

यस बर्षको होलीका बेलाको कुरा हो । भारतीय राजदूत रंजित रे ले होली शुभ कामनाका लागि मधेसी मोर्चाका नेताहरूलाई दूताबासमा आमन्त्रण गरेका थिए । त्यहां महन्थ ठाकुरले राजदूतसंग “आन्दोलन एकाएक रोकिएकोमा गुनासो गर्नु भयो । मधेसीहरूले निर्णायक रूपमा पुर्याउन लागेको आन्दोलनमा एकाएक ब्रेक लाग्यो । मोर्चाको आन्दोलनमा ब्रेक लगाउने कार्यमा हामीभित्र र बाहिरका सहयोगी एवं शुभचिन्तकको समेत सहयोग रह्यो ।” भन्नु भयो । 
चैत्र १२,२०७२ को यो वार्तालापको समाचार तत्काल बाहिर आयो । यसमा महन्थ ठाकुर जीले “बाहिरका सहयोगी” भनेर भारतलाई इंगित गर्नु भयो । ठाकुरले राजदूतका समक्ष आन्दोलन रोकाउनमा भारतले खेलेको भुमिका प्रति दु:खेसो नै पोख्नु भयो । ठाकुर जीले व्यक्त गर्नु भएको सो कुरा उहांकै पार्टीका नेताको भनाई भनी पत्रपत्रिकामा आयो । बिभिन्न अनलाईनहरूको अभिलेखमा यो छ नै । मेरो विचारमा ठाकुरले एक कटु सत्य दु:खको रूपमा बोल्नु भयो । मधेसको राजनीतिमा चाख राख्नेहरू, समाचार तथा घटनाक्रमलाई पछ्याउनेहरूले यस समाचारमा ध्यान दिएकै हुनु पर्दछ । मधेसको राजनीतिमा किन यस्तो हुन्छ, ? यस वारे थोरै भएपनि विमर्श हुनु जरूरी छ ।
महन्थ ठाकुर मधेसको राजनीतिमा आउनु हुदां नेपाली टाईम्समा सि.के. लालले लेख्नु भएको थियो; “कालो वादलमा चांदीको घेरा देखियो ।” पहिलो मधेस आन्दोलनको असफलताले व्यक्तिगत रूपमा उपेन्द्र यादवको भुमिका, क्षमता र ईमान्दारिता संदिध्न भएको थियो । त्यस बखत महन्थ ठाकुरका प्रतिको उक्त टिप्पणी अपेक्षितर आशाप्रद संदेशयुक्त थियो । परिणामहीन भएको पहिलो मधेस आन्दोलनलाई पुनर्जीवन दिन ठूलो भरोसाका साथ व्यक्त भएको अभिव्यक्ति थियो त्यो । त्यस बखत हठात् उदाएका उपेन्द्र यादवलाई धेरैले चिन्न भ्याएका थिए । उनि प्रतिको ‘मीथ’ पखालिदै गएको थियो । 
महन्थ ठाकुर प्रतिको भरोसाको सबभन्दा ठुलो कारण पनि उहांको परिचित व्यक्तित्व, प्रजातान्त्रिक आस्था र सद्भावका साथ शांतिपूर्ण तबरमा मधेसको समस्यालाई समाधान गर्ने प्रतिवद्धता थियो । उहांले परिणामहीन रहेको मधेस आन्दोलनलाई सार्थक टुंगोमा पुर्याउनु हुन्छ भनी धेरै मधेसीले भरोसा जाहेर गरें । यो यस्तो समय थियो, जतिबेला पर्वते समुदायका कतिपय राजनीतिक-सामाजिक सक्रियतावादीहरू समेत महन्थ जी जस्तो व्यक्तित्वको पहलमा मधेसी जनताको मांगहरू पुरा होस; चाहेका थिए । 
पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, सुन्दरमणि दीक्षित, खगेन्द्र संग्रौला, लोकराज बराल, कृष्ण खनाल लगायत यस्ता मानिसहरूको सूचि लामै थियो । महन्थ ठाकुर समेतको नेतृत्वमा दोस्रो मधेस आन्दोलन भयो । परिणामको दृष्टिले यस आन्दोलनको पटाक्षेप ठिक रहेन । यदि ठिक भएको भए आज मधेस र राज्य बीचको तनाव रहने थिएन । भारतीय दूतावासको अतिसक्रियताका बीच उपेन्द्र यादवले पनि घुंडा टेक्दै ८ बुंदे सम्झौता भयो । संविधान सभाको निर्वाचन गराई छोड्न मधेसलाई घुडा टेकाईयो । 
यस सम्झौताका कारणले नै संविधान सभाको निर्वाचन संभव भयो । मधेसले फगत तुष्टिकरणमा रमाउनु परेपनि देशलाई संविधान सभाको लीकमा हिडाउनुमा महन्थ जीको लचकदार व्यक्तित्वको योगदान रह्यो । यतिखेर संघर्ष-सत्ता र संसदका बीच समन्वयको गंभीर चुनौति मधेसी दलका सामु आयो । यसबेला मधेसको राजनीतिलाई निष्ठाको डगरमा डोर्याउन महन्थ ठाकुरले केही अप्रत्यासित अडानहरू लिनु भयो । संविधान सभामा रहेका मधेसी दलहरूले राष्ट्रपतिको निर्वाचनमा रामवरण यादवलाई हैन रामराजा प्रसाद सिंहलाई मतदान गर्नुपर्ने उहांको अडानलाई भारतीय दूतावासले हल्लाउन सकेन । 
माओवादी-मधेसी सहकार्यको राष्ट्रपतीय उम्मेदवार रामराजा प्रसाद सिंह हुनुहुन्थ्यो । भारतीय दूतावासले नेपाली कांग्रेस-एमाले र फोरम नेपालका बीच अप्रत्यासित गठबन्धन गरायो । यसैबाट रामवरण जी राष्ट्रपति बन्न सक्नु भयो । यसमा महन्थ ठाकुर सहमत हुनु भएन । उहांले राष्ट्रपतिमा रामराजा प्रसाद सिंह र उपराष्ट्रपतिमा परमानन्द झालाई मतदान गर्ने निर्णय लिनु भयो । यद्यपि मतदानबाट रामवरण जी विजयी हुनु भयो । यस बारे कुनै बेला विस्तृत चर्चा गरौला; मेरो पहलमा फोरम नेपालका १४ जना सभासद उपेन्द्र यादवको अपारदर्शी वा उतिबेलै गरिएको सत्ता समर्पण मुद्दा विसर्जनमुखी कार्यको बिरोधमा हामी रामराजा प्रसाद सिंहलाई मतदान गर्यौ । अब सत्तामा सहभागिता वारे महन्थ ठाकुरले उपेन्द्र यादवको भन्दा अलगबाटो लिनु भयो । 
पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमंत्री हुनबाट रोक्न नसकेपछि भारतले अन्तत: फोरम नेपाललाई सरकारमा सहभागी हुन दबाव दियो । भारतको दबाव, बिजय गच्छदार-राजेन्द्र महत्तोको उक्साहट तथा उपेन्द्र यादवमा भर्खर भर्खर जन्मेको “पावर लस्ट” ले गर्दा उपेन्द्रले फोरम नेपाललाई सरकारमा जाने निर्णय गराए । बाध्यताबश नै होला, महन्थ ठाकुरले प्रचण्डको सरकारलाई समर्थन त गर्नु भयो । तर,पार्टीबाट सरकारमा सामेल गराउन मान्नु भएन । यतिबेलासम्म महन्थ जी यदाकदा यस्ता प्रलयकारी दबावलाई झेल्न सक्षम देखिनु भएको थियो । यसपछि महन्थ जी लगातार सरकारलाई आठ बुंदे सम्झौताको परिपालन गर्न दबाव बढाउदै लानु भयो । महन्थ जी संविधान सभाको निर्वाचनमा प्रत्यक्षबाट पराजित हुनु भएको थियो ।
यसका बावजूद महन्थ जी मंत्रीपरिषदको मनोनित कोटाबाट संविधान सभाको सदस्य मनोनित हुनुभयो । उहांले नैतिक रूपमै सत्ता प्रति कृतज्ञ हुने यस प्रस्तावलाई किन स्वीकार्नु भयो ? शायद यो उहांको लालच थिएन । यद्यपि यहांबाट महन्थ जीको नैतिक शक्तिमा ह्रास आएको भनी मान्नेहरूको संख्या बढेको देखिन्छ । मधेसले आफ्नो अधिकार पाउन मधेसी शक्तिका बीच दरो एकता हुनु आवश्यक छ-यो आज पर्यन्त सबै मधेसीको चाहना रहेको छ । महन्थ जी यस एकताको सबभन्दा भरपर्दो मियो मानिनु भएको हो । 
तर, मधेसी जनअधिकार फोरम नेपालको बिभाजनमा उहांको सर्वथा अनपेक्षित भूमिकाले मधेसी पार्टीहरूमा विभाजनको श्रीगणेश गरायो । साथै मधेसी एकताको चाहनालाई ठूलो नोक्सान पुर्यायो । फोरम बिभाजनको कार्यमा महन्थ जी बिजय गच्छदारको साथ दिनु नितान्त गलत र अनपेक्षित कार्य थियो । भनिन्छ, मधेसका लौह पुरूषले दबाव थेग्न सक्नु भएन । माधव नेपाललाई प्रधानमंत्री बनाउनका लागि महन्थ ठाकुरको प्रयोग जस्ले गरेपनि त्यो उहांको मर्यादित व्यक्तित्वको दुरूपयोग नै थियो । वास्तवमा यस घटनाले मधेसी पार्टीहरूका बीच घोडा खरीदको व्यापार “हर्स ट्रेडिंग” को जन्म दियो । 
मधेसी एकतालाई पनि धेरै पर धकेलिदियो । मधेसी नेतृत्वका बीच तिक्तता जन्मायो । माधव नेपाल जस्तो मानिसको मुकुटपोशीका लागि मधेसले ठूलो मूल्य चुकायो । अहिले महन्थ जीले बिजय गच्छदार र माधव नेपाल-यी दुबै जनालाई संझिनु पर्दा दु:ख र खेदको अनुभूति हुदोंहोला उहांलाई ! बिश्लेषकहरूले अवश्यपनि खोजी गर्ने होलान कि कुन बाध्यतावश महन्थ जी मर्यादाको ठाउंमा अड्न सक्नु भएन ? पहिलो र दोस्रो संविधान सभाका दौरान मधेसका सवालहरूलाई संस्थापन गराउनुमा र सत्ता राजनीतिमा महन्थ ठाकुर अन्य मधेसी नेताका भन्दा किन अलग देखिनु भएन; यसको बस्तुनिष्ट मूल्यांकन गर्ने काम त बिश्लेषकहरू कै हो ।
अहिले काठमांडू केन्द्रीत आन्दोलन भैरहेको छ । म यस अधिको अर्थात नाकाबन्दीबाला मधेस आन्दोलनको चर्चा गर्न चाहन्छु । त्यस आन्दोलनमा महन्थ ठाकुर सर्वाधिक ठूलो नेता हुनुहुन्थ्यो । चार दलको मधेसी मोर्चामा ठाकुर जीको भूमिका पंछाउनै नसकिने, निर्णायक र समन्वयकारीको थियो । यो भुमिकाको समुचित प्रयोग हुदां पहिलो कुरा, अन्तिम बेलामा पनि संविधान सभालाई केही हदसम्म अझ उपयोगी बनाउन सकिने कतिपयको राय छ । अन्तिम र निर्णायक बेलामा पुग्नु अघिनै मोर्चाले निरन्तर संविघान सभाको बहिष्कार गरिरह्यो ।
दोस्रो कुरा; आन्दोलन ६२ दिन नाघ्दापनि मोर्चाले सूत्रबद्ध रूपमा मांगहरू राख्न सकेन । उपेन्द्र यादवले एकोहोरो रूपमा २२ सूत्रीय र राजेन्द्र महतोले पटक पटक ८ सूत्रीय मांग पुराभए आन्दोलन स्थगित गरिने बताईरहें । यसपछि मधेसी नागरिक समाजका माध्यमबाट ३५ बुंदे अनि फेरी मोर्चाबाट औपचारिक रूपमा ११ बुंदे मांग राखियो । यस आन्दोलनका दौरान र पछिका समेतगरी सरकारसंग मोर्चाको ३६ पटक वार्ता भयो । यी सबै वार्ताहरू मूलत: ९ बुंदामा केन्द्रीत थियो । 
यो एक प्रकारले अत्यन्तै बिसंगत अवस्था हो । भारतले ओली सरकारसंग (कांग्रेस र माओवादी समेतसंग सहमति भएको भनिएको) ४ बुंदे सहमति गरेको समाचार आजपनि अकाट्य नै छ । भारतको परराष्ट्र मंत्रालयको विज्ञप्तिमै भनियो कि भारत सहमतिको लागि प्रस्तावित ४ वटै बुंदाको कार्यान्वयन चाहन्छ । आज धेरैलाई याद होला, मूलत: दुई बिषयमा (प्रतिनिधित्व र समावेशीकरण) यस संविधानको पहिलो अपूर्ण संशोधन भएपछि भारतले बांकी थप दुई (नागरिकता र सीमांकनको समिति) बिषयको पनि कार्यन्वयन हुनुपर्ने भन्यो । अहिले मोर्चाले, खासगरी मोर्चा समाहित भएको जनजाति समेतको गठबन्धनका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखनको मांग उठाएका छन् । राजेन्द्र महतोले यसको प्रतिवाद गरेको छ । 
यो बडो गंभीर बिषय हो । आज धेरैले प्रश्न गरिरहेका छन् कि के वास्तवमा मधेसी दलहरू समाधान नै चाहेका छैनन् कि ? खाली अर्घेल्याई र अत्तो थपिरहेका छन् ? धेरैले सोध्छन कि हरेक आन्दोलनमा ४०/५० जनाको शहादतको पृष्टभूमिमा के कुनै पक्ष यति गैर जिम्मेवार हुन सक्छ-जति कि मधेसी मोर्चा भएको छ ? यी सब बिसंगत अवस्थाको अन्त्य गर्नमा महन्थ जीको बडो ठूलो भूमिकाको सबैले आशा गरेका थिए । सि.के. राउतले स्वतन्त्र मधेस देश हुनुपर्ने मांग राखेका छन् । यता उपेन्द्र यादव, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र हृदयेश जी सबैले रिसाएर हो कि के हो-नेपाल टुक्रिन्छ भन्न थालेका छन् । 
धेरैको आँखा अगाडी संविधान सभाको त्यो दृश्य घुमिरहेको होला; जहां तत्कालिन राष्ट्रप्रमुख रामवरण यादवले संविधानका प्रतिलाई निधारमा पटक पटक टेकाउदै भावविभोर भएर दायां, बीच र बायां घुम्दै गरेका थिए । कत्रो समर्पण र भक्तिभाव झल्काएका थिए मधेसीको रगतलाई लत्याएर आएको विवादित संविधानका प्रति राष्ट्रपतिले ! हालै जगत नेपालद्वारा लिखित पुस्तकको लोकार्पण गर्दाको बखत उनै राष्ट्रपतिले देशै टुक्रिन सक्ने भन्नु भयो । के पदमा नरहदां यसो भन्न मिल्छ र ? पूर्व राष्ट्रपति र आन्दोलनरत् मधेसी नेताहरू सबैले भन्न सक्नु पर्दछ कि मधेस आन्दोलनका मांगको अन्तिम सीमा के हो ? के अन्तत: मुलुकको विभाजन ध्येय हो त ?
आन्दोलन जारीनै रहेको अवस्थामा मधेसी दलहरू आ-आफ्नो पार्टीलाई ठूलो बनाउने होडबाजीमा लागे । मधेसी जनताले यस कृत्यलाई पटक्कै मन पराएन । हुदांहुदां उपेन्द्र यादव र राजेन्द्र महतो जीको यस्तो होडबाजीमा महन्थ जीले पनि आफुलाई रोक्न सक्नु भएन । धेरै ठाउँमा यस्तै कार्यमा महन्थ जीलाई पनि तमलोपाबालाहरूले फसाए । यो आन्दोलनको बजारीकरण हो । यस्तो कार्य रोक्नुमा महन्थ जीको भूमिका थियो । उहांलाई पनि अरू सरह नै उभ्याइदिए । के महन्थ जीको ज्ञान, साख, अनुभव, प्रतिवद्धता, व्यवहार कुशलता, जनभावनालाई बुझ्ने क्षमता, राजनीतिको धरातलीय यथार्थको समझ अन्य मधेसी नेताकै समकक्ष छ र ? म कसरी मानु यस कुरालाई !
मधेसी राजनीति ओरालो लागेकोमा एक्लो महन्थ ठाकुरको आलोचना गरिनु हुदैन । 
महन्थ जीलाई बिराट स्वरूपको देखाएर अनि खेदो खन्नु हुदैन । महन्थ ठाकुर, उपेन्द्र यादव जस्तो आलोचनामुक्त, अभेद्य र महान व्यक्ति पनि हैन । सि.के. लालले भने जस्तै ठाकुर जीसंग व्यवहारिक कुराहरू परिपालनको अपेक्षा राख्नु पनि गलत हैन । हामीले कुनैपनि नेतालाई शाब्दिक मसिहा बनाउनु भन्दापनि उस्को राम्रा नराम्रा कुराको गंभीर र बस्तुनिष्ठ मूल्यांकनबाट मात्र कुनै नेताको वारेमा निष्कर्ष निकाल्न सक्छौ । उहिले देखिकै भनाई हो; “जीतमा सेनाले जश्न मनाउँछ । पराजयमा कप्तानले शोक मनाउँछ ।” नाकाबन्दी बाला पछिल्लो मधेस आन्दोलनले नेताहरूलाई यही नियतिमा पुर्याएको छ । 
राजनीतिमा एक पटकको असफलता नेताको असान्दर्भिकता हुदैन । महन्थ ठाकुर किमार्थ पनि असान्दर्भिक हुनु भएको छैन । नाकाबन्दीको वारेमा सहज तर्क दिइन्छ कि शांतिपूर्ण आन्दोलनमा ४०औं जना मारिए । सरकारले सुनेनन् । मधेसको सडकमा रहेर मर्नु भन्दा हामी नाकामा पुग्यौ । यो तर्कलाई उ बेला र आजपनि अधिकांशले पत्याएको छैन । असोज ३, २०७२ मा संविधान जारी भयो । यो ३ र ४ गते मधेसका सडकहरूमा, हरेक सदर मुकामहरूमा लाखौं मानिसहरू ओर्ले । सर्वत्र संविधान जलाउने काम भै रह्यो । मधेसी जनताको व्यापक बिरोधको यस अवस्थालाई बुझेर अन्तर्राष्ट्रिय जगतका भारत, चीन, अमेरिका, युके, युरोपीयन युनियन सबैले आन्दोलनरत् मधेसीसंग वार्ता गर्न जोड दियो । 
उनिहरूले समेत संविधानमा खोट देखाए । सडकमा उत्रेका मधेसी जनताको खिलाफमा नेपाली सेना जान नसक्ने कुरा प्रधान सेनापतिले नै बोले । उनले राजनीतिक पहलमा जोड दिए । यस अघि पर्वते समुदायका धेरैले सामुदायिक स्वार्थको नाममा मौन धारण गरेका थिए । यिनीहरूले पनि मौनता तोडे । प्रधानमंत्री सुशील कोईरालाले तत्काल संविधान संशोधन गरिने कुरा बोले । यस बेला भारतको बिरोध तथा सुझाव बडो अर्थपूर्ण थियो । एक्लै भारतको यस बिरोधमा ठूलो शक्ति थियो । प्रतिकूलताका बीच जन्मेको यस अनुकूल परिस्थितिको अध्ययन भएन । एक्कासी असोज ५ गते नाकामा बस्ने निर्णय भयो । 
यदि भारतले यसो गर्न सुझाएको हो भने त्यो एकदमै गलत सुझाव थियो । मोर्चाले यो निर्णय गर्नु ठूलो गलती थियो । यसले उब्जाउने प्रतिकूलता र यसबाट नेपाली राजनीतिक-सामाजिक जीवनमा तक्षण उत्पन्न हुने ध्रुविकरण बुझ्ने क्षमता महन्थ जीमा नहुने कुरै छैन । तर, उहांको यस क्षमताको उपयोग भएन । नेपालको पछिल्लो ईतिहासमा भएको परिवर्तनहरूको अध्ययन गरौ । नेपाली राजनीतिलाई निर्धारण गर्ने खेलाडीहरू भेटिन्छन । ती खेलाडीहरू मध्ये यदि धेरै जसो परिवर्तनको पक्षमा ध्रुविकृत रहें भने परिवर्तनले आकार लिएको छ । अन्यथा परिवर्तनका अनेकन भगीरथ प्रयत्नहरू असफल भएको ईतिहास छ । 
यी खेलाडीहरू: १) मुख्य दलहरूमा कांग्रेस-एमाले-माओवादी तथा दक्षिणपंथी दलहरू, २) नेपाली सेना र यसका घरेलु पृष्पोषकहरू, ३) दरबारियाहरू, ४) भारत, ५) चीन र, ६) अन्य विदेशी शक्तिहरू । खासगरी यी ६/७ पक्ष मध्ये यदि बहुमतको जोड परिवर्तनको पक्षमा छ भने परिवर्तन हुन्छ । अन्यथा हुदैन । नाकाबन्दीले यस मध्येका भारत बाहेक सबैलाई एकै ठाममा, मधेस आन्दोलनको घोर बिरोधमा उभ्यायो । यस मधेस बिरोधी ध्रुविकरणबाट आन्दोलनलाई जोगाएर अर्को बाटो लिन सक्ने क्षमता महन्थ ठाकुरमा थियो; यसको प्रयोग भएन । नाकाबन्दी गलत एवं प्रतित्पादक कार्य ठहरिने निश्चित नै थियो । मधेसी मोर्चा भित्र महन्थ ठाकुर भन्दा अरू को थिए, जसले भारतलाई यसो नगर्न भन्न सक्थ्यो !
मधेसमा चीनको झंडा किन जलाईयो । यो कार्य सदभावना पार्टीको गलत कार्य थियो । राजकिशोर यादवका मानिसहरू समेत यसमा लागेको कुरा तिनीहरूको गिरफ्तारीबाटै पुष्टी भएको छ । चीनको कुटनीतिलाई “साईलेण्ट किलर” पनि भनिन्छ । नेपालको आन्तरिक सवालमा हिमाल पारीको ड्रागनलाई उक्साउने कार्य यिनीहरूको उच्छंख्रलता बाहेक केही थिएन । यसको दुष्प्रभाव अहिले देखा पर्दैछ । महन्थ ठाकुरले फलामे हातबाट यसलाई रोक्नु पर्थ्यो भने गंभीर मानिसहरू भनिरहेका छन् ।
महन्थ ठाकुरका विचारलाई पछ्याउने हामीहरूले कयौ पटक उहांका विचारहरू पढेको हुनुपर्छ-“मधेस एक राष्ट्र हो र मधेसी एक राष्ट्रियता ।” यो एक गहन विचार “लाउड थिंकिंग” हो । नेपालका सबै जनजातिहरूको स्वायत्तताको मांग यही विचारबाट नै जन्मेको हो । यो विचार पोख्दा महन्थ ठाकुरलाई देश टुक्राउन खोज्ने भनियो तर जनजातिलाई भने राज्यले अंकमाल नै गरेको छ । यहीं नेर मधेसी नेताहरूले पनि बुझ्न सक्नु पर्ने हो कि मघेसलाई राष्ट्र मान्ने हामीहरू यो मधेसको स्वार्थहरूको निर्धारण गर्ने कि नगर्ने ? संघीयताको अन्तिम ध्येय नै अधिकारको उपयोग, स्वशासन र उच्चत्तम उन्नति हो । 
यिनै तीन उद्देश्य हासिल गर्नका लागि संधीयताका पक्षधर कुनैपनि शक्ति वा समुदायले आफ्नो राष्ट्रिय स्वार्थको निर्धारण गरेको हुन्छ । मधेसले पनि गर्नै पर्दछ । आज भन्दा दशकौं अघि कंकाई बहुउद्देश्यीय परियोजना किन बन्न सकेन ? सुनकोशी कमला डाईभर्सन कस्को कारणले अगाडी बढन सकेन ? कर्णाली पारीका २२ बटा पुलहरू दशकौंसम्म किन बनेन वा के भएर पछि बन्यो ? पूर्व पश्चिम राजमार्गसंगै जडान हुने संचारको अप्टिक फाईबर नेटबर्क के कारणले बर्षौसम्म अवरूद्ध भयो र किन बन्न सक्यो ? 
नेपालको जलस्रोतको उपयोगमा तल्लो तटीय लाभको बिषयमा किन विवाद छ ? के यसको समुचित सुनिश्चितताबाट मधेस लाभान्वित हुदैन र ? आजसम्म हुलाकी सडक किन बनेन, यो के कारणले भारत मुखापेक्षी मात्र भएर थन्किएको छ ? मधेसका कयौं जिल्लाहरू बर्षेनी किन डुवान क्षेत्रमा रूपान्तरित हुदै गएको छ ? भौगर्भिक जोखिम र लाभको दृष्टिले के निर्विवाद रूपमा कोशी उच्चबांध मधेसको हीतमा छ ? नेपाल र भारतका बीच हुने र भैसकेका विविध परियोजनाहरूका वारेमा मधेसको कुनै दृष्टिकोण नै छैन त ? के यी सब बिषयमा मधेसको निरपेक्षता मधेसी राष्ट्रवादको अनुकूल छ त ?
म यदाकदा मधेसी नेताहरूसंग कुरा उठाउन् गरेको छु । उनिहरू भन्छन, अहिले यो कुरा उठाउनु हुदैन । ठिक बेला हैन् । मैले सोध्ने गर्छु; भारत र बांगलादेशका बीच दशकौं अगाडी भएको गंगानदीको जल संशाधनको बांडफांट सम्बन्धि सम्झौता अहिले ममता बनर्जी वा भर्खरै असम राज्यमा सरकार बनाएको बीजेपीले नै बदल्न सक्छ र ? यो आफैले आफुसंग सोध्नुपर्ने सवाल हो कि के हामी मधेसका सन्दर्भमा साच्चै नै मधेसी राष्ट्रवादका पक्षमा छौ त ? मेरो सोधाई महन्थ ठाकुरसंग छ ।
हठात् आन्दोलन रोकिएपछि बिश्लेषक तुला नारायण साहले “मधेस आन्दोलन तुहियो” भनि सामाजिक संजालमा प्रतिकृया लेख्नु भयो । उहांको टिप्पणी रूप र सारमा सत्य थियो । तर मोर्चा र यसका समर्थकहरूले तुला नारायणको मन नै हल्लाउने गरी आलोचना गरें । सामाजिक संजालहरूमा देखिईरहने मधेसका बिश्लेषकहरू, मानव अधिकारवादीहरू, लेखक-पत्रकारहरूलाई पनि आन्दोलन “तुहिएको” भनि लेख्नु पचेन । के थियो त यथार्थ ? कारक जेसुकै होऊन, तर आन्दोलन त तुहिएकै थियो । 
यिनीहरु पानी माथीको ओभानो हुन खोजे । यसको वास्तविक मूल्यांकन गरिएन । धेरै जसो बिश्लेषकहरू, मानव अधिकारवादीहरू र लेखक-पत्रकारहरू मधेसका अमूक-अमूक पार्टीका फगत अनुसायी हुन पुगेका छन् । अब बाटो कस्ले देखाउने ? मधेसमा अहिले सत्यलाई अग्राह्य बनाउने काम भैरहेको छ । मोर्चाले आलोचना तथा सुझावलाई मान्न छोडेको छ । मोर्चाका नेताहरूले आपसमै असहिष्णुतालाई बढाउदै लगेको छ । मोर्चाका ठूला नेताहरूले तालिवानी मधेस बनाउदै छन् । 
मोर्चाका मधेसको परिभाषा भित्र थारू, मुसलमान र मधेसी दलितको स्थान छैन । कांग्रेस, एमाले र माओवादीले नयां संविधानमा हाम्रो लागि अंश छुट्याए झै संघीय फोरम नेपाल, तमलोपा र सदभावनाहरूले थारू, मुसलमान र दलितका लागि अंश निर्धारणका दैवी शक्ति आफुहरूमा संचित रहेको ठानेका छन् । छ महिना लामो मधेस आन्दोलनका दौरान मोर्चाले मधेस भित्रका कुनै पनि सरोकारबालासंग छलफल गरेन । के यो उदाहरण पर्याप्त छैन ? देस्रो संविधान सभा मधेसका लागि प्रत्युत्पादक भैसकेपनि मोर्चाका सदस्यहरूले संविधान सभा त्यागेनन् । बहिष्कारको नाटक गरेर सत्तापक्षलाई “वाकओभर” को मौका दिए ।
सुशील कोईरालालाई भोट हालेर केपी ओलीको बिस्थापनलाई मधेस आन्दोलनको लक्ष्य बनाए । अब शेर बहादुरमा मधेसी अधिकारको भ्रुण देख्दैछन् । के यिनको अनीतिले संविघानको पुनर्लेखन संभव छ र ? मधेसको नाममा आन्दोलनपनि गरिरहने र संसदमा भावपूर्ण प्रतिपक्ष भैरहने- सत्ताको यस्ता “लोयल रेभुल्यूशनरी” को मायाजालमा मधेस परेको छ । 
यसबाट मुक्तिका लागि महन्थ ठाकुरले “कालो वादलमा चांदीको घेरा” बन्न सक्नु पर्दछ । महन्थ ठाकुर स्वंयले आफुलाई मधेसी जन अपेक्षाका वाहक प्रमाणित गर्न सक्नु पर्दछ । मलाई लाग्दछ, यौटा कम्प्रिहेन्सिभ मधेस एजेण्डाको रेखांकन र आन्दोलनबाट त्यसको प्राप्तिको लागि महन्थ ठाकुरले आफुलाई नव रूपमा प्रस्तुत गर्नु पर्दछ ।  जयप्रकाश गुप्ताको फेसबुक वालबाट 

प्रकाशित मिति: May 26, 2016

प्रतिक्रिया दिनुहोस्