Logo
१५ बैशाख २०८१, शनिबार
(May 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झालाई साधारण तारेखमा र इशानलाई ५ हजार धरौटीमा रिहा

काठमाडौं । फोटो खिचेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी समेत रहेका शेषनारायण झालाई केही जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारण तारेखमा रिहा गरेको छ । 
गत सोमबार राति आठ बजेर १५ मिनेट जाँदा उनलाई सिँहदरबारको पश्चिमी मुख्यद्वारबाट ट्राफिक प्रहरीले उनी सवार मोटरसाइकलसहित नियन्त्रणमा लिएर सिँहदरबार प्रहरी वृत्तलाई जिम्मा लगाएको थियो ।
अधिकारकर्मी इशान अधिकारीले सिँहदरबारको सो ढोकामा रातो रङ्ग पोतेको बेला तस्बीर खिँचिरहँदा प्रहरीले इशानको सहकर्मी भएको आशङ्कामा पक्राउ गरेको थियो । पक्राउ गरेको भोलिपल्ट नै अधिकारकर्मी इशान र सञ्चारकर्मी झामाथि केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरिएको थियो ।
नारायणहिट्टी दरबारको उत्तरी ढोका अगाडि रहेको आफ्नो स्वामित्वको नानोहाना रेष्टुरेन्टबाट शंखमूलस्थित निवास जाने क्रममा कुनै व्यक्तिले सिँहदरबारको ढोका अगाडि रातो रङ्ग पोतिरहेको दृश्य हेरेपछि उनले सडकपेटीमा मोटरसाइकल पार्किङ गरेर फोटो खिँचेर तत्काल सामाजिक सञ्जालमा अपडेट गर्न थालेको बेला ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
अधिकारकर्मी इशानले रातो रङ्ग पोत्नमा झाको संलग्नता नरहेको बयान प्रहरीलाई दिएका थिए । सञ्चारकर्मी झाको पुख्र्यौली घर रौतहट जिल्लाको बसतपुर गाविस–५ र हाल सोही जिल्लाको सदरमुकाम गौर नगरपालिका–८ मा छ । उनी समयबोध मासिकका प्रबन्धनिर्देशक र नेपाल दुबई डटकम तथा हाम्रो सहयात्रा डटकमसँग आबद्ध छन् । 
उनी सन् २००७ मा २०१३ सम्म दुबईस्थित नेपाल पत्रकार महासङ्घका सदस्य हुँदै उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए । दुबईको दशवर्षे बसाइँमा उनी नेपालको सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समितिका दुबई प्रतिनिधिका रुपमा समेत काम गरेका थिए । उनको रिहाइका लागि मधेशी पत्रकार समाज, मधेशी पत्रकार सङघ, क्रान्तिकारी पत्रकार संघ, नेपाल पत्रकार महासङ्घलगायतका सञ्चारसम्बद्ध संस्था र सञ्चारकर्मीहरुले चर्को आवाज उठाएका थिए । सामाजिक सञ्जालमा उनको रिहाइको विषयले अत्यन्त महत्व पाएको थियो ।

प्रकाशित मिति: May 26, 2016

प्रतिक्रिया दिनुहोस्